
नेपालगन्ज : पूर्व–पश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा गुड्ने सवारीमा टाइम कार्ड लागू भएको छ । यसअघि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागू भइसकेको छ ।
पूर्व- पश्चिम राजमार्गको निकुञ्ज क्षेत्रको ओभरीस्थित नेपाली सेनाको अर्जुनवाण गणको चेकप्वाइन्टदेखि अर्जुनवाण गणको सुरक्षा पोष्ट खैरीसम्मको १५ किलोमिटर क्षेत्रको सडक खण्डमा सोमबार बिहान ८ :३० बजेदेखि कम्तीमा २३ देखि बढीमा २८ मिनेटको समय लाग्ने गरी सवारी साधनमा टाइम कार्ड लागू भएको हो ।
बाँके निकुञ्जका कार्यवाहक वार्डेन तथा सूचना अधिकारी अर्जुन भुसालले टाइम कार्डको शुभारम्भ गरेका थिए । यसअघि गत २४ भदौको अंकमा अन्नपूर्ण पोस्ट्को प्रथम पृष्ठमा 'निकुञ्जमा टाइम कार्ड नहुँदा बढिरहेछन् दुर्घटना' शीर्षकको समाचार प्रकाशित भएको थियो ।
त्यसपछि बाँके राष्ट्रिय निकुञ्जलगायतका सरोकारवाला निकाय निकुञ्ज क्षेत्रमा टाइम कार्ड लगाउनेबारे चासो दिएका थिए । २५ भदौमा इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्यूनीकरणको लागि यातायात व्यवसायी तथा सरोकारवालासँग छलफल पश्चात निकुञ्ज क्षेत्रमा सवारी दुर्घटनाबाट हुने धनजनको क्षति कम गर्नको लागि टाइमकार्ड लगाउने विषयमा सरोकारवालासँग छलफल गरेको थियो ।
९ असोजमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णय बमोजिम ३२औँ जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकको निर्णय बमोजिम बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्गमा सवारी साधनको तीव्र गतिको कारण सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने क्रम बढिरहेको हुँदा उक्त राजमार्ग भएर चल्ने सवारी साधनको गति नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्ज नियमावली २०७१ मा भएको व्यवस्था अनुसार टाइम कार्ड लगाउने निर्णय भएको नेपाली सेनाको अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काले बताए। ‘निकुञ्ज क्षेत्रमा गाडीले स्पिड नबढाउन भनेर परुवा खोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा ठाउँ ठाउँमा सेनाको मोबाइल टोली खटाएर स्पिड चेकजाँच गर्ने काम पनि भइरहेको छ’,गणपति खड्काले भने,‘हामीले ५०–६० जना चालकसँग कुरा गर्दा झन्डै ८०–९० प्रतिशतले टाइम कार्ड आवश्यक भएको प्रतिक्रिया दिएका छन् ।’ नि
कुञ्ज क्षेत्रमा टाइम कार्ड लागू भएपछि दुर्घटनाबाट हुने मृत्यु रोकिने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले बताए। उनले भने,‘निकुञ्ज क्षेत्रमा भएका अधिकांश दुर्घटना हाइस्पिडका कारण भएको छ । टाइम कार्ड लागू हुने बित्तिकै दुर्घटनाको दर स्वात्तै घट्ने देखिन्छ । गाडी चालकहरूले पूर्णरुपमा पालना गरेर यो अभियानलाई सफल बनाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस !
