आन्दोलन शब्दले नै आतंकित बन्न थाल्यौं
कतै समाचारतिर आन्दोलन भन्ने शब्द आयो कि, बानेश्वर क्षेत्रका व्यवसायी आतंकित हुने अवस्था छ। दिनहुँ भइरहेका आन्दोलनका कारण बानेश्वर क्षेत्रको व्यापार चौपट छ। न सरकारले क्षतिपूर्ति दिन सक्छ, न त व्यवसायीले नै त्यसको पूर्ति गर्न सक्छौं। हामी भन्छौं– ‘अब त अति भयो।’ सरकारले बानेश्वरमा हुने आन्दोलनमा रोक लगाउनैपर्छ। सरकारले धर्ना-आन्दोलनका लागि एउटा निश्चित क्षेत्र तोक्नुपर्छ।
१. राजनीतिक दल, संघ–संस्था र युवा विद्यार्थीको आन्दोलनको रोजाइ बानेश्वर बनिरहेको छ। त्यति मात्र होइन, आत्मदाह गर्न खोज्ने पनि बानेश्वर क्षेत्र नै रोज्न थाले। हरेक दिन साना-ठूला कुनै न कुनै आन्दोलन-धर्ना बानेश्वरमा चलिनै रहेका हुन्छन्।
२. आन्दोलनले होटल र चियापसलको कारोबारलाई फाइदा पुर्याउला। तर, अरू व्यवसायीलाई रुनु न हाँस्नुको अवस्था छ। अर्को कुरा, आन्दोलनका क्रममा ढुंगामुढा हानाहान हुँदा व्यापारीको सामानमा क्षति पुग्छ। त्यसको पूर्ति कसले गरिदिने ? बानेश्वर भनेको त देशकै मुख्य व्यापारिक क्षेत्र हो। यस्तो ठाउँमा हरेक दिन आन्दोलन भइरहनु उचित हो र ?
३. एक सातादेखि शिक्षकहरूको आन्दोलन चलिरहेको छ। यसबाट हामी एकदमै पीडित छौं। यसबेला ६० प्रतिशत व्यापार हुन्थ्यो। तर, दिनभर आन्दोलन चल्न थालेपछि ३० देखि ४० प्रतिशत मात्रै व्यापार हुन्छ। अर्कोतिर देशमा आर्थिक मन्दी छ। हामी बैंकबाट ऋण ल्याएर व्यवसाय गरिरहेका छौं। तर, व्यवसाय नै गर्न नपाएपछि कसरी बाँच्ने हो ? सरकारले जवाफ दिनुपर्छ।
४. जसले पनि न्याय पाउँ भनेर आन्दोलन गर्छन्। त्यसबाट हजारौं सर्वसाधारण अन्यायमा पर्छन्। अब त समाधान खोजौं ।
(जोशी, बानेश्वरका रेडिमेड कपडा पसल व्यवसायी हुन्)