विश्वकप क्रिकेटमा आगामी रणनीति

विश्वकप क्रिकेटमा आगामी रणनीति
फाइल तस्बिर।

बंगलादेशसँग २१ रनको हार व्यहोर्दै नेपालको जारी पुरुष टी– २० विश्वकप क्रिकेट यात्रा टुंगिएको छ। समूह चरणबाटै बाहिरिएको नेपालले आफ्नो समूह ‘डी’ भित्रका अन्य राष्ट्रहरू क्रमशः नेदरल्यान्डसँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ रन र बंगलादेशसँग २१ रनअन्तरको पराजय भोग्यो। नेपाल र श्रीलंकाबीचको खेल भने वर्षाको कारणले अवरुद्ध बन्न पुग्यो। प्रतियोगितामा नेपालले कुल एक अंक जोड्न समर्थ बन्यो। जेहोस्, प्रतियोगितामा नेपाल नतिजाविहीन रहे पनि आफ्नो प्रभावशाली प्रदर्शनले विश्व क्रिकेट मञ्चमा ठूलै तारिफ बटुल्यो। नेपालले चर्चित टेस्ट राष्ट्रहरू दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध गरेको विश्वस्तरीय बलिङ प्रदर्शनले पक्कै पनि नेपाली क्रिकेटको सुनौलो भविष्यतर्फ इशारा गर्छ। नेपाली स्पिनरहरूले वेस्टइन्डिजको आर्नोस भाले क्रिकेट मैदानमा भएको खेलमा विश्वका कयौं चर्चित ब्याट्सम्यानहरूलाई सस्तैमा व्याभिलियन फर्काउन सके। ती प्रदर्शनीलाई नियाल्दा के भान हुन्छ भने नेपाली खेलाडीले ठूला प्रतियोगितामा यसै गरी मौका पाइरहने हो भने टोलीका अझ ठूला नसोचिएका कथाहरू लेखिनेछन्। नेपाली क्रिकेटको भविष्य सुनौलो देखिनुमा अब दुईमत छैन। तर पनि इतिहास बनाउने संघारमा रहेको टोली विफल बनी घर फर्कन लाग्दा वर्तमानमा सारा नेपाली दुःखी छन्।

त्यति राम्रो प्रदर्शनका वाबजुद आखिर कहाँ चुक्यो त नेपाल ? विरोधी टोलीलाई सस्तो योगफलमा समेटे पनि नेपालले खराव ब्याटिङ गर्दा मुखैमा आएका ऐतिहासिक जितहरूलाई आत्मसात् गर्न सकेन। खेलका मुख्य ब्याट्सम्यानहरूले दिएको जिम्मेवारीअनुसारको ब्याटिङ गर्न सकेनन्। गलत सट सेलेक्सन र रन बनाउने  ‘ट्याटिकल’ ज्ञानको अभावले गर्दा टोलीले हातमा आएको जित फुुत्काउन पुगे।  ठूला खेलमा खेल्ने अनुभवको कमी र तनाव व्यवस्थापन ज्ञान आदिको कमीले गर्दा पनि टोली बारम्बार विफल बन्न पुग्यो। विश्वकपमा नेपाली टोलीमा देखिएको मुख्य कमजोरी यस प्रकार छन् :

