सुदूरपश्चिममा ६.३ रेक्टरको भूकम्प : पालमुनि बास, छैन राहत

रातिसम्म परकम्प

सुदूरपश्चिममा ६.३ रेक्टरको भूकम्प : पालमुनि बास, छैन राहत
भूकम्पबाट बझाङमा भत्केका घर। घर भत्केपछि सडकमा रात कटाउँदै स्थानीय। भूकम्पकै बेला जिल्ला अस्पतालमा एक महिलाले बच्चालाई जन्म दिएकी थिइन्।   प्रताप ओली

बझाङ/अछाम/बाजुर : बझाङ दुर्गाथली–३ का ५५ वर्षीय चन्द्र रोकाया छिमेकीसँग कुराकानी गर्दै थिए, एक्कासि भुइँमा पछारिए। सुरुमा त उनलाई स्वास्थ्यका कारण यस्तो भयो कि भन्ने थियो। तर, गाउँलेबीच ‘भुइँचालो, भुइँचालोे’ भन्दै भागाभाग चलेपछि भुइँचालोका कारण आफू ढलेको थाहा पाए। ‘के भयो होला भनेर सोच्दै थिएँ,’ उनले भने, ‘भुइँचालो पो गएको रहेछ।’ त्यसपछि भाग्दै उनी घरतिर गए। घरको एक कुना त ढलिसकेछ। ‘कसरी बस्नु त्यस्तो घरमा ?’ दुःखेसो पोख्दै रोकायाले भने, ‘त्रिपाल टाँगेर खेतमा बसेका छौं। अब रात कसरी काट्ने हो ? घर कसरी बनाउने हो ?’

जयपृथ्वी–४ गोलाईस्थित बालविकास माविमा नियमित अध्ययन चलिरहेको थियो। एक्कासि विद्यालय भवन हल्लिन थालेपछि भागाभाग चल्यो। बालबालिकालाई कसरी बाहिर निकाल्ने भन्ने पिरलो भयो,’ शिक्षक नरेन्द्र उपाध्यायले भने, ‘विद्यार्थी बाहिर निकालेपछि विद्यालयको एउटा भवन नै गल्र्याम्म ढल्यो।’ त्यसपछि विद्यालयमा छुट्टी दियौं। तर, पटक–पटक भूकम्पको झट्काले घरसम्म कसरी पुग्ने भन्ने चिन्ता भएको शिक्षक उपाध्यायले बताए। ‘यस्तो त कहिल्यै महसुस गरेको थिइनँ,’ उनले भने, ‘अहिले पनि निरन्तर कम्पनहरू आइरहेका छन्। घरहरू भत्केका छन्। मानसिक रूपमै निकै तनाव भइरहेको छ।’ 

जलपृथ्वी–३  साजेगडाकी धनलक्ष्मी ओली कृषि फर्म नवीकरण गर्न सदरमुकाम पुगेकी थिइन्। जिल्ला अस्पताल पुगेपछि भूकम्प आयो। ‘चिच्याउँदै कराउँदै मान्छेको भागाभाग भयो,’ ओलीले भनिन्, ‘मलाई त के गरौं, के गरौं भयो। त्यसपछि केहीबेर भित्तामा अडिएर बसे।’ बल गरेर केही अगाडि मात्रै के बढेकी थिएन, फेरि भूकम्प आयो। ‘बल्लतल्ल घर त आइपुगियो। तर, कसरी सुत्ने हो,’ उनले भनिन्। 

एक्कासि भुइँमा पछारिए। के भयो होला भनेर सोच्दै थिएँ, भुइँचालो पो गएको रहेछ। चन्द्र रोकाया, दुर्गाथली–३ बझाङ

 

