मनका छाउगोठ भत्किने कहिले ?

मनका छाउगोठ भत्किने कहिले ?
फाइल तस्बिर।
सुन्नुहोस्

समाचार सुन्दै थिएँ। प्रमुख समाचार थियो, गाउँगाउँका छाउगोठ भत्किँदै। त्यसै समयमा मोबाइलमा घण्टी बज्यो। कुरा गर्दै गर्दा साथीले भनिन्– ‘छाउगोठ भत्काउने अभियान चलिरहेछ। हप्ता दिन भयो। छाउगोठ भत्काउन प्रशासनको टिमसँग हिँडेको। ९०-९५ छाउगोठ भत्काइसकियो।’ प्रश्न गरें, छाउगोठ भत्काउन सहज छ ? उनले भनिन्, ‘हैन, कस्तो कठिन छ। यी छाउगोठ नभत्काउनु हामी अब त्यहाँ बस्दैनौं, भन्छन्। कसैले त तपाईंका घर आउँछौंसम्म भने।’ कौतुहलता बढ्यो। पुन प्रश्न गरें, छाउगोठ भत्काउन हिँड्दा के देख्नुभो ? साथीले भनिन्, ‘यी आँखाले देख्ने बाहिरी छाउगोठ त भत्किए। मनका छाउगोठ भत्कन बाँकी छन्।’

जिल्ला प्रशासनको टिम गएर घरघरका छाउगोठ भत्काउँदै हिँडे पनि त्यहाँका दिदीबहिनीको कहालिलाग्दो कथा छ। महिला ‘पर’ सर्दा पञ्चपुरी सुर्खेतका महिला कतै शौचालयभित्र रात बिताउँदै छन् त कतै बारीका कुनामा स्याउलाका झुप्रोमा। छाउगोठ भत्केपछि महिनावरी हुँदा महिलाले न खरभित्र बस्छौं भन्न नै सके न घरका सदस्यले घरमा बस भनेका छन्। झन् अन्योलमा छन् महिला ! फोनमा कुरा टुंगिएको छैन। साथीले थपिन्। म जुन घरमा बस्छु, त्यही घरको आमाको गुनासो छ– नानी छाउगोठ आएर भत्काइदिए। घरमा बस्यो भने देउता रिसाउँछन्। अनिष्ट हुन्छ। सम्झाए पनि आमाले देवता रिसाउने र अनिष्ट हुने कुरा गरिरहनु भयो। यहाँका दिदीबहिनी अझै अमानवीय जीवन बिताउन विवश छन्। उनीहरूलाई कानुनसँगको डर छैन। तर देवतासँगको डर छ।

फोनमा कुराकानी सकिएसँगै १२ वर्षअघिको घटना याद आयो। म विवाहमण्डपमा बस्ने तयारीमा थिएँ। त्यहीबेला ‘छुई’ भएँ। विवाहको धूमधाम तयारी छ। भन्ने कि नभन्ने अलमलमा परेँ। नुहाइधुवाइ गरेँ। कसैलाई नभनी मण्डपमा बसे। मनभित्र भने पूजा गर्दा, पुरुषसँगै छोएर हिँड्दा केही होला कि भन्ने डर भइरह्यो। किनकि समाजले छुई हुँदा सबैबाट टाढा राखेको छ। देउता रिसाउँछन् भन्ने सिकाएको छ। प्रश्न उब्जन सक्छ– यस्तोसम्म गर्ने ? धर्म नष्ट गर्न खोज्ने ? किनकि समाजले यही कुसंस्कार मान्दै आएको छ। यस्तो गर्न सक्ने म र छाउगोठमा रात बिताउन विवश गराउने समाजलाई तुलना गर्न मन लाग्यो। र, भन्न मन लाग्यो– ‘म र मेरो समाजमा के फरक छ ?’

