लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहनेहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्।
नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधनमन्त्री दाहालले पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको भन्दै उनीहरूको सपना कहिल्यै पूरा नहुने बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए। उनले व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुनेसमेत बताए। उनले नेपाल संवत् नेपालको मौलिक संवत् भएको भन्दै यसलाई राष्ट्रिय संवतको रूपमा विकसित तुल्याउनुपर्ने बताए।
कार्यक्रममा समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री दाहाललाई सम्मान गरेको थियो। सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरूपमा उल्लेख गर्ने निर्णय गरेको थियो।