नयाँ एक्स्चेन्जको प्रक्रियामा अर्थ समितिको ग्रीन सिंग्नल
काठमाडौं : अर्थ समितिले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने बाटो खोलिदिएको छ। कात्तिक २४ गते बसेको समितिको बैठकले आफूले त्यसअघि प्रक्रिया रोक्न निर्देशन दिएकामा निर्देशनको प्रयोजन सकिएको निर्णय गरेको हो।
समितिका जेठ २९ गते बसेको बैठकले विस्तृत अध्ययन नभएको भन्दै तत्कालका लागि यो प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको थियो। प्रधानमन्त्री प्रचण्डले पनि नयाँ एक्स्चेन्जको प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएका थिए।
समितिले नयाँ एक्स्चेन्जको कामकारबाहीबारे कागजात मागेर अध्ययन गरेपछि बाटो नरोक्ने निष्कर्षमा पुगेको हो। सर्वोच्च अदालतले समेत नयाँ एक्स्चेन्जलाई लाइसेन्स दिनेबारे अन्तिम फैसला गरिसकेकाले लाइसेन्स रोक्नुपर्ने अवस्था र औचित्य नदेखिएको भन्दै प्रक्रिया अघि बढाउने बाटो समितिले खोलेको हो।
समितिको निर्देशनसँगै अब नयाँ स्टक एक्स्चेन्जको प्रक्रिया अघि बढ्नेछ। यस विषयमा समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भने फरक मत जाहेर गरेका छन्।