विमानस्थल छ, छैन उडान

विमानस्थल छ, छैन उडान

काठमाडौं : नेपालमा तीन अन्तर्राष्ट्रियसँगै ५४ विमानस्थल सञ्चालनमा छन्। तर, नियमित उडान भने करिब ३२ विमानस्थलमा मात्र हुने गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ को अगस्ट महिनासम्म ३२ विमानस्थलमा नियमित उडान भएका छन्।

आन्तरिक विमानस्थल सञ्चालनमा ल्याएर खर्च मात्र उठाउन कम्तीमा दैनिक २० उडान (आउने र जाने) हुन आवश्यक रहेको बताइन्छ। तर, सञ्चालित विमानस्थलमध्ये स्टल रुट (पहाडी जिल्ला)मा रहेका विमानस्थलमा भने दैनिक उडान हुन नै मुस्किल रहेको छ। बागलुङ, दार्चुला, ढोरपाटन, डोल्पा मसिनेचौर, जिरी, कन्लेडाँडा, लाङटाङ, मनाङ र मेघौलीका विमानस्थलमा जहाज चलेका छैनन्।

त्यसैगरी, महेन्द्रनगर, पालुङटार, रोल्पा, स्याङबोच्छे, टीकापुर, गुल्मी, इलाम (सुकिलुम्बा), खिजी चण्डेश्वरी, कालीकोट र कमलबजार विमानस्थल पूर्ण रूपमा बन्द छन्।

सबैभन्दा बढी उडानको चाप पहिलो अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ। सन् २०२३ को जनवरीदेखि अगस्ट महिनासम्म आन्तरिक ६० हजार ४ सय ३५ उडान र बाह्य २० हजार ३० उडान गरी कुल ८० हजार ४ सय ६० उडान भएका छन्। थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भए पनि काठमाडौंस्थित विमानस्थलबाट मात्रै नियमित रूपमा बाह्य उडान हुँदै आइरहेका छन्। 

२०७९ सालको जेठ र पुस महिनाबाट क्रमशः गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आए। तर, गौतमबुद्धमा जजिरा एयरबाहेक अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको नियमित उडान हुन सकेको छैन।

पुस १५ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा करिब दुई चार्टर्ड उडानबाहेक नियमित अन्तर्राष्ट्रिय उडान भएका छैनन्। यी दुवै विमानस्थलमा आन्तरिक उडान भने भइरहेका छन्। यी विमानस्थलको बिजनेस प्लान के छ भन्ने उत्तर प्राधिकरणसँग छैन। संसारका जुनसुकै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन केही वर्ष लाग्ने प्राधिकरणले बताउँदै आएको छ।

स्टल रुटमा उडानको संकट

दुर्गम क्षेत्रका बासिन्दालाई यातायात पहुँच पुर्‍याउनका लागि प्राधिकरण र विमानस्थलको स्थापना भएको हो। भौगोलिक विकटताका कारण सबैमा यातायात पहुँच पुर्‍याउन विमानस्थल निर्माण भएका हुन्। तर, दुर्गममा रहेका अधिकांश विमानस्थल सञ्चालनमा त छन् तर नियमित उडान हुने अवस्थामा छैनन्।

  •     ५४ विमानस्थलमध्ये ३२ वटा मात्रै सञ्चालनमा
  •     गौतमबुद्ध र पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान छैनन् 

दुर्गममा उडानका लागि जहाज संख्या पनि कम छ। लुक्ला विमानस्थलमा बाहेक अन्य विमानस्थलमा कि नियमित उडान छैनन् भए पनि ज्यादै न्यून छन्। उडान संख्यामा कमीसँगै यी विमानस्थल आर्थिक घाटामा पनि छन्।

विशेषगरी पहाडी तथा दुर्गम जिल्लामा खाद्यान्न, नुन ढुवानी, अन्य सामग्रीको ढुवानी, बिरामी हुँदा ओसारपसारका लागि विमानस्थल बनेका छन्। एकातिर बनेका विमानस्थल बन्द छन् भने अर्कोतिर विकट र सडक सञ्जाल नपुगेको जिल्लामा सर्वसाधारण यातायातको पहुँचबाट वञ्चित छन्। 

ट्रंक रुटमा उडान बढी

प्राधिकरणको तथ्यांकअनुसार तराई जिल्लाका विमानस्थलमा उडान संख्या बढी रहेको छ। प्रायः आन्तरिक उडान भर्ने जहाज कम्पनीले ट्रंक रुटमा नै केन्द्रित भएर उडान भर्दै आइरहेका छन्। तराईमा ४० नटिकल माइलमा २ एयरपोर्ट हुन नहुने र पहाडमा २० नटिकल माइलभित्र २ एयरपोर्ट हुन नहुने हाम्रो मापदण्ड छ। तर, उक्त मापदण्डको परिपालना पहिलादेखि नै भएको छैन। पर्यटकीय दृष्टिकोणले बढी चहलपहल हुने पोखरा, भैरहवा, सिमरालगायतका विमानस्थलमा उडानको चाप बढी नै देखिन्छ। 

विमानस्थल सञ्चालन खर्चिलो बन्दै

पहिला ५ देखि ७ करोड रुपैयाँमा आन्तरिक विमानस्थल बन्थे। तर अहिले ५० देखि ६० करोड रुपैयाँभन्दा कममा विमानस्थल बन्दैन। विमानस्थल निर्माण खर्चिलो भएको छ, सञ्चालन खर्च धेरै छ। त्यही कारण अनावश्यक रूपमा ठाउँठाउँमा नयाँ विमानस्थल बनाउन नहुने देखिन्छ। 

सडक सञ्जालको विकाससँगै पछि गएर धेरै विमानस्थल काम नलाग्ने पनि हुने देखिन्छ। तराईका जिल्लाका विमानस्थलले सञ्चालन खर्च उठाए पनि मुस्ताङ र लुक्लाबाहेक पहाडी भेगका विमानस्थल यातायातका लागि मात्र चलेका छन्। अब विमानस्थल थप्नेभन्दा पनि यसको संरचनालाई पुनरावलोकन गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.