रग्बीमा अन्तिम स्थान

हाङचाओ : एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल जितविहीन बनेको छ। रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा समेटिएको हो।
मंगलबार ९–१३ औं स्थान निर्धारणका लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो। हाङचाओ नर्मल युनिभर्सिटी कान्क्विन एथलेटिक्स फिल्डमा भएको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथलेट टिमसँग ६८–० ले पछि परेको हो।
अन्तर्राष्ट्रिय रग्बी संघबाट प्रतिबन्धमा परेको श्रीलंकाले एसियाली ओलम्पिक कमिटीको नामबाट खेलेको हो। रग्बीमा नेपालले खेलेको सबै ६ खेलमा हार बेहोरेको छ। ६ खेल खेल्दा नेपालले समूह चरणमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो। उक्त खेलमा नेपाल ५५–७ ले पराजित भएको थियो। समूह ‘डी’मा नेपाल चीनसँग ६५–० र अफगानिस्तानसँग ४१–० ले पराजित भयो।
समूह चरणमा तीन वटै खेलमा पराजित नेपालले समूह चरणबाट बाहिरिएपछि ९ देखि १३ औं स्थान निर्धारणका लागि भएको अन्य तीन खेल खेलेको थियो। जसमा फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० ले पराजित भयो। रग्बीमा नेपालसहित १३ राष्ट्र सहभागी थिए। रग्बीमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो।
प्रतिक्रिया दिनुहोस !
