डुबेर तीनजनाको मृत्यु
कास्की : पोखरामा आज भएका दुई छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर तीन जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
मृत्यु हुनेमा पोखरा–१ मोहरियाटोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङ बसपार्कका १८ वर्षीय स्वयम ताम्राकार रहेका छन्। उनीहरू साथीहरूका साथ पौडी खेल्न गएका थिए।
यसैगरी पोखरा महानगरपालिका–२६ गुदेतालमा आज डुबेर ६ वर्षीय सचिन परियारको मृत्यु भएको छ। बुबा विकास परियारसँग गएका उनी अचानक तालमा डुबेका थिए।