भूकम्पले जे सिकायो

भूकम्पले जे सिकायो

संघीय, प्रदेश र स्थानीय तहमा भबनहरू बनाउँदा राष्ट्रिय भवन निर्माण संहिता अनिवार्य लागू गर्नुपर्ने देखिन्छ ।

नेपाल भूकम्पीय जोखिम क्षेत्रमा रहेको देश हो। यो इन्डियन टेक्नोनिक प्लेट र युरासियन प्लेटमा युरासियन प्लेटको जोडाइमा रहेको छ। इन्डियन प्लेट, युरासियन प्लेटमा हरेक वर्ष ३.८–४.८ सेन्टिमिटर धसिँदै गएको पाइन्छ। यसकारण जमिनमुनि आन्तरिक शक्ति जम्मा हँुदै गएर बेला–बेलामा सो निस्कँदा भूकम्प जाने गरेको हो।

नेपालमा धेरै भूकम्प गएका छन्। पहिलो नापिएको भूकम्प सन् १२५५, जुन ७ को हो। त्यसपछि ६ रेक्टरभन्दा ठूलो भूकम्पहरूमा सन् १२६०, १४०८, १५०५, १६८१, १७६७, १८१०, १८३३, १८६९, १९१६, १९३४, १९६६, १९८०, १९८८, २०११, २०१५ मा गएको तथ्यांक भेटिन्छन्। सन् २०१५ २५ अप्रिल (२०७२ साल)को भूकम्पले नेपालमा धेरै धनजनको क्षति भएको थियो। सन् २०१५ २५ अप्रिल (२०७२ साल)को ७.८ रेक्टरको भूकम्पले गर्दा १ लाख ३८ हजार १ सय ८२ पूर्णरूपमा र १ लाख २२ हजार ६ सय ९४ आंसिक रूपमा घरहरू भत्केका थिए भने आधिकारिक रूपमा ८ हजार ८ सय ५७ मानिस मरेका थिए।

इन्डियन टेक्नोनिक प्लेट र युरासियन प्लेटमा युरासियन प्लेटको जोडाइमा रहेको छ। यसकारण जमिनमुनि आन्तरिक शत्तिाm जम्मा हुँदै गएर बेला–बेलामा सो निस्कँदा भूकम्प जाने गरेको हो।

पश्चिम नेपालमा झन्डै ५ सय वर्षदेखि ठूलो भूकम्प आएको छैन। कुनैं न कुनै बेला ठूलो क्षति हुन सक्ने ठूलो भूकम्प आउन सक्छ। २०८० कार्तिक १७ शुक्रबारको राति ११.४७ मा बारेकोट गाउँपालिकाको रामीडाँडामा इपिसेन्टर पारेर जाजरकोटमा ६.४ म्यग्निच्युडको भूकम्प गएको थियो। सो भूकम्पबाट जाजरकोट, पश्चिम रुकुम, सल्यान र सुर्खेतका विभिन्न नगरपालिका र गाउँपालिकामा क्षति भएको छ। हालसम्मको विवरणअनुसार उक्त भूकम्पमा परी १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ७२ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार झन्डै ३ हजार घर पूर्ण रूपमा र ५ हजार घर आंशिक रूपमा भत्किएका छन्।

भूकम्प गएको ठाउँको अबलोकनबाट क्षति भएका भवनहरूको बनावट र प्रयोग हेर्दा निम्नअनुसारको अवस्थामा देखिन्छ :

  • बनेका अधिकांश घरहरू ढुंगा माटोको जोडाइमा बनेका छन्।
  • यी ढुंगा माटोले बनाएका घरहरू धेरै वर्ष पुरानो भएको, सानातिना भूकम्पले कमजोर भइसकेको, निर्माणमा प्रयोग गरिएका सामानहरू कमजोर र मक्किसकेको अबस्थामा रहेको देखिन्छ।
  • घरहरू एक तल्ले, दुई तल्ले, दुई तल्ले र बुइँगलसहितका धेरै छन्।
  • भुइँहरू काठ, बास र माटो प्रयोग गरी बनेका छन्।
  • काठ, दाउरामाथि माटो बिछ्याइँ त्यसमाथि ढुंगाको छाना बनाइएको छ।
  • अधिकांश क्षतिग्रस्त घरहरूको गाह्रोमा भूकम्प प्रतिरोधी घरमा राखिनुपर्ने काठहरू नबिछ्याएको देखिन्छ।
  • धेरैजसो ठाउँमा खोलाको गोलो ढुंगाले माटोको जोडाइमा बनेको र भूकम्पको केन्द्रबिन्दु नजिक खानीको ढुंगामा माटोले जोडेर बनाएको देखिन्छ।
  • ढुंगाको गाह्रोको पूरै चौडाइमा ढाक्ने सिंगो ढुंगा देखिँदैन अर्थात् भूकम्प प्रविधि मापदण्ड अनुसार छैनन्।
  • यस क्षेत्रमा बनेका ढलानका घरहरू प्रायः नयाँ भबन भएकाले कम क्षति भएको, थोरै चर्केको, भित्रका गाह्रोहरू केही चर्केको र बिग्रेको साथै प्रायः ती घरहरू समेत भवन संहिताका प्राबधान प्रयोग नभएको पाइएको छ।

