गुल्मीमा पहिरोले घर पुरियो, एक जना घाइते
गुल्मी : अविरल बर्षाका कारण गुल्मीमा शनिबार एक घर पुरिएको छ । रुरुक्षेत्र गाउँपालिका –३ ठाँटीमा अवस्थित रुपा टमाटाको घर पुरिएको हो । घरमा उजेली भनेर चिनिने रुपा टमाटा र उनकी छोरी बस्दै आएका थिए । शनिबार बिहानै माथिबाट खसेको पहिरोले घर पुरिएको थियो । पहिरोका कारण घरभित्र बसेकी टमाटा पनि पुरिएकी थिइन् ।
पहिरोले घर पुरेपछि रुपालाई स्थानीय,प्रहरी र जनप्रतिनिधिले उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिका- १ का वडासदस्य घनश्याम ज्ञवालीले जानकारी दिए । पहिरोमा पुरिएकी टमाटा घाइते भएकी छन् । हातको संकेतका आधारमा उनको उद्धार गरिएको र उपचारको लागि उनलाई रिडी स्वास्थ्य चौकीमा लगिएको वडा सदस्य ज्ञवालीले बताए । छोरी घाँस काट्न गएकाले उनी पहिरोबाट बचेको स्थानीयको भनाई छ ।
बस्ती जोखिममा
बर्षाका कारण मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी तम्घास सडकका विभिन्न ठाउँमा माथिबाट पहिरो खसेको छ । बिहानैदेखि पहिरो खसेका स्थानमा जेसिबी मेसिनको प्रयोग गरेर सडक सुचारुको काम भइरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा रहेका स्थानीय खहरे खोलामा पानीको बहाव र सडकमा पहिरोले कतिपय सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।