मुगुको एक गाउँ, जहाँ घरघरमा छ धारा
मुगु : मुलुककै राजधानी काठमाडौंमा समेत कतिपय ठाउँका घरमा धारा जडान हुन सकेका छैनन्। कतिपय स्थानमा धारा छन्, पानी आउँदैन। तर, मुगुस्थित छायाँनाथ रारा नगरपालिका— ९ मुर्मा गाउँमा भने एक घर एक धारा निर्माण भएको छ। यूएसएआईडी कर्णाली जल परियोजनाको आर्थिक सहयोग तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्रको प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिका—९ मुर्मा गाउँमा एक घर एक धारा निर्माण भएको हो।
मुर्मा गाउँमा ७१ घरधुरी छन्। प्रत्येक स्थानीयका प्रत्येक घरमा र तीन वटा सामुदायिक स्थानमा गरी ७४ धारा निर्माण गरिएका छन्। गाउँ नजिक पानीका मुहान छैनन्। मुर्मावासीले लामो समयदेखि पानीको समस्या झेल्दै आएका थिए। कर्णाली जल परियोजनाबाट ५१ लाख २१ हजार ६ सय ५४ रुपैयाँ ६ पैसा, छायाँनाथ रारा नगरपालिकाका तर्फबाट ३ लाख २७ हजार २२ रुपैयाँ ३९ पैसा र स्थानीयवासीको तर्फबाट १३ लाख ६२ हजार १ सय ६९ रुपैयाँ ११ पैसा गरी जम्मा ६८ लाख १ हजार ६ सय ५४ रुपैयाँ ६ पैसामा पाँच किलोमिटर ७ सय ५० मिटर टाढा चुचुमारे मुहानबाट पाइपलाइनमा पानी गाउँमा पुर्याई ७१ घर र ३ सामुदायिक संस्थामा धारा निर्माण भएको हिमाली ग्रामीण युवा समाज विकास केन्द्रका परियोजना व्यवस्थापक शिवचन्द्र कार्कीले जानकारी दिए।
कार्कीका अनुसार प्रत्येक घरधुरीमा धारा निर्माण भएपछि धाराबाट निस्केको फोहोर पानीले गाउँभरि नै हिलाम्मे हुने हुँदा उक्त फोहोरपानी पनि व्यवस्थापन गरिने भएको छ। पानीको बहुउपयोगिताका लागि समुदाय आफैं सक्षम नभएको भनेर समुदायबाट माग भई आएअनुसार हिमाली ग्रामीण युवा समाज विकास केन्द्रले आफ्नै लगानीमा ४ लाख ६५ हजारको लगानीमा घरबाट निस्केको फोहोरपानी व्यवस्थापन गरी गाउँ नजिकको जग्गामा उत्पादन बढाउन सिँचाइका लागी पाइप, सिमेन्ट र पोखरी निर्माण गर्ने जनाएको छ।
यो रारा तालनजिकैको गाउँ हो। पुर्खौंदेखि पानीको समस्या झेल्दै आएका मुर्मावासीले गाउँबाट टाढा रहेका डोप्का भन्ने स्थानमा रहेको कुवाको पानी थाप्न राति आगो बालेर एक गाग्री पानी ल्याएर गुजारा चलाउँथे। सरसफाइ गर्न आधा घण्टा तल राराबाट निकास भएको खोलामा पुग्नु पथ्र्यो। यहाँका स्थानीयले पानीका लागि साह्रै दुःख पाएकाले अहिले घरघरमा पानी पुग्दा उनीहरू धरै खुसी भएका सोही गाउँका काला रोकायाले बताए।
सोही गाउँकी ६५ वर्षीया चैती रोकाया पनि खुसी हुँदै भन्छिन्, ‘गाउँबाट झन्डै १५ मिनेटदेखि आधा घण्टा टाढा रहेका डोप्का, पनपनेरी, कुडा, सीमा, भागभेगनी, अँध्यरी खोलालगायतका आधा दर्जन पानीका मुहान थिए। अहिले केही मुहान सुकिसकेका छन् भने केही कुवामा परिणत भए। त्यसैले पानीका लागि सबैभन्दा धेरै महिलाले दुःख पाएका थिए।