नेताहरूबीच मतभेद्कै कारण महाधिवेशन रोकिँदैन : प्रवक्ता खतिवडा
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगनन्नाथ खतिवडाले नेताहरूबीचको मतभेदकै कारण महाधिवेशन नरोकिने बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले महाधिवेशनको मितिमा अनिर्णित भएपछि भोलि फेरि बैठक बोलाइएको बताए।
उनले यसअघि तय भएको मिति विभिन्न कारणले सार्नुपारकाले त्यस विषयमा भोलिको बैठकले निर्णय गर्ने बताए। 'यसबीचमा पार्टीले समाजवादी जागरण अभियान चलायो। धेरै नेता कार्यकर्ताले थप काम गर्नुपर्ने सुझाव दिएका छन्। जाजरकोटमा आएको भूकम्पले पनि हामीलाई बाधा पुर्याएको छ,' उनले भने। उनले भोलि बस्ने बैठकले महाधिवेशनको मिति तय गर्ने बताए।
उनले नेताहरूकै कारण महाधिवेशन नरोकिने बताए। 'महाधिवेशन भनेकै मतभेद् हुनु हो। फरक फरक विचारबीच छलफल बहस हुनु हो। पार्टीभित्रको मतभेदकै कारण महाधिवेशन रोकिँदैन,' उनले भने।
उनले महाधिवेशनको विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए। उनले मध्यावधिमा जानलाई पनि संविधानले विभिन्न धारा समावेश गरेको बताए। मध्यावधिको नारा कुनै दललाई रोटी सेक्नेबाहेक केही नभएको उनको भनाइ छ। 'सरकारलाई अस्थिर बनाउने, अविश्वसनीय बनाउने केही राजनीतिक दलले आफ्नो रोटी सेक्नलाई मात्र मध्यावधिको हल्ला चलाएको हो,' उनले भने।