कसैको चाहना र रहरले नभइ कानुन र प्रमाणका आधारमा फाइल खोल्छौं : गृहमन्त्री लेखक
काठमाडौं : गृहमन्त्री रमेश लेखकले सरकार सदनमार्फत् जनताप्रति उत्तरदायी हुने व्यवस्थालाई कमजोर हुन नदिने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले जनताले गरेका प्रश्नहरूको विभिन्न माध्यमद्वारा जवाफ दिने र जनताप्रति सरकार उत्तरदायी हुने व्यवस्थालाई कमजोर हुन नदिने बताएका हुन्।
उनले राष्ट्रिय सदाचार नीति अघि बढाउन ढिलाइ भएको भन्दै यसलाई पारित गर्दै लागू गर्न सरकार प्रतिवद्ध बताए । गृहमन्त्री लेखकले विधिको शासन लोकतन्त्रको स्तम्भ रहेकाले आवश्यक कानुन बनाएर विधिको शासन कायम गरिने धारणा राखे ।
उनले कसैको चाहना र रहरले फाइल नखुल्ने भन्दै कानुन र प्रमाणका आधारमा फाइल खोलिने स्पष्ट पारे । प्रहरी अधिकारीको सरुवा र बढुवा सामान्य प्रक्रिया रहेको भन्दै यसलाई अन्यथा सोच्न नहुने उनको भनाइ छ ।
बैठकमा समिति सदस्यहरूले सुशासन प्रवद्र्धनका लागि सदाचार नीति महत्वपूर्ण हुने भएकाले यसलाई छिटै अघि बढाउन सुझाव दिएका थिए ।