कमजोर ब्याटिङ पक्ष

टी–२० क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले मान्यता दिएको सबैभन्दा छोटो प्रारूपको खेल हो। तैपनि नेपाली ब्याट्सम्यानहरू पूरै ओभर  टिकेर ब्याटिङ गर्न असमर्थ बने। उदाहरण नै दिनु पर्दा नेपालले दक्षिण अफ्रिका बाहेक नेदरल्यान्ड र बंगलादेशसँग पूरै ओभर खेल खेल्न सकेन। कमजोर ब्याटिङ नेपाली टोलीको विगतदेखिकै रोग हो। अझ भन्नुपर्दा घरेलु मैदानबाहेकका अन्य स्थानमा हुने गरेका प्रतियोगिताहरूमा नेपालको ब्याटिङ प्रदर्शन प्रायः फितलो हुने गरेको छ। नेपाली ब्याट्सम्यानहरूले यस विश्वकपमा सोही प्रदर्शनलाई दोहोर्‍याएका छन्। अर्कोतर्फ, यस विश्वकपमा नेपाली ब्याट्सम्यानहरूले तीव्र गतिका अन्तर्राष्ट्रिय बलरविरुद्ध रन बनाउनका निम्ति गरेको संघर्ष देख्दा तीव्र गतिको बलिङसँग खेलाडी घुलमिल हुन नसकेको प्रस्ट देखिन्थ्यो। द. अफ्रिकासँग एक रनको झिनो हार व्यहोरेको सो खेलमा नेपाली ब्याट्सम्यानहरूले कुल ६८ वटा डट बल खेलेका थिए। यसैगरी बंगलादेशसँगको हारमा नेपालले ८० बल डट खेलेका थिए। यदि ब्याट्सम्यानहरूले ती डट बललाई एक–एक रनमा मात्र बदल्न सकेका भए पनि प्रतियोगिताको सुपर–८ चरणमा जाने नेपालको सम्भावना प्रबल हुने थियो। यसैगरी, प्रतियोगितामा टोलीमा परिस्थितिसँग जुध्न सक्ने ओपनिङ ब्याट्सम्यान जोडीको अभाव खड्किरह्यो। ओपनिङ ब्याट्सम्यानहरू ती खेलाडी हुन् जसको प्रदर्शनीले टोलीको जित हारमा ठूलो असर गर्छ। पावर प्ले अवधिभर सम्हालिएर केही लामा सटहरूका साथै बेलाबेला छोटा रनका लागि मेहनत गर्ने हो भने खेलमा पकड जमाउन सहज हुन्थ्यो। तर, प्रतियोगिताभर ओपनिङ ब्याट्सम्यानहरूको  साना रन लिन प्रयास नगर्नु, बरु त्यसको सट्टा ठूला सट हान्न मात्र खोज्नु अनि गैरजिम्मेवारपूर्ण सट सेलेक्सन गर्नु जस्ता कारणले नेपालका सुरुवाती ब्याट्सम्यानहरू सस्तैमा प्याभिलियन फर्किन्थे।

दबाबमा खेल्ने अनुभव नहुनु

नेपालले अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगितामा खेल्ने सौभाग्य विरलै पाएको छ। सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपपछि नेपालले यसै प्रतियोगितामा मौका पाएको थियो। साना एसोसिएट्स राष्ट्रहरूसँग औसत राम्रो प्रदर्शन गर्दै आए पनि नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रहरूसँग बिरलै खेल्न पाउने गरेको छ। नतिजा वर्षौंदेखि अनुभव बटुलेका, विश्व क्रिकेटमा उचाइ प्राप्त गरेर उच्च मनोबलका साथ खेल्ने गरेका राष्ट्रहरूसँग खेल्दा आइपर्ने दबाबलाई झेल्न नसकी हारलाई सहनु टोलीका लागि दुर्भाग्य बनेको छ। 

खेल रणनीतिको अभाव

टोलीका प्रशिक्षक तथा कप्तानहरूले ब्याटिङसम्बन्धी प्रभावकारी रणनीति बनाउन नसकेकाले पनि ब्याट्सम्यानहरू बारम्बार विफल बनेको झल्को दिन्थ्यो। नभए द.अफ्रिकालाई हराउन नेपाललाई १ सय २० बलमा १ सय १६ रनको खाँचो थियो। त्यसैगरी, बंगलादेशविरुद्ध जित निकाल्न टोलीलाई १ सय २० बलमा १०७ ल्याउनुपर्ने थियो। तर, मैदानमा ओर्लिएका नेपाली ब्याट्सम्यानहरू हतारमा देखिन्थे। सम्हालिएर खेल्नुका साटो धैर्य गुमाएर खेल्थे। प्रत्येकजसो बलहरूमा सानोसानो रन बटुल्दा पनि जित हुने अवस्थामा सबै खेलमा चौका÷छक्का हान्न मात्र तल्लिन देखिन्थे। सायद, उचित रणनीति बनाइएको थियो भने नतिजा नेपालको पक्षमा हुन सक्थ्यो।

तीव्र गतिको बलरको अभाव

यस विश्वकपमा बलिङतर्फ नेपालले विश्वस्तरीय प्रदर्शन गर्यो। नेपालका मध्यम तीव्र गतिका बलरभन्दा स्पिनरहरूले उच्च प्रदर्शन गरे। तर, महŒवपूर्ण कुरा के हो भने कुनै पनि टोलीको कसिलो बलिङ आक्रमणका लागि तीव्र गतिका बलरको आवश्यकता अपरिहार्य हुन्छ। सोमपाल कामीबाहेक अन्य भरपर्दो ओपनिङ बलर छैनन् भन्दा पनि हुन्छ नेपाली टोलीमा। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने सोमपाल कामीले नेपालका लागि राम्रो प्रदर्शन गर्दै आए पनि उनी पूर्ण तीव्र गतिका बलर नभै एक औसत मध्यम गतिका बलर मात्र हुन्। विश्वकपजस्तो हस्ती खेलाडीहरूले भरिएका प्रतियोगितामा यस्ता तीव्र गतिका बलरको आवश्यकता  हुनु टोलीका लागि अबको बाध्यता हो। यदि टोलीमा यस किसिमका बलर भएका थिए भने ब्याट्सम्यानहरूले तीव्र गतिको बलिङमा पर्याप्त ब्याटिङ अभ्यास गर्न सक्ने थिए। प्रतियोगिता भर नेपाली ब्याट्सम्यानहरूले तीव्र गतिका विपक्षी बलरहरूको सामना गर्न संघर्ष गरिरहे। 