तत्कोट–१ सुनिकोटका ६२ वर्षीय सुनिकोटका ६२ वर्षीय वीरबहादुर ऐडी गोरु चराएर घर फर्किन खोज्दै थिए। काँधमा दाउराको भारी थियो। भुइँचालोले हल्लाएपछि आफू एकातिर, दाउराको भारी अर्कोतिर भयो। ‘पुच्छर हल्लाउँदै गोरु दौडिए,’ ऐडीले भने, ‘मलाई त डर लाग्यो। खुट्टा थरर काप्न थाले। जिन्दगी यत्ति हो भन्ने सोचे। तर, धन्न बाँचिएछ।’ भूकम्प गएको गयै भएकाले मनमा डर कायमै रहेको उनले बताए।

बझाङमा मंगलबार बिहानैदेखि मौसम राम्रो थिएन। स्थानीयहरू आफ्नै धुनमा दैनिकी गुजारिरहेका थिए। दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गयो। तल्कोट केन्द्रबिन्दु भएर भूकम्प गएपछि स्थानीयमा हल्लीखल्ली मच्चियो। करिब ८ सेकेन्डको कम्पनपछि स्थानीयमा भागाभाग चल्यो। त्यो बेला अधिकांश स्थानीय घर बाहिरको काममा व्यस्त थिए। घरमा रहेकाहरू पनि घरबाट निस्किए। ३ बजेर ६ मिनेटमा त ठूलै भुइँचालो आयो। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु सदरमुकाम चैनपुर आसपास थियो। ६ दशमलव ३ रेक्टर स्केलको उक्त भुइँचालोले स्थानीयका घर, स्कुल, सामुदायिक भवनलगायतका भौतिक संरचनामा क्षति पुर्या‍यो। बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र रहेकाले सदरमुकाममा ठूलै झट्का महसुस भयो।

विद्यार्थी बाहिर निकालेपछि विद्यालयको एउटा भवन नै गल्र्याम्म ढल्यो। त्यसपछि विद्यालयमा छुट्टी दियौं। नरेन्द्र उपाध्याय, शिक्षक, बालविकास मावि, बझाङ 

सदरमुकामवासीमा आतंक नै मच्चायो। चैनपुरमै २० भन्दा बढी घर भत्के। ठूलो संख्यामा घर भत्केपछि सदरमुकाम चैनपुर धुलो र धूवाले भरियो। चराचुरुंगी र जनावर पनि कराउन थाले। ‘यता यति क्षति भयो, उता यति घर भत्के’ भनेर सर्वसाधारणबीच हल्लीखल्ली भयो। दिउँसोको समय र सबै घर बाहिरको काममा व्यस्त रहेकाले मानवीय क्षति भने हुन पाएन। भूकम्पबाट जिल्लाका तलकोट, मष्टा, खप्तडछान्ना, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदास्र्यु, बित्थडचिर, बुगललगायतका गाउँमा स्थानीयका अधिकांश घरमा क्षति पुगेको छ। भूकम्पबाट खप्तडछान्नाको खडिमेलामा सुक्खा पहिरो गएको छ। पहिरोपछि उक्त क्षेत्रमा धूवा र धुलोको मुस्लो निस्केको थियो। 

null स्थानीयहरू खुला चौर र सडकमा जम्मा हुन थाले। केही क्षणमै पुनः मस्टा गाउँपालिकाको भातेखोला आसपास केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गयो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार त्यसयता १२ वटा पराकम्पन गएका छन।  भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको खुला प्राङ्गणमै सुत्केरी गराइएको थियो। अस्पतालका डाक्टर मेडिकल सुपरिटेन्डेन्ट नवराज जोशीका अनुसार तलकोट गाउँपालिका–१ गोथीचौरकी २० वर्षीया मनीषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिइन्। नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनीषा र बच्चाको अवस्था सामान्य रहेको मेसु जोशीले जानकारी दिए।

