सेयर बजारमा फेरि बहार, हाइड्रोमा आकर्षण

काठमाडौं : सेयर बजारमा फेरि बहार आएको छ। तीन दिनको सुधार र दुई दिनको करेक्सनपछि नेप्से परिसूचकले मंगलबार उकालो यात्रा तय गरेको हो। तीन दिनमा ६४.८४ अंकले बढेर २५.३१ अंकले घटेको बजार मंगलबार १८.४५ अंकले बढेको छ।
नेप्से अघिल्लो साताको सोमबार ४.२६, बुधबार १६.२४ र बिहीबार ४४.३४ अंकले बढेको थियो भने यस साताको आइतबार १९.४२ र सोमबार ५.८९ अंकले घटेको थियो।
मंगलबार साढे १७ अंकको सुधार आउँदा नेप्से परिसूचक २०२२.९१ अंकमा पुगेको छ। यस्तै सेन्सिटिभ इन्डेक्स २.५६ अंकले बढेर ३८६.२४ अंकमा पुगेको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ। मंगलबार २ सय ८६ स्क्रिप्टको ८७ लाख ४ हजार ४ सय ७७ कित्ता सेयर २ अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भयो। सोमबार बजारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।
दोहोरो अंकले उकालो लागेको सेयर मनकामना हाइड्रो र मेन्छियाम हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। दुई कम्पनीको मूल्य १० प्रतिशतले बढ्दा थप चार कम्पनीको मूल्य करिब १० प्रतिशतले बढे। कारोबारमा आएका १३ समूहमध्ये १२ वटाको उपसूचक बढ्दा जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण रह्यो। होटल तथा पर्यटन समूहको उपसूचकमा भने गिरावट आयो।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रह्यो। बैंकको ८ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच हुँदा सन् नेपाल र रिलायन्स लाइफको सात करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। दुई जीवन बिमाको सेयर १९ हजारभन्दा बढी पटक कारोबार भए। नेप्से बढ्दा लगानीकर्ताका कुल सेयर सम्पत्ति ३० खर्ब ६६ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस !
