धार्मिक सहिष्णुता
१ अक्टोबर १९९७ अर्थात् १५ असोज २०५४ दसैंको घटस्थापनाको ठीक एक दिनअघि। म एक अमेरिकी साथी (जो आफ्नै दाजु सरहका थिए) को निम्तो मान्न अमेरिकाको सिकागो सहरको लागि उडेँ। सानैदेखि सिकागो सहरमा रहेको तत्कालीन समयमा संसारकै अग्लो गगनचुम्बी भवन ‘सियर्स टावर’ (हाल विलिस टावर) चढ्ने रहरले एकतर्फ उत्साहित थिएँ भने अर्कोतर्फ नेपालीको महान् चाड दसैंको मुखमा देश छोड्नुपर्ने अवस्था नियास्रो लागिरहेको थियो।
लामो हवाई यात्रापछि सिकागो पुगें। मेरो साथीले मेरा लागि बसाइको व्यवस्था युनिभर्सिटी अफ सिकागोको इन्टरनेसनल हाउस, जुन अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि बनाइएको डर्मेट्री (होस्टेलको अर्को नाम)मा गरेको थियो। म त्यहाँ गएर बसेँ र त्यो डर्मेट्री मेरो साथीको अपार्टमेन्टको करिब १० मिनेट हिँडाइको दूरीमा थियो। त्यसैले समय समयमा म साथी कहाँ पनि गइरहेको हुन्थें। यता नेपालमा दसैं सुरु भइसकेको थियो उता म दसैंमा पाक्ने विभिन्न स्वादिष्ट परिकारहरू सम्झँदै इन्टरनेसनल हाउसको क्याफ्टेरियामा पाउरोटी टोकिरहेको हुन्थें।
उनी समय समयमा नेपाल आइरहने र हिन्दु धर्ममा आधुनिकताको प्रभाव विषयमा युनिभर्सिटी अफ सिकागोबाट विद्यावारिधि गरिरहेको हुनाले नेपालीहरूको लागि दसैंको महत्त्व र उल्लासमय वातावरणको बारेमा जानकार थिए। घर सम्झेर उदास मेरो अनुहार पढेर हो वा मेरो मनोविज्ञान बुझेर चिसो आइतबारको एक बिहान मलाई उनीहरूसँगै चर्च जान निम्तो दिए। म पनि खुसी हुँदै उनीहरूसँगै चर्चतिर लागें आइतबारको प्रार्थनाको लागि।
हिन्दु संस्कारमा हुर्केको एक नेपाली केटोलाई चर्चमा के हुन्छ, के गर्नुपर्छ केही थाहा थिएन। मात्र उत्साहित र जिज्ञासु थिएँ। चर्चका पादरीले बाइबलका केही अंश पाठ गर्न थालेपछि सबै सहभागीहरू घुँडा टेकेर मनमनै प्रार्थना गर्न थाले। मैले पनि त्यही सिको गर्न थालें। त्यहाँ उपस्थित संगीत मण्डलीले विभिन्न धार्मिक र भक्ति संगीत प्रस्तुत गरे। संगीतको कुनै धर्म र सम्प्रदाय हुँदैन त्यसको सुरतालमा रम्ने जो कोहीलाई आनन्दित तुल्याउँछ। म पनि आनन्दित भएँ र भावविभोर भएर एकचित्त भएर सुनिरहेँ।
मेरो कुन जात धर्म भन्ने सोच्ने मौकै पाइँन मैले। धर्म जुनसुकै किन नहोस् स्वच्छ मनले पुकार्दा सबै देवता एकै हो जस्तो लाग्यो मलाई। अन्तमा प्रार्थना सकिएपछि जिजस् क्राइस्टको प्रसादको रूपमा रेड वाइन र कुकिज दिइयो त्यो पनि ग्रहण गरेँ। मनमा कुनै संकोच भएन। मलाई बुझ्ने मौका मिल्यो, कसैको आस्था र विश्वासलाई आदर सम्मान गर्दाको सन्तुष्टि अमूल्य हुँदो रहेछ।
सहिष्णुता भनेको क्षमाशीलता, सहनशीलता र ग्रहणशीलता नै त हो। जस्तोसुकै नराम्रो व्यवहार किन नहोस् त्यसलाई क्षमा दिन सक्यो र सहन गर्न सक्यो भने त्योभन्दा ठूलो सहिष्णुता केही हुँदैन यो संसारमा। अरूको आस्था अनि विश्वासलाई घात नगरी सबैलाई सम्मान गर्न सक्नु पनि त सहिष्णुता हो। कसैको राम्रो विचार र आस्थालाई सगौरव ग्रहण गर्नु पनि सहिष्णुता हो। एकले अर्कोलाई निचा देखाउनमा गर्व गर्ने परम्परा त्याग गर्न आवश्यक हुन्छ सहिष्णु बन्न। तर सहिष्णुताको नाममा हिंसा र अपराधलाई प्रश्रय दिनु कदापि स्वीकार्य हुन सक्दैन।
मेरो २० वर्षीय छोरा पढाइको सिलसिलामा भारतको तामिलनाडुमा छ। त्यहाँ उसका मिल्ने साथीहरूमध्ये एकजना मुस्लिम धर्मावलम्बी साथी पनि छ। उनीहरूबीच कुनै प्रकारको धार्मिक विभेद छैन, मिल्ने साथीहरू जो भए। एक दिन शुक्रबार उनीहरू दुवैजना सँगै मस्जिदमा प्रार्थना गर्न गएको प्रसंग सुनाए छोरोले मलाई। नमाज पढ्न भेला भएका मुस्लिम धर्मावलम्बीहरूबीच घुँडाको बलमा माथा टेक्ने क्रममा छोराको घाँटीमा झुन्ड्याइएको रुद्राक्ष खुत्रुक्क तल झर्दा त्यहाँ उपस्थित अरू मुसलमानहरूले उसलाई सशंकित भएर हेरेको कुरा सुनाए। तर उपस्थित व्यक्तिहरूले थप कुनै प्रतिक्रिया व्यक्त नगरेको हुनाले मस्जिदभित्र प्रार्थना गर्न आएका एक हिन्दु युवकलाई पनि सहजै स्वीकारेको अवस्था थियो त्यो। त्यो पनि एक हिसाबले सहिष्णुता थियो मेरो बुझाइमा, धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरण।
कुनै पनि कुराको अतिवाद विध्वंशक हुन्छ। धार्मिक आस्था र विश्वासको नाममा हुने हिंस्रक घटनाहरूले विश्व आक्रान्त बनिरहेको आजको परिस्थितिमा सहिष्णुताको महत्व झन्झन् बढ्दै गएको छ। केही युद्ध पिपासुहरू धार्मिक हिंसा भड्काएर विश्वलाई अशान्त पार्न उद्वत्त छन्। विश्व शान्ति उनीहरूको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रत्योत्पादक बन्छ। यी र यस्ता कुरा बुझ्न नसक्दा विश्वका हजारौं हजार जनता अनाहकमा मृत्युवरण गर्न बाध्य छन्। हामी पनि समयमै सचेत हुन नसक्ने हो भने त्यस्ता समस्याहरूले पिरोलिएर अशान्तिको चपेटामा पर्न बाध्य हुनु पर्नेछ। धार्मिक सहिष्णुता आजको परम धर्म हो, आवश्यकता हो।
कोजाग्रत पूर्णिमासँगै यसपलिको दसैंको रौनक पनि विस्तारै सकिएको छ। तर टीकाको दिनमा देखिएको एक दृश्यले मलाई साह्रै आकर्षित ग¥यो, नेपाली हुनुमा गौरवान्वित भएँ त्यो दृश्य देखेर। काठमाडौंका केही मुस्लिम दाजुभाइहरू क्रमबद्ध भई दसैंको टीका थापिरहेका थिए। त्यो दृश्य धार्मिक सहिष्णुताको साहै्र गहकिलो उदाहरण थियो। एक मुस्लिम भएर पनि निःसंकोच हिन्दुदेवी दूर्गा भवानीको प्रसाद स्वरूप टीका ग्रहण गर्नु एकदम सराह्रनीय काम थियो। मलाई पनि ती मुस्लिम दाजुभाइप्रति नतमस्तक भएर भन्न मन लाग्यो ‘अस्सलाम अलैकुम’ !