‘ऐँठन, दसवर्षे यद्धको अनुहार हो’

‘ऐँठन, दसवर्षे यद्धको अनुहार हो’

अछाममा जन्मिएका उनको बाल्यकाल दसबर्से  यद्धकालमा बित्यो। उनको बाल्यकाल र किशोरावस्था कैलालीको टीकापुरमा बित्यो। कृष्णप्रसाद ओझा र सरस्वती ओझाका सन्तान उनी सानैदेखि साहित्यमा रुचि राख्थे। उनको यसअघि ‘ऐलानी’ उपन्यास प्रकाशित छ। उनै उपन्यासकारले ऐँठन लेख्न र प्रकाशन गर्न झन्डै पाँच वर्ष लगाए। कैयौंपटक पुनर्लेखन गरे।

यसबीच थुप्रै आर्थिक, सामाजिक र मानसिक हन्डर खाए। तर पनि विचलित नभई निरन्तर साधना गरिरहे। यस वर्षको मदन पुरस्कार पाउने ऐँठनका उनै उपन्यासकार विवेक ओझासँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको साहित्यिक भलाकुसारी :

ऐँठनले मदन पुरस्कार पाएको छ, बधाई। तीन सयभन्दा बढी पुस्तकमा यो पुस्तक नै किन छानियो होला ?

धन्यवाद। ऐँठन मूलतः युद्ध उपन्यास हो। यसमा युद्धका तीन रङ छन्। एक– मिथकीय महाभारतको युद्ध, दोस्रो– दोस्रो विश्वयुद्ध र तेस्रो हामीले भोगेको माओवादी गृहयुद्ध।

मिथबाट ओराल्दै हाम्रो गृहयुद्धमा ल्याएर कथाको मूल गुदी भरेको छु। उपन्यासको अत्यधिक अंश हामीले भोगेको गृहयुद्धले ओगटेको छ। त्यो युद्ध जसले हाम्रो १० वर्षको समय निल्यो। जसमा लाखौं मानिस विस्थापित भए। हजारौं मानिस मारिए। खर्बौंको आँकडामा आर्थिक नोक्सानी भयो। तत्कालीन विद्रोही सेना र राज्यको निकाय दुवैबाट जनताले प्रताडना बेहोर्नुपर्‍यो। हो, ऐँठन त्यही समयको अनुहार हो।

अनुहारमा देखिएको अनुत्तरित प्रश्नहरूको पोको पनि हो कि ?

र, प्रश्न पनि हो– किन अहिलेसम्म शान्ति सम्झौताको काम टुंग्याइएको छैन ? किन पीडितहरूले न्याय पाइसकेका छैनन् ? पाइरहेका छैनन् ? किन सुन्दर व्यवस्था, गणतन्त्र आइसक्दा पनि सामाजिक असमानता उस्तै छ ? यति भन्दै गर्दा ऐँठन सिर्फ देशको सिमानाभित्र मात्रै सीमित छैन। यसले विश्वका तमाम समस्यालाई समेत प्रश्न गरेको छ जो हतियार र जनतासँग सरोकार राख्छन्। 

पुस्तकले विश्वकै नेतृत्व लिइरहेका शक्तिशाली राष्ट्रहरूलाई पनि प्रश्न गरेको छ। जस्तो कि किन धर्तीमा आणविक भट्टीहरूको व्यापकता बढ्दै गइरहेको छ ? किन धमाधम हतियारहरू उत्पादन भइरहेका छन् ? किन त्यसको व्यापार बढ्दो छ ? विश्वशान्तिको कामनासहित मानिसले जुन चेतना प्राप्त गरेको छ त्यसले सार्थकता पाउनुपर्छ र संसारभरबाट हतियार विस्थापित गर्न सकिन्छ भन्ने मान्यता ऐँठनले राख्छ। त्यसैले उपन्यास पूरै जीवनवादी र मानवतावादी दृष्टिकोणबाट लेखिएको छ।

उपन्यासमा सशस्त्र युद्धको खास कस्तो कथा समेटिएको छ ?

