पवित्र उद्देश्य, अपवित्र कर्म

पवित्र उद्देश्य, अपवित्र कर्म
सुन्नुहोस्

युद्धमा कोही शत्रु हुन्छ र कोही मित्र। तर युद्धमा पनि सबै मित्र हुन्छन् र कोही पनि शत्रु हुँदैन भन्ने चाहिँ मानवीय विचार हो। युद्धको विभीषिकामा परेको घाइते जो कोही चाहे शत्रु पक्षको होस् चाहे मित्रपक्षको उपचार गर्नुपर्छ हेरचाह गर्नुपर्छ भन्ने भावनाबाट रेडक्रस संस्थाको जन्म भएको हो। जुनसुकै घटनाक्रममा पनि तटस्थ भएर मानवीय सहायता गर्ने पवित्र संस्था संसारभर फैलिँदै नेपालसम्म पनि छ। तर नेपाल रेडक्रस सोसाइटी भने परोपकारको पवित्र उद्देश्यको ठीकविपरीत निश्चित व्यक्तिहरूको सिन्डिकेटमा परेको छ अर्थात् संस्था नै कब्जाको अवस्था छ। समाज कल्याण परिषद्ले गरेको छानबिनका अनुसार रेडक्रसको केन्द्र, प्रदेश र जिल्लास्तरीय सबै निर्वाचन नै विधानविपरीत भएका छन्। 

रेडक्रस विपद्का राहत सामग्री उपलब्ध गराउँछ। त्योभन्दा महत्वपूर्ण यसको कर्म भनेको अस्पतालहरूमा ब्लड बैंक चलाउनु हो। देशभरि नै यही संस्थाले रगत संकलन र बिरामीलाई उपलब्ध गराउने काम गर्छ। तर छानबिनका अनुसार भने रेडक्रसको ब्लड बैंकको रगतको गुणस्तरमै कैफियत छ। यो मानव स्वास्थ्यमाथिको ठूलो आघात हो। ब्लड ब्याग खरिदमा घोटालादेखि जग्गा खरिद, भवन भाडामा समेत यो संस्थामा ठूलो भ्रष्टाचार देखिएको छ। कर्मचारी र पदाधिकारीले संस्थालाई मुठीमा लिएर मनलाग्दी गरेका छन्। आर्थिक अपचलन र भ्रष्टाचारका अनेक केसहरू पनि छानबिनबाट सतहमा आएका छन्। 

परोपकारको विपरीत भ्रष्टाचार तल्लीनहरूलाई पदच्युत र कारबाही गर्ने जाँगर सरकारले देखाएको छैन। बरु सरकारअनुसार आआफ्ना मानिसहरूको ढाकछोप पनि हुँदै आएको छ। सरकारको अकर्मण्यतामात्रै होइन पूरापूर अराजकता यहीं देखिन्छ। सरकार रेडक्रसको भावनाजस्तै तटस्थ हुन जरुरी छ। छानबिनबाट देखिएका कैफियतअनुसारका दोषीलाई कानुनको कठघरामा उभ्याएर संस्था जोगाउनु सरकारको कर्तव्य हो। अन्तर्राष्ट्रिय संस्था देशभित्र भ्रष्टाचारको दलदलमा फस्नु भनेको राष्ट्रको अन्तर्राष्ट्रिय छविसमेत धुमिल हुनु हो। एउटा गैरसकारी संस्थाको हैसियतमा पनि सरकारले यसलाई छानबिन र दोषीलाई कारबाहीको दायरामा ल्याएर विधिसम्मत रूपमा संस्था अगाडि बढाउनुपर्छ। समाज सेवामा प्रतिष्ठित संस्थाको बदनामीले अरू परोपकारीहरूमाथि पनि विश्वास र साखको सन्दर्भमा संशय पैदा हुन्छ। 

‘परोपकार’कै कर्ममाथि अविश्वास पैदा हुने वातावरण स्थापित हुन दिनु हुँदैन। रेडक्रस सोसाइटीलाई भ्रष्टाचार र कुशासनको चंगुलबाट बाहिर निकाल्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.