वीरगन्ज नाकामा घट्यो लागूऔषध ओसारपसारको अवैध कारोबार
वीरगन्ज : पछिल्लो केही वर्षयता लागूऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट नै बन्दै गएको वीरगन्ज नाकामा गत वर्ष भने लागूऔषधको ओसारपसारको अवैध कारोबारमा कमी आएको प्रहरीको तथ्यांकले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको लागूऔषधको वार्षिक प्रगति विवरणसम्बन्धी तथ्यांकमा गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा लागूऔषधको ओसारपसार र त्यसमा संलग्न रही पक्राउ परेकाहरूको संख्या घटेको उल्लेख छ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वीरगन्ज नाकाबाट प्रहरीले लागूऔषध गाँजा १ हजार १६५ केजी, चरेस १ सय १४ केजी , खैरो हेरोइन (ब्राउन सुगर) ५५ सय ८१ ग्राम बरामद गरेको थियो। यस्तै फेनरागन ७ हजार ४८९ पिस, डाइजेल्याब १० हजार ४८१ पिस, नुर्फिन ८ हजार ८४० पिस र नाइट्रोभेट २७ हजार ७४३ पिस र कोरेक्स ४ हजार ५६८ बोत्तल प्रहरीले बरामद गरेको थियो।
तर गत आर्थिक वर्ष २०८०/८१ मा प्रहरीले वीरगन्ज नाकाबाट लागूऔषध गाँजा ४ सय १० केजी, चरेस ९१ केजी , खैरो हेरोइन (ब्राउन सुगर) ७ सय ५७ ग्राम बरामद गरेको छ। यस्तै लागूऔषध फेनरागन ६ हजार ३१६ पिस, डाइजेल्याब ६ हजार ३३० पिस, नुर्फिन ६ हजार ३१६ पिस, नाइट्रोभेट ११ हजार ५६३ पिस र कोरेक्स १ हजार ३७० बोतल प्रहरीले बरामद गरेको पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागूऔषधको ओसारपसार र कारोबारमा संलग्न ४ सय ३७ जना पक्राउ परेका थिए। यस्तै उक्त आर्थिक वर्षमा कार्यालयमा लागूऔषध सम्बन्धी ३ सय २ वटा मुद्दा दर्ता भएको थियो। तर गत आर्थिक वर्ष २०८०/८१ मा लागूऔषधको ओसारपसार र कारोबारमा संलग्न २ सय ८० जनामात्र पक्राउ परेका छन् । यस्तै प्रहरी कार्यालयमा लागूऔषध सम्बन्धी २ सय ४ वटामात्र मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी गराए।
प्रहरी उपरीक्षक ढुंगेलले वीरगन्ज नाकामा प्रहरीले लागूऔषध ओसार गर्ने विरुद्ध सक्रियता र निगरानी बढाएका कारण लागूऔषधको ओसारपसारको गैरकानुनी कारोबारमा कमी आएको हुनसक्ने बताए। यसका साथै वीरगन्जसँगै जिल्लाका अन्य ससाना नाकामा पनि प्रहरीको सकृयता र निगरानी बढेपछि लागूऔषध कारोबारीहरूले वीरगन्ज नाका छाडेर अन्य जिल्लाका नाका प्रयोग गरेको हुनसक्ने उनको आशंका छ।