जो हामीले दसबर्से गृहयुद्ध भोग्यौं। त्यसमा हतियार समाउने र लड्नेहरू मात्र शहादत भएनन्। दुवै पक्षको हतियारले हजारौं जनताको ज्यान निल्यो जो कुनै पक्षसँग सरोकार राख्थेनन्। अझ भन्नुपर्दा, राज्यपक्षका हतियारधारी र विद्रोही पक्षका हतियारधारीले भिडन्त होस् वा मुडभेड, जुन संख्यामा नेपाली नागरिकले ज्यान गुमाए त्यो दुर्भाग्य हो, अकल्पनीय भयो। ऐँठन त्यही आमनागरिकको आँखाबाट लेखिएको कथा हो।

ऐँठनमा गृहयुद्धलाई बबनकुमार पात्रबाट नियाल्ने कोसिस गरेको छु जो राज्यपक्ष र विद्रोही पक्ष दुवैबाट प्रताडित छ। उसले स्वास्नी र छोरो गुमाएको छ। मनस्थिति गुमाएको छ। बबनकुमारलाई मैले युद्धबाट भग्नावशेष भएका लाखौं मानिसको प्रतिनिधि पात्रको रूपमा उभ्याएको छु जसले कुनै न कुनै रूपले क्षति व्यहोर्नु पर्‍यो। जसको असर चीर छ, रहनेछ।

कथा यथार्थ हो वा काल्पनिक ? कसरी प्रस्तुत गर्नुभएको छ ?

उपन्यास काल्पनिक हो। तर घटना, युद्धको अनुहार र त्यो समयको त्रासदी यथार्थ हो। उपन्यासको आफ्नै तौरतरिका होला तर यसले समाजको यथार्थसँग कुनै न कुनै ढंगले साइनो राख्छ। मैले मिथ, विश्वयुद्ध हुँदै गृहयुद्ध, तीनथरीको कडीका लागि स्वैरकल्पनाको प्रयोग गरेको छु। त्यो सकभर निकै स्वाभाविक देखाउने प्रयास गरेको छु। लेखनका लागि केही विषयगत कोरियोग्राफी र केही गणितीय कोरियोग्राफीको प्रयोग गरेको छु। जस्तो– विषयगत कोरियोग्राफीमा ‘सुर्के गाँठो’को अवधारणालाई उतार्ने प्रयास गरेको छु।

‘सुर्के गाँठो’को प्रकृतिलाई समेत कथाको उद्देश्यमा ढाल्ने गरी कोरियोग्राफी गर्ने कोसिस गरेको छु। त्यस्तै, तीन थरी रङ लगाइएको कुनै मिश्रित चुल्ठोको अवधारणालाई समेत ‘म्यास–अप’ गर्ने कोसिस गरेको हुँ। त्यस्तै गणितीय ‘टुल’मा अर्थशास्त्रको ‘इलिएट वेभ थ्योरी’को म्यापिङसँग प्लट जुराउने कोसिस गरेको छु। समग्रमा, ओल्टाइ–पल्टाइ जाने जति र सक्दो केही नयाँ गर्ने कोसिस गरेको हुँ।

उपन्यासमा उपन्यासकार आगो भएर आक्रोश पोखेको पाइन्छ भनिन्छ। के यो सत्य हो ? हो भने किन ?
जब म कथा लेख्छु तब आफूलाई भौतिक रूपमा ल्यापटपका कीहरूसँगमात्रै सीमित राख्छु। अक्षरहरू म नै लेख्छु तर तिनको आत्मा पात्रको आत्मासँग जोडिदिने भरपूर कोसिस गर्छु। के मान्छु भने जति बलियो गरी आख्यानकारले पात्रको जमिन टेक्न र मस्तिष्क पढ्न सक्छ, पुस्तक त्यही रूपमा बलियो बन्छ। जहाँसम्म आगो ओकल्ने कुरा छ, त्यो पात्रको आक्रोश र छटपटी हुन सक्छ। त्यो पात्र जसको जिन्दगीको नक्सा नै युद्धका कारण मेटियो।

एकपटक कल्पना गर्नुहोस्, कसैले स्वास्नी र सन्तान हतियारका कारण गुमायो अब जो विद्रोही र राज्यपक्षबाट प्रताडित भयो नि उसैबाट तपाईं फूलजस्तो कोमल अपेक्षा गर्नुहुन्छ ? त्यो पनि हतियार र युद्धमाथि ? जसको हृदय र आगो पर्याय बनेका हुन्छन्, उसले ओकल्ने आगो नै हो, आक्रोश नै हो।

समीक्षकहरूले ऐँठन पढ्न मुटु दह्रो चाहिन्छ नत्र सुम्सुम्याएर थन्क्याए हुन्छ भनेका छन्। पाठकले कसरी बुझ्ने ?