प्राविधिक सुझावहरू

क) तत्कालीन गर्नुपर्ने कामहरू

  • यथाशीघ्र भूकम्पबाट घर भत्केकाहरूका लागि अस्थायी टहराहरू बनाइदिनु पर्ने हुन्छ।
  •  अस्थायी टहरा बनाउँदा सकेसम्म भत्केका घरहरूका ढुंगा, काठ आदि प्रयोग गर्नुपर्छ।
  • अस्थायी टहरा बनाउँदा सकेसम्म काठ वा बाँसको फ्रेम र बार बनाइ जस्ताले छाना छाउने अर्थात् काठ र बाँसको फ्रेम बनाई जस्ताले घेर्ने र छाना छाउनु पर्छ।
  • अस्थायी टहरा बनाउँदा अरू न्युनतम पूर्वाधारहरूको व्यवस्था पनि गरिदिनु पर्छ।

ख) दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरू

  • संघीय, प्रदेश र स्थानीय तहमा भबनहरू बनाउँदा राष्ट्रिय भवन निर्माण संहिता एवं भवन मापदण्ड अनिवार्य लागू गर्नुपर्ने देखिन्छ।
  • घर बनाउने प्राविधिक, डकर्मी तथा सिकर्मीहरूलाई भूकम्प प्रविधिसम्बन्धी तालिम अनिवार्य रूपमा दिएर मात्र निर्माणमा संग्लग्न गराउनुपर्ने हुन्छ। साथै स्थानिय जनतामा पनि भूकम्प प्रतिरोधी घर बनाउने प्रविधिबारे जनचेतना जगाउनुपर्ने हुन्छ।
  • पुराना भवनहरूको, भूकम्पीय क्षमता जाँच, पुनरुत्थान/प्रबलीकरण अभियान चलाउनुपर्ने देखिएको छ।
  • खोलाबाट निकालिएका गोला ढुंगाहरूबाट बनाइएका घरहरू जोखिम हुने भएको हुनाले प्राविधिकको सल्लाह अनुसार मात्र सावधानी पुर्‍याएर बनाउनु पर्नेछ।
  • सम्भव भएसम्म घरको गाह्रो बनाउन स्थानीय उत्खनन गरिएका चेप्टा र नियमित आकारका ढुंगाहरू प्रयोग गर्नुपर्छ।
  • घरको गाह्रो बनाउँदा काठको ब्यान्ड राख्नुपर्ने हुन्छ।
  • ढुंगाको गाह्रो बनाउँदा गाह्रोको पूरै चौडाइ भ्याउने गरी अड्काउन लामो ढुंगाको प्रयोग गर्नुपर्छ।
  •  घरको छानाको भार घटाउनु पर्ने (काठमाथि धेरै पातलो ढुंगाको स्लेट वा जस्ता पाता राख्दा उपयुक्त हुने) देखिन्छ।
  • २०७२ सालको भूकम्पपछि बनाइएका ‘टिपिकल’ घरहरूको डिजाइनको सक्दो प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्छ।
  • भिरालो पहिरो जानसक्ने ठाउँका बस्तीलाई सुरक्षित ठाउँमा एकीकृत बस्तीको निर्माण गरी पुनस्र्थापना गर्नुपर्ने हुन्छ।

निष्कर्ष
भूकम्पको पुनर्निर्माण गर्दा सम्भव भएसम्म स्थानीय गुणस्तरीय समानको प्रयोग र राष्ट्रिय भवन निर्माण संहिता तथा भवन मापदण्डहरूको पूर्ण पालना गर्नुपर्ने देखिएको छ। तालिम प्राप्त प्राविधिक तथा डकर्मीहरूको सहयोग, भूकम्प प्रतिरोधी घर निर्माण प्रविधिबारे साधारण जनतामा समेत जागरण आवश्यक छ।

२०७२ सालको भूकम्पबाट सिकेका ज्ञान र सीपको अबलम्बन गरी संघ, प्रदेश र स्थानीय तहका सरकारहरूको सहभागितामा पुनर्निर्माण कार्य सम्पन्न गर्दा राम्रो र छिटो हुनेछ। त्यस्तै, सम्भावित भूकम्पको पूर्वतयारी पनि गर्दै जानुपर्ने देखिन्छ।

- सुवाल स्ट्रक्चरल इन्जिनियरस एसोसिएसन नेपालका अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.