सलामीसहित पूर्वराज्यमन्त्री रायको अन्तिम संस्कार
मलंगवा : पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको मंगलबार साँझ अन्तिम दाहसंस्कार गरिएको छ। मलंगवा नगरपालिका-४ स्थित निवासबाट निकालिएको स्व. रायको शव स्थानीय साकेत बिहार राम मन्दिर परिसरमा लगेर दाहसंस्कार गरिएको हो।
पूर्व राज्यमन्त्री रायको सम्मानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीको एक टुकडीले शोक सलामी अर्पणसमेत गरेको छ। दाहसंस्कारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, मधे; प्रदेशका पूर्व अर्थमन्त्री संजय कुमार यादव, राप्रपाका मधेश प्रदेश अध्यक्ष भरत गिरी, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय, पूर्व उपसभापति विनोद खनाल सहित कांग्रेसका नेता कार्यकर्ता, नेपाल समाजवादी पार्टीका नेता एवं पूर्व मन्त्री महिन्द्र राय, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, नेपाल प्रहरीका उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल सहित सुरक्षा अधिकारीहरुको उपस्थितिमा दाहसंस्कार गरिएको हो।
रायका जेठा छोरा शैलेन्द्र यादवले दागबत्ती दिएका छन्। रायका एक श्रीमती, २ छोरा र ५ छोरी छन्।
आइतबारराती सर्लाहीकै चन्द्रनगर गाउँपालिका-१ रतनपुर स्थित घरमा रायको धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो।
रायको निधनप्रति शोक व्यक्ति गर्दै मलंगवा नगरपालिकाले मगंलवार शोक विदासमेत दिएको छ। मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव पूर्वराज्यमन्त्री रायको कान्छो भाइ हुन्। घटनाको विषयमा छानबिन गर्नका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।