जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराउँछु : प्रधानमन्त्री
युएई : प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन्।
कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई आइपुगेका प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताए। सम्मेलनमा माग्नेका रूपमा नभएर अधिकारका निम्ति आफ्ना एजेण्डा राख्न तयारीका साथ सम्मेलनमा आएको प्रधानमन्त्री दाहालको भनाइ छ।
संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कोप २८ मा जलवायु परिवर्तनबाट नेपालललाई असर परेको असरको क्षतिपूर्तिको रूपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढंगबाट उठाउने बताए। दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा उनले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको बताए।
विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै उनले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको स्पष्ट पारे।