त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि प्रविधि ल्याउन पहल हुँदै छ : गृहसचिव
काठमाडौं : गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन्।
चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे स्थलगत जानकारी लिँदै गृहसचिव अर्यालले बस र यात्रुको खोजीका लागि छिमेकी मुलुकबाट आवश्यक प्रविधि ल्याउने प्रयास भइरहेको बताएका हुन्।
यसका लागि सम्बन्धित देशका राजदूतसँग कुराकानी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिबद्धता आएको उनले बताए। उनले मृतकहरूको पहिचानका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतका विषयमा पनि गृहले आवश्यक पहल गर्ने जिकिर गरे। सचिव अर्यालसहित प्रहरी महानिरीक्षक वसन्त कुँवर लगायतको सुरक्षा टोलीले दुर्घटनास्थलको स्थलगत निरीक्षण गरेका हुन्।
असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए। नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म केही यात्रुको मात्रै शव फेला परेको छ।