सुझाव

राष्ट्रिय क्रिकेट टोलीको पछिल्लो प्रदर्शनीलाई नियाल्दा नेपालको विशेषगरी छोटो प्रारूपको क्रिकेट सम्भावनाले भरिएको छ। अझ सबल पक्ष के छ भने नेपाली टोली युवा खेलाडीहरूले भरिएको छ। धेरै खेलाडी २५ वर्षको उमेरसमूह तल छन्। यो उमेरमा यस्ता प्रतियोगिताहरूको अनुभव बटुल्ने मौका पाउँदा ती खेलाडीले आफ्नो व्यक्तिगत खेल कौशललाई तिखार्न पाउँछन्। जसले भविष्यमा हुने ठूला प्रतियोगितामा सुखद नतिजा प्राप्त गर्न मद्दत मिल्न सक्छ। तथापि, आगामी दिनमा विश्व क्रिकेटमा आफूलाई  कडा प्रतिद्वन्द्वीका रूपमा स्थापित गर्न नेपाली टोलीले आफ्ना यावत् कमी, कमजोरीहरूलाई सुधार गर्दै लैजानु पर्छ। जसका लागि सबैभन्दा पहिला टोलीले ब्याटिङमा व्यापक सुधार गर्न जरुरी देखिन्छ। टोलीले ओपनिङ ब्याटिङका लागि आवश्यक क्षमतावान्, धैर्यवान् र परिस्थिति बुझेर खेल्न सक्ने ब्याट्सम्यानको खोजी पक्कै गर्नुपर्ने हुन्छ। जसका लागि देशभित्रको घरेलु क्रिकेटको क्रियाकलापलाई व्यापक बनाई सम्भावनाले भरिएका खेलाडीहरूको खोजीमा ढिलाइ गर्नु हुँदैन। टोलीमा नभै नहुने र हालसम्म नभएका सम्भावनाले व्याप्त तीव्र गतिका बलरहरूको खोजीमा नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले विशेष रणनीति बनाउनै पर्ने हुन्छ। खेललाई शारीरिक रूपमा मात्र नखेली मनोवैज्ञानिक रूपबाट पनि खेलिने हुँदा खेलाडीहरूको मनोबल बढाउने, मानसिक अवस्थालाई स्थिर गराउनेतर्फ विशेष पहल गर्नुपर्ने हुन्छ। जसका लागि खेलाडीहरूलाई नियमित रूपमा ‘स्ट्रेस म्यानेजम्यान्ट’ जस्ता कोर्सहरूको प्रशिक्षण दिइरहनु जरुरी छ। खेलका क्रममा अचानक आइपर्ने गम्भीर परिस्थितिलाई सहज ढंगले पार लगाउनका लागि यो सम्बन्धी अभ्यासको जरुरी अपरिहार्य हुन्छ। जसका लागि क्यानले टेस्ट राष्ट्रहरूसँगको अभ्यास खेलहरूका लागि पहल गर्नैपर्ने हुन्छ। क्यानले घरेलु लिग म्याचहरूलाई पनि पूर्ण प्राथमिकतामा राख्नुपर्ने हुन्छ। मानसिक रूपमा मजबुत गराउन खेलाडीको व्यक्तिगत आर्थिक पाटोलाई पनि ध्यान दिनुपर्ने हुन्छ। एउटा खेलाडीको जसरी राष्ट्रप्रति दायित्व हुन्छ, त्यसैगरी परिवारप्रति पनि उसको उत्तिकै दायित्व हुन्छ। उसको परिवारप्रतिको दायित्वलाई राज्यले सहजीकरण गर्ने अवस्था बन्दा खेलाडीको मनोबल उच्च हुन्छ र उसले खेलका क्रममा अझ मुक्त भावमा आफूलाई प्रस्तुत गर्न सक्छ। खेलाडीको सशक्तीकरणका लागि प्रशिक्षण प्रमुख पाटो हुन्छ। यसका लागि क्यानले टेस्ट मान्यता पाएका राष्ट्रहरूसँग खुला रूपमै प्रविधि सम्पन्न उच्च प्रशिक्षणका लागि आग्रह गर्नुपर्ने हुन्छ।  

कोइराला, खेल समीक्षक हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.