बझाङमा धेरै घर र विद्यालय भत्किएकाले धेरैजसो विस्तापित भएका छन्। स्थानीयहरू घर र विद्यालय फर्कन सक्ने अवस्था नभएको नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाका सभापति रामदत्त उपाध्याय बताउँछन्। भूकम्पछि स्थानीयहरू खुला आकाश र पालमुनि बास बसिरहेका छन्। स्थानीय तहले भूकम्प पीडितका लागि अलिअलि राहत बाँडिरहे पनि पर्याप्त नभएको स्थानीयको गुनासो छ। बझाङका सांसद भानुभक्त जोशीले जिल्लाभरी घरहरू भत्केको र बास बस्नै कठिनाइ भएको बताए। उनले सुरक्षित बास बस्न आग्रह गर्दै स्थानीय तह, प्रदेश र केन्द्र सरकारलाई अविलम्ब राहत र उद्धारका कार्य गर्न आग्रह गरेका छन्। 

एक बेपत्ता, १७ घाइते 

बझाङमा मंगलबार गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। जयपृथ्वी नगरपालिका–११ ओखल टोलमा घरनजिकै टिमुर टिप्न गएकी ४५ वर्षीया गुनमती धामी बेपत्ता भएकी छिन। भूकम्पको कम्पनले सुक्खा पहिरो गएको थियो। पहिरोबाट खसेको ढुंगा लागेर उनी बेपत्ता भएको स्थानीयको भनाइ छ। उनको अवस्था अझै अज्ञात छ। भूकम्पका कारण जिल्लाका विभिन्न पालिकामा १७ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए। उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीको जिल्ला अस्पताल र केहीको नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

गोरु चराएर घर फर्किन खोज्दै थिए। काँधमा दाउराको भारी थियो। भुइँचालोले हल्लाएपछि आफू एकातिर, दाउराको भारी अर्कोतिर भयो। पुच्छर हल्लाउँदै गोरु दौडिए। वीरबहादुर ऐडी,तत्कोट–१, सुनिकोट 

भूकम्पका कारण ३१ वटा निजी घर, केही विद्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक भवनहरू भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासनले जनाएको छ। भूकम्पका कारण जयपृथ्वी राजमार्गमा सुुक्खा पहिरो गएको थियो। पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। उनका अनुसार जयपृथ्वी राजमार्गका धेरैजसो ठाउँमा चिरा परेका छन। भूकम्पका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको थियो। विद्युत् भने साँझ सुचारु भइसकेको छ। 

स्कुलको भवनबाट हाम फाले विद्यार्थीले 

बान्नीगढी–६ दर्नास्थित विन्देवासिनी माध्यमिक विद्यालयमा मंगलबार नियमित पढाइ भइरहेको थियो। भूकम्प आएपछि विद्यालयमा हल्लीखल्ली भयो। विद्यार्थी र शिक्षकबीच भागाभाग चल्यो। अत्तालिँदै भवनको माथिल्लो तलाबाट हाम फाल्दा विद्यार्थी सन्तोष साउद घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। अछाममा भूकम्पले झड्काले स्थानीयवासी त्रसित छन्। गत कात्तिकमा भूकम्पले चिराचिरा पारेका घरमा स्थानीय बस्न डराइरहेका छन्। जिल्लाका धेरै स्थानमा स्थानीयहरू त्रिपाल टाँगेर रात कटाउने तयारीमा छन्। प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले भूकम्पबाट स्थानीयका घर र विद्यालयमा क्षति पुगेको जानकारी दिएका छन्। बझाङ केन्द्रबिन्दु भएर गएका भूकम्पले अछामको जनजीवन दिनभर त्रसित रह्यो। भूकम्पको डरले घर छोडेर बाख्राको गोठमा बस्नुपर्ने अवस्था आएको साँफेबगरकी जमुना आउजीले बताइन्। भूकम्पले जमुनाको घरको गह्रो भत्किएको छ। बान्नीगढी–३ का नवराज साउदले गत कात्तिकमा गएको भूकम्पले चिराचिरा परेका घर पुनर्निर्माण गर्न नपाउँदै फेरि भूकम्प आएकाले स्थानीयवासी त्रसित बनेको बताए। ‘हाम्रो गाउँका अधिकांश घर पहिल्यैकै भूकम्पबाट चिरा परेका थिए,’ साउदले भने, ‘फेरि भूकम्प आउन थालेपछि घरमा बस्न मान्छेहरू डराइरहेका छन्। त्रिपाल टाँगेर स्थानीयहरू बास बसिरहेका छन्।’ गत वर्षको कात्तिकमा लगातार भूकम्प गएपछि अछामका अधिकांशले एक महिना घर बाहिर त्रिपालमा रात कटाएका थिए। 

