जादुयी जेसिका

जादुयी जेसिका

पेरिस : कुनै समय जेसिका फक्सलाई लागेको थियो, ‘ओलम्पिकमा कहिले पनि स्वर्ण जित्न सक्तिनँ।’ तर, अस्ट्रेलियाकी क्यानोइङ खेलाडी जेसिकाले कहिले पनि हिम्मत हारिनन्। हरेक पटक ओलम्पिकमा सहभागी हुँदा नयाँ उत्साह र जोस बोकेर सहभागी भइन्। हरेक पटक स्वर्णको नजिक पुगेर चुक्दा निरास हुन्थिन्। तर, हिम्मत भने हार्दिनथिन्। उनी हरेक पटक विगतको निरासा र हारबाट पाठ सिकेर भिन्न रुपमा प्रस्तुत हुन्थिन्। जेसिका अहिले अस्ट्रेलियाली टोलीकी सदस्य हुन्। तर, उनको जन्मभूमि भने फ्रान्स हो। उनी आफ्नो कर्मभूमिका लागि स्वर्ण पदक जित्ने उत्कट अभिलाशा बोकेर जन्मभूमि आएकी मात्रै होइन, त्यसलाई साकार पार्न पनि सफल भइन्। उनले बुधबार भएको महिला स्लालमको सी–वान र के–वान दुवै विधामा स्वर्ण पदक जित्न सफल भइन्।

 जेसिकाले पहिलो पटक सन् २०१२ को लन्डन ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन्। १८ वर्षीया जेसियालाई स्वर्ण पदकको दावेदार मानिएको थियो। तर, पहिलो सहभागितामा उनले रजत पदकमा मात्रै चित्त बुझाउनु पर्‍यो। महिला स्लालमको के–वान विधामा उनी दोस्रो स्थानमा समेटिइन्। पहिलो सहभागितामै रजत पदक जित्न पाएकोमा जेसिका खुसी थिइन्। तर, स्वर्ण पदकबाट चुक्दा भने उनी केही निरास पनि थिइन्। उनले चार वर्षपछि हुने ओलम्पिकमा थप मेहनत गरिन्। लामो तयाी गरेर उनी सन् २०१६ को रियो द जेनेरिया ओलम्पिकमा सहभागी भइन्। यस पटक पनि नतिजा उनले सोचजस्तो भएन। उनी के–वान विधामा यस पटक भने कांस्य पदकमा समेटिइन्। 

उनले अघिल्लो ओलम्पिकमा भन्दा पनि कमजोर प्रदर्शन गरिन्। यसले उनलाई खिन्नता त बनायो। तर, हिम्मत भने हारिनन्। उनी अर्को ओलम्पिकको तयारीमा जुटिन। यस पटक जसरी पनि स्वर्ण पदक जित्छु भन्ने संकल्प बोकेर उनी सन् २०२० को ओलम्पिक खेल्न जापानको राजधानी टोकियो पुगेकी थिइन्। यस पटक उनले उत्कृष्ट प्रदर्शन गर्दै के–वानमा स्वर्ण पदक जित्न सफल भइन्। तर, यसमा उनी त्यति खुसी भने थिइनन्। उनको मुख्य लक्ष्य सी–वानमा स्वर्ण जित्नु थियो। यस विधामा भने यस पटक पनि स्वर्णबाट विमुख हुनुपरेको थियो। त्यसैले उनी जसरी पनि सी–वानमा स्वर्ण जित्ने अभियानमा लागिन्। चार वर्षपछि आफ्नो जन्मभूमिमा स्वर्ण जित्ने अर्जुनदृष्टि राखेर तयारी थालिन्। 

यसका लागि उनले धेरै पसिना बगाइन्। चार वर्षसम्म एकोहोरो रुपमा त्यही अभियानमा लागिन्। नभन्दै उनको एकलब्य अभियानले बुधबार पूर्णता पायो। उनले पेरिस ओलम्पिकमा सी–वान र के–वानमा गरी दोहोरो स्वर्ण पदक जित्न सफल भइन् र आफ्नो अभूतपूर्व क्षमता र जादुयी प्रदर्शनको परिचय दिन सफल भइन्। के–वानमा स्वर्ण पदक जितेपछि उनी निकै भावुक भइन्। वषौंदेखिको सपना पूरा भएकोमा खुसीको आँसु उनको आँखाबाट निरन्तर बर्सिरहेका थिए।

सी–वानको फाइनलमा जेसिकाले जर्मनीकी ऐलेना लिलिकलाई पछि पारिन्। के–वानमा भने पोल्यान्डकी क्लाउडिया जोलिन्स्कालाई पराजित गर्न सफल भइन्। जेसिका ओलम्पिको क्यानोइङ विधामा दुई वटा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन्। त्यसैले उनले आफ्नो नाम इतिहासमा सुनौलो अक्षरले लेखेकी छन्। 

‘यो एउटा स्वप्निल पल हो। यो पलको बयान गर्नसक्ने शब्द मसँग छैन’, उनले भनिन्, ‘लगातारको असफलताले ओलम्पिकमा स्वर्ण जित्ने पूरा कहिल्यै पूरा हुँदैन कि भन्ने लाग्थ्यो। तर, भित्रि मनले तैंले हिम्मत हार्नु हुँदैन, निरन्तर प्रयास गरिरहनु पर्छ भन्थ्यो। मैले त्यही मनको आवाज सुनेर एकलब्य भावमा लागिरहें र, निरन्तरको प्रयासपछि स्वर्ण पदक जित्न सफल भएँ।’

चार पटकको ओलम्पिक सहभागितामा उनले अहिलेसम्म ६ वटा पदक जितिसकेकी छन्। जसमा तीन स्वर्ण, एक रजत र दुई कांस्य छन्। यो उपलब्धिसँगै उनी अस्ट्रेलियाको ओलम्पिक इतिहासमा सबैभन्दा धेरै पदक जित्ने खेलाडी बनिसकेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.