जुडोमा नेपालको यात्रा समाप्त
हाङचाओ : १९औं हाङचाओ एसियाली खेलकुदअन्तर्गत जुडोमा नेपालको यात्रा समाप्त भएको छ। मंगलबार दुई खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो।
जियोसन लिन्पु जिम्न्याजियममा भएको पुरुष १०० केजीमाथिको तौल समूहमा नेपालका राजेश गोले इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वार्टरफाइनलमा काजकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमै हराएका हुन्। यसैगरी महिला ७८ केजीमाथिको तौल समूहमा आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा पराजित भइन्। प्रिक्वार्टरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिक्न सकिन्।
जुडोमा नेपालबाट चार पुरुष र चार महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यसअघि पुरुषतर्फ विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए। महिलामा मनिता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो।
सहभागीमध्ये विकासले मात्र एक ‘बाउट’ जितेका थिए। उनले ६० केजी तौल समूहको अन्तिम ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए।