सन्दीपको आगमनले नेपाली टोली उत्साहित, कप्तान पौडेल भन्छन्- दक्षिण अफ्रिकाविरुद्ध खेल्न 'वेल प्रिपेयर्ड' छौं

सन्दीपको आगमनले नेपाली टोली उत्साहित, कप्तान पौडेल भन्छन्- दक्षिण अफ्रिकाविरुद्ध खेल्न 'वेल प्रिपेयर्ड' छौं
वेस्ट इन्डिजमा अभ्यास गरिरहेका सन्दीप लामिछाने र आईसीसीद्वारा आयोजित पत्रकार सम्मेलन कप्तान रोहित पौडेल। तस्बिर : आईसीसी/गेटी इमेजेज

काठमाडौं : नेपालले आइसीसी टी-२० विश्वकपको तेस्रो खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध खेल्न गइरहेको छ। क्यारेबियन मुलुक सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडाइन्सस्थित किङ्सटाउनमा दक्षिण अफ्रिकाविरुद्ध नेपाली टोली शनिबार विहान ५:१५ बजे मैदानमा उत्रिँदैछन्। 

सुपर ८ मा पुग्न दुई खेल जित्नैपर्ने दबाबमा रहेको नेपाल यसलाई असम्भव देख्दैन। टिम नै लागेर खेल्ने हो भने दक्षिण अफ्रिका र बांगलादेशलाई पनि नेपालले हराउनसक्ने कप्तान रोहित पौडेल बताउँछन्। दुई ठूला टेस्ट राष्ट्रविरुद्ध खेल्ने नेपालको लागि ठूलो अवसरसमेत भएको उनको भनाइ छ।

'दक्षिण अफ्रिकासँग खेल्ने ठूलो अवसर हो। दुवै टोलीले विश्वकपमा धेरै राम्रो खेलिरहेको छ। हामीले दुइटै खेल जित्यौं भने सुपर ८ मा क्वालीफाइ पनि हुन्छौं। हामी टिम नै लागेर खेल्यौं भने टेस्ट राष्ट्रलाई जित्न सक्छौं,' आईसीसीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

उनले अमेरिका र वेस्ट इन्डिजको विकेट फरक रहेकाले पनि खेललाई राम्रो बनाउने अवसर रहेको बताए। उनले १६०-१६१ रन बनाउने हो भने दक्षिण अफ्रिकालाई जित्न सक्ने आँकलन गर्छन्। 'अमेरिकाको विकेट धेरै नै चुनौतीपूर्ण थियो। त्यहाँ १३० भन्दा बढी रन बनेको देखिएन। यहाँ १६० रन बनाउन सकियो भने दक्षिण अफ्रिकालाई चुनौती दिन सक्छौं,' उनले भने।

उनले दक्षिण अफ्रिकाका लागि डेभिड मिलरबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन नसकिरहेका बेला नेपाललाई राम्रो गर्ने अवसर भएको बताए। 'अघिल्ला ३ म्याचदेखि दक्षिण अफ्रिकाले राम्रो रन बनाउन सकेको छैन। डेभिड मिलरबाहेक अरुले ठूलो स्कोर बनाउन सकेका छैनन्। सकभर कम रनमै अलआउट गर्ने हाम्रो लागि अवसर पनि हो,' उनले भने। कप्तान पौडेलले विकेटको अवस्थाले पनि खेल निर्धारण हुने हुँदा नेपाली टोलीले आफ्नो बेस्ट दिन तयार रहेको बताए। 

अमेरिकामा रोकिँदा नेपालले गर्न पाएन अभ्यास
अमेरिकाको फ्लोरिडामा मौसम खराबीका कारण नेपाली टोली निर्धारित समयभन्दा एक दिन ढिला सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडाइन्स पुगेको थियो। जसका कारण दक्षिण अफ्रिकाविरुद्धको खेलअघि नेपालले राम्रो तयारी गर्न पाएको छैन। तर, कप्तान पौडेलले आफूहरू फुल जोशमा रहेको प्रतिक्रिया दिए। 

'मौसमका कारण तयारी गर्न पाएका छैनौं। दुई दिन तयारी गर्न नपाउँदैमा केही बिग्रिँदैन। हामीले बच्चैदेखि क्रिकेट खेल्दै आएका छौं। हामी सबैलाई थाहा छ,' कप्तान भन्छन्, 'ग्राउन्डमा भएर हामी देशका लागि खेल्ने हो। जितको लागि खेल्ने हो। मौसमलाई हामीले के नै गर्न सक्छौं।'

प्लेइङ ११ मा सन्दीप लामिछाने
भिसाको कारण अमेरिका जान नपाएका पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने दुई खेलमा नेपालको स्क्वाडमा रहनेछन्। सम्वतः उनी दुवै खेलमा प्लेइङ ११ मा अट्नेछन्। उनको आगमले नेपाली टोलीको उत्साह बढेको कप्तान पौडेलले बताए। 

लामो समयदेखि क्रिकेटबाट टाढा रहेका सन्दीपबाट कस्तो प्रदर्शनको आशा गर्नुभएको छ? भन्ने प्रश्नमा कप्तान पौडलले भने, 'स्यान्डी दाइले धेरै क्रिकेट खेल्नुभएको छ। केही महिना नखेल्दैमा सक्दैन भन्ने हुँदैन। स्यान्डी दाइले नेपालमै पनि निरन्तर अभ्यास गर्नुभएको थियो।' सन्दीपको आगमले नेपाली टोली वेल प्रिपेयर्ड रहेको उनको भनाइ छ। 

दक्षिण अफ्रिकाका प्रमुख बलर कागिसो रबाडाले सन्दीप 'मिस्ट्री स्पिनर' रहेको बताए। मिस्ट्री स्पिनरलाई खेल्न धेरै गाह्रो हुने गरेको उनको भनाइ छ। उनले सन्दीप लामिछानेको बलिङको सामना गर्न आफ्नो खेलाडी तयार रहेको बताए। उनले नेपालको क्रिकेटबारे धेरै थाहा नभए पनि पछिल्लो समय नेपालमा क्रिकेटको क्रेज धेरै रहेको बताए। उनले नेपालविरुद्ध उत्रिन टीमले विश्लेषण गरिरहेको बताएका थिए। उनले  एसोसिएट राष्ट्रहरूले पनि राम्रो क्रिकेट खेलिरहेको भन्दै प्रशंसा गरेका थिए।

पहिलो खेल नेदरल्यान्ड्ससँग हारेको नेपाल श्रीलंकाविरुद्धको खेल वर्षाका कारण स्थगित भएपछि १ अंक प्राप्त गरेको छ। तीन खेल जित्दै ६ अंकसहित दक्षिण अफ्रिका सुपर ८ मा पुगिसकेको छ। बंगलादेश पनि दुई खेल जितेर ४ अंकसहित दोस्रो स्थानमा छ। उसले अन्तिम खेल नेपालसँग सोमबार खेल्दैछ। नेदरल्यान्ड्स २ अंकसहित तेस्रोमा छ, उसले अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.