लाभांश प्रस्ताव गरेको तारागाउँको कारोबार रोक्का किन ?
काठमाडौं : तारागाउँ रिजेन्सी होटल्सले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश होटलको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण हुनेछ।
यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो। मंसिर १६ गते (शनिबार) सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेकामा सो निर्णय नेप्सेलाई आइतबार बेलुका ५ः१५ बजे मात्र जानकारी गराएको थियो। नेप्सेले कम्पनीको कारोबार रोक्का गर्दै ३ दिनभित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन पनि दिएको छ।