तेक्वान्दोमा आशासँगै निराशा

हाङचाओ : हाङचाओ एसियाली खेलकुदको चौथो दिन मंगलबार तीन नेपाली तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका थिए। लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनिको तौल समूहअन्तर्गत अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा भने पराजित हुन पुगे।
उनले इष्ट टिमोरका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका थिए। प्रिक्वार्टरफाइनलमा भने उनी थाइल्यान्डका बानलुङ टुबतिम्दाङसँग २–० ले पराजित भए।
यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनीको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन्। महिला ५७ केजीमुनिको अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह पनि लेवनानकी लाइतितिया आउनसँग २–० ले पराजित भइन्। यसअघि भएका खेलमा पुम्सेमा दुई र ग्योरोगीमा दुई गरी नेपालका चार खेलाडी बाहिरिसकेका छन्।
पुम्सेमा प्रेमबहादुर लिम्बू र ग्योरोगीमा अञ्जली तामाङले पहिलो चरणका खेलमा जित निकाले पनि दोस्रो चरणका खेलामा त्यसलाई दोहोर्याउन सकेनन्। पुरुष ५८ केजीमुनिको तौल समूहमा राहुल कुमाल पहिलो चरणमै साउदी अरेबियाका नासिर अहमदी रियादसँग पराजित हुँदा महिला एकल पुम्सेमा प्रतिस्पर्धा गरेकी स्वस्तिका तामाङले पनि दोस्रो चरण पार गर्न सकिनन्।
प्रतिक्रिया दिनुहोस !