छाउगोठ भत्काउने खबर सुनिरहँदा एकातिर असाध्यै खुसी लागेको छ भने अर्कोतिर शौचालय र बारीमा रात बिताएको पीडा सँगै छ। सामाजिक कुरीतिको रूपमा रहेको छाउगोठमा बस्ने प्रचलन पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्छ। विगतका कुसंस्कार सधैंका लागि अन्त्य गर्ने योजनामा लागेका सम्पूर्ण मानवप्रति ‘सलुट’ छ। गाउँका पढेलेखेका युवा यस अभियानमा लागे पनि अघिल्लो पुस्ताले साथ दिएको छैन। शिक्षित परिवारकै घरमा छाउगोठ भत्काए पनि घरभित्रको चुल्हो र पूजास्थलमा छुई हुँदा जान पाइँदैन। शिक्षकले छाउगोठलाई कुप्रथा भन्दै पढाउने तर घरमा छोरी, बुहारी र श्रीमतीलाई केही दिनसम्म घरको मूलढोकामा बस्न रोक लगाउँछन्। अनि कसरी हुन्छ परिवर्तन ?

आत्मादेखि राम्रो सोचविचार र संस्कारहरू बदल्न जरुरी छ। छाउगोठ भत्काउन सुरु गरिए पनि मानिसभित्र रहेको चेतना परिवर्तन नभएसम्म अर्थात् त्यो कालो धब्बा नहटेसम्म भान्छामा बस्न नपाउने अवस्था उस्तै रहन्छ। कुपरम्परालाई मनैदेखि हटाउन जरुरी छ। यसमा राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यता हटाउन संगठित भएर लाग्नुपर्छ। छाउगोठ भत्काउने अभियान जुन ढंगले चल्नुपर्ने हो, त्यसरी चलिरहेको छैन। सर्वप्रथम त अशिक्षित र अज्ञानताले त्यो ढुंगाको मूर्ति पुज्ने र कहिले कसैले नदेखेका देवता रिसाउँछन् भन्ने अन्धविश्वासलाई छर्लंग पार्न जरुरी छ। अर्को, हाम्रो समाजमा अझै पुरुषवादी सोच हाबी छ।

त्यसैले अब यो अभियानमा अग्रसर महिलासँगै पुरुषहरूलाई मुख्यगरी भूमिका निर्वाह गर्न दिनुपर्छ। ती घरभित्र राखिएका निर्जीव देवताहरूलाई घरबाहिर मन्दिर बनाएर राख्ने छुई हुँदा महिला घरभित्र बस्ने व्यवस्था स्थानीय सरकारले अभियान चलाउनुपर्छ। रगत रातो हुन्छ। चाहे छुई हुँदा होस् या हात काट्दा। छुईको विषयमा जुन अन्धविश्वास छ, त्यसलाई तोड्नुपर्छ। छाउगोठ भत्काए जस्तै मनभित्रको छाउगोठ भत्काउन परिवारबीचको छलफल जरुरी छ। छुई हुँदा दाजुभाइ, दिदीबहिनी, बाबुआमा सबैलाई छुन हुन्छ। देख्न नहुने, भेट्न नहुने, घरभित्र पस्न नहुने भन्ने कुरालाई चिर्न जरुरी छ।

छुई हुँदा महिला कमजोर हुन्छन्। त्यसबेला स्याहार र पौष्टिक आहारको आवश्यकता पर्छ। सरसफाइको आवश्यकता पर्छ। ती कुरा परिवारबीच किन छलफल नगर्ने ? प्राकृतिक प्रक्रिया भएकाले छुईलाई सरल रूपमा लिनुपर्छ। विद्यालय होस् वा घर, सबैले खुलेर कुरा गर्ने अवस्था सिर्जना गर्न सके छाउगोठ आफंै भत्किन्छ। नत्र छाउगोठ भत्काउने र बनाउने क्रम चलिरहन्छ। छाउगोठमा मर्ने छोरीचेलीको समाचार आइरहन्छ। हिजोका दिनहरूमा पनि विभिन्न संघसंस्थाले छाउपडी प्रथा उन्मूलन अभियान नगरेका होइनन्। त्यही प्रथालाई मुख्य आधार मानी गरिएका विभिन्न कार्यक्रमको कुनै औचित्य देखिएन। त्यसैले सरकार र संघसंस्थाले अब गर्ने अभियान भनेको आँखाले देखिने भौतिक छाउगोठ मात्रै हैन, भित्री अदृश्य छाउगोठ भत्काउन एकजुट हुन जरुरी छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.