जतिसक्दो सजीव चित्रण गर्न खोजेको मात्र हुँ। समीक्षाको धर्म समीक्षकहरूको हो। समीक्षामा यस्तो आउँदा बरु मैले लेखनमा धेरै हदसम्म सफलता पो पाएँ कि भन्ने अनुभूति गर्दैछु। कुरा के भने युद्धको अनुहार कुरूप नै हुन्छ किनकि त्यहाँ गलाहरू रेटिन्छन् अनि हातगोडा काटिन्छन्। त्यहाँ गोलीले निधार छेड्छ र बमले शरीर टुक्राटुक्रा पार्छ। त्यही कुरूप विध्वंसको अनुहार देखाउने क्रममा आफूलाई पनि ऐँठन परेको महसुस गरेको छु।

सम्भवतः त्यो पढिरहँदा पाठकलाई पनि ऐँठन नै हुनेछ। किनकि जो हामीले दस वर्षमा भोग्यौं त्यो निकै नै डरलाग्दो परिस्थिति थियो। समीक्षकले सायद यही भएर पढ्न मुटु दह्रो चाहिन्छ भनेका हुन् कि ?

ऐँठनमा कस्ता पात्र छनोट गर्नुभएको छ ? पात्रमार्फत दिन खोजेको सन्देश के हो ?

ऐँठन मूलतः युद्धबाट प्रताडितहरूको कोलाज हो। यहाँ अधिकांश पात्रहरू युद्धबाट विक्षिप्त भएका छन्। ...हामी नागरिकसँग स्रोत र शक्तिको एक किसिमको सीमितता हुन्छ। तर, पहुँच र सामाजिक बलका भरमा स्रोत र शक्ति भएका मानिसले अँठ्याएर राखेका हुन्छन्। त्यसले समाजमा असमानता छ। शक्तिमा भएकाहरू थप शक्तिआर्जन गर्न चाहिरहेका छन्, अझ उनीहरू आफ्नो शक्तिलाई बाँडेर समाजमा समानता ल्याउन योगदान दिन हिच्किचाइरहेका छन्। बरु भएको शक्ति जोगाउन गलत निर्णयको बाटो हिँडेका छन्।

सत्ता र शक्तिको आडमा माथिल्ला वर्गले तल्लो वर्गका मानिस सधैं प्रताडित हुनु परेको छ। जसको पहलमा समाज सुन्दर हुन सक्छ, उनीहरूकै कारण समाज बिखण्डित भएको छ। मानिस जति चेतनशील छ, उसको व्यहोरा ठीकविपरीत छ। हामीले प्राप्त गरेको चेतनालाई लागू गरौं र विश्व नै सुन्दर र शान्त बनाऔं भन्ने सन्देश विभिन्न पात्र, प्लट र बिम्बमार्फत देखाउन खोजिएको छ।

दसबर्से युद्धपछि यस पुस्तकले समृद्ध नेपालको परिकल्पना किन गरेको ?

लेखकका हैसियतले मैले सधैं समृद्ध समाजको परिकल्पना गर्ने हो। जस्तो परिस्थितिमा हामी हुन्छौं त्यसभन्दा बृहत्तर समाजको परिकल्पना सुखद र स्वाभाविक कुरा हो। अझ हामीले त युद्धमा तमाम सपनाका लागि हाम्रा मान्छे गुमाएका हुन्छौं, छौं। आर्थिक नोक्सानी र समयको कालखण्ड गुमाएका छौं। त्यसमा पनि सुन्दर मानिने गणतन्त्रात्मक व्यवस्थामा उभिएका छौं। फेरि पनि हजारौंको संख्यामा युवा बिदेसिन बाध्य छन्।

बेरोजगारी र गरिबीउस्तै व्याप्त छ। पीडितहरूले न्याय पाइरहेका छैनन्। सशस्त्र युद्ध गरेर परिवर्तनको आशा देखाउने समूह पटकपटक सत्तामा आउँदासमेत समाजमा उस्तै खाले न्यायिक र प्रताडित समाज रहिरहन्छ भने उस्तै खाले दलाली र एकाधिकार चलिरहन्छ भने प्रश्न त अवश्य उठ्छ। त्यसैले यो प्रश्न जायज रहन्छ किनकि सुन्दर समाजका कल्पनाका लागि गरिएको जस्तोसुकै प्रश्न यस अवस्थामा निको लाग्छ। 

युद्धको नेतृत्व गर्नेहरू नै यतिबेला सरकारमा छन् तर पनि नागरिक हरक्षेत्रमा असन्तुष्ट छन्। नेपाली समाज बिथोलेर सत्ता प्राप्ति गर्न मात्र खोजेको आरोप पुस्तकमा पनि छ नि ?

