कैदी फरार घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति

कैदी फरार घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति

विराटनगर : मोरङ कारागारका कैदी फरार भएको घटनाको छानबिन गर्न मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर रामप्रसाद खनाल र वरिष्ठ सइ देवेन्द्र सुवेदी छानबिन समितिको सदस्य छन्। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेका हुन्। कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले समिति गठन गरेर घटनाको छानबिन अघि बढाउन निर्देशन दिएका थिए। 

समितिले आफ्नो काम सुरु गरिसकेको एसपी कार्कीले बताए। समितिले दिएको प्रतिवेदनका आधारमा थप कारबाही अघि बढ्ने उनको भनाइ छ। कैदी कसरी भागे भनेर यकिन गर्न घटनाको अनुसन्धान सुरु गरिएको बताउँदै कार्कीले प्रहरीको लापरबाही छ कि छैन भनेर छानबिन हुने जानकारी दिए। प्रहरीको गल्तीले कैदी भागेको पाइएमा कारबाही गरिने उनको भनाइ छ। 

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद बिहीबार बिहान ५:१५ बजेतिर फरार भएका थिए। उपचारका लागि मंगलबार कोशी अस्पतालमा भर्ना गरिएका उनी निगरानीमा खटिएका प्रहरीलाई धकेलेर फरार भएको कारागारका निमित्त जेलर तुलसी पौडेलले बताए। 

उपचाररत कैदी शौचालय जाने क्रममा धकेलेर प्रहरीलाई लडाउँदै फरार भएको जानकारी उनले दिए। कैदीको निगरानीका लागि कारागारले प्रहरी सहायक हवल्दार राजीव राजभण्डारी र जवान ज्ञानेन्द्रबहादुर कटवाललाई खटाएको थियो। 

प्रहरीले फरार रहेका कैदीको खोजी तीव्र पारेको छ। भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ। शंकास्पद स्थानसहितका विभिन्न ठाउँमा प्रहरीले खोजतलास गरिरहे पनि फरार भएका अहमद फेला परेका छैनन्। 

अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन्। उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो। त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतबाट भएको थियो। 

अदालतको फैसला अनुसार अहमदले २०९१ साल फागुन ३ गतेसम्म कारागारमा बसेर कैद सजाय भुक्तान गर्नुपर्ने हुन्थ्यो। कोशी अस्पतालमा मोरङ कारागारका ५ महिलासहित ८ जना कैदीबन्दीको उपचार भइरहेको निमित्त जेलर पौडेलले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.