गुल्मीमा पहिरोले घर पुर्दा चारजना बेपत्ता, एकको शव भेटियो
गुल्मी : गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता भएका पाँच जनामध्ये एक जनाको शव फेला परेको छ । मालिका गाउँपालिका -६ कँडेलपाटाका भेषबहादुर बिकको घर गएराती पहिरोले पुर्दा एकै परिवारका पाँच जना बेपत्ता भएको वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए।
गएराती परेको पानीका कारण गएको पहिले माथिबाट खसेर घर पुरेको हो । पहिरोमा परेर भेषबहादुर विक, श्रीमती सुन्तली विक, बुहारी सीता विक,नातिनी रचना विक र बिपना विक बेपत्ता भएको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।
बेपत्तामध्ये भेषबहादुरको शव बाहिर निकालिएको वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । पहिरोमा पुरिएका अन्यको स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको वडाध्यक्ष भण्डारीले बताए ।
शुक्रबारदेखि गुल्मीलगायत आसपासका क्षेत्रमा लगातार पानी परिरहेको छ । प्रहरी निरीक्षक रामकुमार केसिको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा तर्फ लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
उद्वारको लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटना स्थलतर्फ लागेको छ । जनप्रतिनिधि, स्थानीय र प्रहरीको सहयोगमा उद्वार कार्यलाई तीब्र पारिएको छ । मालिका रिङरोड अन्तर्गत जमलपोखरामा मेसिनरी वाल निर्माण नगर्दा सिंगो बस्ती र विद्यालय जोखिममा रहेको स्थानीयले बताएका छन् ।