पुस्तकमा त्यतिमात्र छैन र पूर्ण रूपमा त्यो होइन पनि। पुस्तकले त तत्कालीन समयमा राज्यपक्षबाट फैलाएका आतंकहरूबारे पनि बोलेको छ। जो आमनागरिकको रक्षाका खातिर उभिनुपर्ने हो उनीहरूले कसरी नरसंहार गरे, त्यो पनि त उल्लेख छ। यसरी भन्दा ठीक हुन्छ। ऐँठन समग्र क्रूरता र हिंसाको विरुद्धमा छ।

अझ, पुस्तकले हामीलाई हाम्रा मिथहरूले पनि नजानिँदो गरी हिंसाप्रति डोर्‍याएका छन् कि भनेर सन्देह गरेको छ। जुन सपनाका लागि समाजले ठूलो मूल्य चुकाउनु पर्‍यो, त्यसको परिणामका लागि नेतृत्वले बाटो बिराएको छ। त्यो देखेर लेखकका हैसियतले खेद प्रकट गर्दछु।

लेखकको सामाजिक दायित्व के, कति र कसरी पूरा गरेंजस्तो लाग्छ ? त्यो विकृति चिर्न सफल हुनुभयो ?

लेखकले सकभर सुन्दर लेख्ने कोसिस गर्ने हो। बाँकी यात्रा त पुस्तक स्वयंले नै गर्छ। पाठकको माया, प्रतिष्ठित पुरस्कारको प्राप्ति, समीक्षकहरूको समीक्षा तमाम कुरालाई मध्यनजर गर्दा धेरै हदसम्म लेखकीय दायित्व पूरा गरेको छु भन्ने लाग्छ। आगामी दिनमा समेत सामाजिक बहसका विषयलाई नै केन्द्रमा राखेर आफ्नो सामाजिक दायित्व पूरा गर्ने कोसिस गर्नेछु। अरू कुरा त समयले बताउला।

विश्वशान्तिको कामना किन र कसरी गर्नुभयो उपन्यासमा ?

मैले मेरो बचपन हत्या र विध्वंसका खबरले मात्रै बिताएको छु। मजस्ता लाखौं बालबालिकाको नियति त्यही थियो। दिनदिनै जस्तो बज्ने आक्रमण, मुठभेड, अपहरण, हत्या आदि खबरले बचपनका ती दिनहरू अत्यन्तै त्रासदीमय किसिमले गुज्रिएका छन्। त्यही त्रासदीको बिउ मेरो हृदयमा यतिबेला झाँगिए हुँदो हो र त्यही बालापनकाको समयका कारण युद्ध र युद्धको नियति केलाएको हुनुपर्छ मैले ऐँठनमा।

अनि, मानिसको चेतनालाई प्रश्न गरेको हुनुपर्छ मैले। आखिर, जीवनभन्दा सुन्दर अर्को चिज के नै छ र ? त्यो सुन्दर जीवनले शान्ति, समानता र स्वतन्त्रता नै त खोज्छ। केलाउँदाकेलाउँदै विश्वशान्तिको कामना गरेको हुँ।

दसबर्से युद्धबारे यावत् विषय र घटना बाहिरिइसक्दा पुनः ऐँठन कसले किन पढ्ने ?

त्यो पुस्ता जसले गृहयुद्धबारे सुनेको मात्र छ, त्यसले पराकम्पन अनुमानसम्म गर्न सक्तैन, त्यो पुस्ताले हामी कस्तो समयबाट गुज्रेर आएका रहेछौं भनेर बुझ्न र विश्लेषण गर्न जरुरी छ। उनीहरूले आजको समाजको उपलब्धि चुट्कीको भरमा भएको होइन भनेर बुझ्न अनिवार्य छ। हिंसात्मक गतिविधिबाट हल हुँदैन तर प्रेम र सद्भावले नै समाज बन्न सक्छ भनेर विचार गर्न पनि जरुरी छ। त्यो पुस्ता जसले गृहयुद्ध भोगेर आयो, उनीहरूले त्यो बितेर गएको कुरूप समयलाई सम्झिन जरुरी छ ता कि उनीहरू शासकलाई प्रश्न गर्न सकून् र समाज रूपान्तरणका लागि जवाफदेही बनून्। 

विशेषतः नेतृत्व वर्गले पढ्न जरुरी छ, किनकि उनीहरूले मनन् गरुन् कि समाजले चुकाएको मूल्य के कति रहेछ ? अनि त्यसको बदलामा समाजले उपलब्धि हासिल गर्न जरुरी छ कि छैन ? हो, त्यसैले उनीहरूलाई लापरबाही गर्ने कदापि छुट छैन। र अबका दिनमा कसैले पनि यस्तो हर्कत कहिल्यै नगरुन्। त्यसैले हरेकले ऐँठन पढ्न जरुरी छ। त्यसले हामीलाई पक्कै पनि कुनै न कुनै हिसाबले सतर्क बनाउनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.