लगानीकर्ता सप्ताह सुरु, च्याटबटको उद्घाटन
ललितपुर : ‘विश्व लगानीकर्ता सप्ताह’ को उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन्। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्वमा मनाइने सप्ताह ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रम गरी उद्घाटन गरिएको हो।
सो क्रममा अर्थमन्त्री महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताए। लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिए।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा वित्तीय साक्षारता क्षेत्रमै न्यून २० प्रतिशतभन्दा कम रहेको बताउँदै यसलाई बढाउन सबै निकाय र पक्षले भूमिका खेल्न जरुरी रहेको औंल्याए। धितोपत्र बजारमा लगानीका नयाँनयाँ औजार विकास भएको दाबी गर्दै उनले भने, ‘सूचना प्रविधि क्षेत्रको क्रान्तिले नयाँ अवसरसँगै चुनौती पनि आएको छ। त्यसमा हामीले आफूलाई पनि तयार राख्नुपर्छ।’
लगानीकर्ता सप्ताहको सुरुवात गर्ने क्रममा बोर्डले सोमबारदेखि लगानीकर्ता शिक्षा र गुनासो सुनुवाइका लागि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ।
अर्थमन्त्री महतले च्याटबोट सुरु हुनु भनेको सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ हुनु रहेको जिकिर गरे।
सोमबार सुरु भएको लगानीकर्ता सप्ताहका रूपमा एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाउने योजना रहेको छ। नेपालमा धितोपत्र बोर्डले धितोपत्र नियमनकर्ताहरूको अन्तर्राष्ट्रिय संगठन (आईओएससीओ)को आह्वानमा नेपालमा विधि कार्यक्रम गरी लगानीकर्ता सप्ताह मनाएको हो।
आईओएससीओले २०२३ मा विश्व लगानीकर्ता सप्ताह अक्टोबर २ देखि ८ सम्म मनाउन आह्वान गरेका थियो जसअनुसार बोर्डले लगानीकर्ताको शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्तालाई सशक्तीकरण गर्ने उद्देश्यले देशव्यापी रूपमा असोज २१ सम्म मनाउने योजना बनाएको छ।
सप्ताहमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई लगानी शिक्षा, सचेतनालगायत बजार विकास तथा सुधारका विविध पक्षका सम्बन्धमा देशव्यापीरूपमा लगानीकर्ताहरूको शिक्षा तथा सचेतना अभिवृद्धि हुनेछ।
लगानीकर्ताको सशक्तीकरण गर्ने उद्देश्यले आईओएससीओले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउँदै आएको छ। धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हक हित सुरक्षण गर्ने मुख्य उद्देश्य लिएको बोर्डले यस प्रयोजनका लागि धितोपत्र बजारसम्बन्धी सूचना तथा गतिविधिहरू सर्वसाधारणमा प्रवाह गर्दै बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न यो सप्ताह महŒवपूर्ण छ।
सेयर बजारका विविध विषयमा केन्द्रित रही मनाइने विश्व लगानीकर्ता सप्ताह २०२३ मा बोर्डको अगुवाइमा नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर एसोसियसन, स्टक ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ संस्था, स्टक डिलर तथा पीईभीसी कोष व्यवस्थापकसमेतको सहभागिता रहनेछ।
विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना, गतिविधि तथा महहŒवका बारेमा आम लगानीकर्ताहरूमा व्यापक सञ्चार भई उनीहरूमा यस बजार प्रवेश गर्न उत्साही हुने, वित्तीय साक्षरतामा अभिवृद्धि भई लगानीकर्ताले सुसूचित निर्णय लिन सक्ने र यसबाट पुँजीबजारमा स्थिरता अभिवृद्धि हुन सहयोग पुग्ने विश्वास बोर्डले जनाएको छ।