नेपालगन्ज घटनाबारे गगन थापाले भने- सद्‍भाव भड्काउने कोसिस भयो

नेपालगन्ज घटनाबारे गगन थापाले भने- सद्‍भाव भड्काउने कोसिस भयो
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालगन्ज घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। नेपालगन्जमा सम्प्रदायिकता भड्काउने खालका गतिविधि भएको भन्दै उनले शान्ति सुव्यवस्था कायम गर्न सरकारसँग मागसमेत गरे। 

उनले नेपालगन्जमा सद्भाव भड्काउने प्रयास भएको बताए। ' धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नु परेको छ, जुन गम्भीर चिन्ताको विषय हो,' सामाजिक सञ्जालमा उनले भनेका छन्। 

धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव, सहिष्णुता तथा सहअस्तित्व कायम गरी समाजमा अविलम्ब शान्ति र सुव्यवस्था बहाल गर्न उनले सरकारसँग माग गरे। विश्व शान्तिका प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ। 'यो गौरवमय पहिचान र परम्परालाई हामीले कायम राख्नुपर्छ। त्यसैले हाम्रो देश नेपाल र हामी नेपालीको मौलिक र गौरवमय पहिचान, परम्परा र स्वभाव विपरीत धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव भड्काउने अवाञ्छित क्रियाकलापप्रति सचेत हुँदै शान्ति, सहिष्णुता तथा सहअस्तित्वको सन्देश प्रवाह गर्न सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायप्रति विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु,' उनले भने।

विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक सद्भाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधि भएको भन्दै उनले हामी सबैको मानवतावाद एउटै रहेको बताए। 'हामीहरूको धार्मिक आस्था फरक होला, पाठ गर्ने धार्मिक ग्रन्थ फरक होलान, प्रार्थना गर्ने मन्त्र फरक होला। तर आफ्नो धर्म, आस्था र प्रार्थना एउटै छ। त्यो हो- मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता, सदभाव तथा सहअस्तित्व,' उनले भने।
उनले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र भएको र आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई रहेको बताए। यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको उनको भनाइ छ। 

उनले सद्भाव भड्काउने खालका प्रचार सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रहसमेत गरेका छन्। ' धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव, सहिष्णुता तथा सहअस्तित्वमा प्रतिकूल प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गर्दछु। यदि हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेमा त्यस्तो षड्यन्त्रप्रति उत्तेजित नहुन तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि सविनय अनुरोध गर्दछु,' उनले भनेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.