भूकम्पका कारण डडेल्धुरामा आधा दर्जन बढी घरमा क्षति

डडेल्धुरा : बझाङमा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पको धक्काले डडेल्धुराका आधा दर्जन बढी घरमा क्षति पुगेको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको एक, गन्यापधुरा गाउँपालिकाका दुई र नवदुर्गा गाउँपालिकाका चारवटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
गन्यापधुरा गाउँपालिका-३ का दुई घरमा आंशिक क्षति पुगेको खबर आएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए। उनका अनुसार घरको एक तर्फको पर्खाल भत्किएको छ। नवदुर्गा गाउँपालिका-३ का दुई वटा घर, वडा नम्बर ४ का पनि दुई वटा घरमा क्षति पुगेको खबर प्राप्त भएको डीएसपी कार्कीले बताए।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-७ ऐरी गाउँस्थित कोलगडामा एक घर भत्किएको छ। कोलगडामा पण्डित टिआर भट्टको घर भत्किएको छ। घर भत्किँदा अन्नपात र लुगाकपडा पुरिएको भट्टले बताए।
बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङमा त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो।
प्रतिक्रिया दिनुहोस !