बाजुरामा दर्जन बढी घर भत्किए, दुई घाइते

बाजुरामा भूकम्पका कारण दुई जना घाइते भएका छन्। मंगलबार दिउँसो बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर आएको भूकम्पले बाजुरामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

nullघाइते हुनेमा बडिमालिका नगरपालिका–९ का ८ वर्षीय प्रलोप डिजी छन्। घरको आँगनमा खेलिरहेको बेला छतबाट खसेको ढुंगा टाउकोमा लागेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। त्यस्तै खप्तड छेडेदह गाउँपालिका–४ का सुन्दर सार्की विद्यालयको सिँढीबाट लडेर घाइते भएका छन्। सदरमुकाम मार्तडीस्थित मालिका माविमा अध्ययनरत सार्की भूकम्प आएपछि भाग्ने क्रममा विद्यालयको सिँढीबाट लडेका थिए। 

घाइते प्रलोपको टाउकोमा दुइटा टाँका लगाइएको छ। घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै भूकम्पका कारण जिल्लामा दर्जन बढी घर भत्किएको प्रहरीले जानकारी दिएको छ। बडिमालिका–९ का जित चदाराको दुईतले घर र सोही वडाका भुपेस सनाइको घरमा आंशिक रूपमा क्षति पुगेको छ। खप्तड छेडेदह–७ का लालबहादुर ओली र दिनेश ओलीको घरको पछाडिको भाग भत्किएको छ। बुढीगंगा नगरपालिका–६ सायलका भक्त गिरी, वडा नं १ का मनवीर रावलको घर, चन्द्र रावलको भैंसी बाँध्ने छानो,  वडा नं ५ का दल शाह र वडा नं ४ का बल कटुवालको घर पनि आंशिक रूपमा भत्किँदा जोखिममा परेको प्रहरीले जनाएको छ। त्यस्तै बुढीगंगा नगरपालिका–५ मा रहेको टाटे स्वास्थ्य चौकीको प्रसूति भवनको पानी राख्ने ट्यांकीको वाल भत्किएको छ भने पानी तताउने सोलार प्यानल पूर्णरूपमा क्षति भएको छ। 

बुढीगंगा नगरपालिका–७ का चक्र केसी बुढीगंगा नगरपालिका–९ का कोकिला सिंह, पदमबहादुर सिंहको घर पूर्णरूपमा क्षति भएको र वडा नं ६ का  नवीन गिरीको घर पनि चर्केको प्रहरीले जानकारी दिएको छ। त्यस्तै भूकम्पले खप्तड छेडेदह गाउँपालिका–३ मा २० बढी घर भत्किएका वडा अध्यक्ष बिर्कबहादुर रावतले बताएका छन्। 

भूकम्पका कारण जिल्लाका विभिन्न पालिकाकामा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। भूकम्पको केन्द्र बिन्दु बझाङ भएका कारण बझाङसँग सीमा जोडिएका बुढीगंगा, खप्तड, छेडेदह, गौमुल गाउँपालिकामा बढी क्षति भएको हो। भुइँचालेको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो। प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पका कारण मान्छेहरू सडकमा निस्किएका थिए। सुदूरपश्चिमका ९ वटै जिल्लाका अधिकांश मान्छे घर छोडेर त्रिपालमा बास बसिरहेका छन्। एक वर्षयता सुदूरपश्चिममा साना ठूला गरी दर्जनौं भूकम्पका धक्का महसुस गरिएका छन्।

null

प्रताप ओली 
गीता कुँवर 
पदमबहादुर सिंह  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.