'गरिब होइन गरिबी हटाऊ' भन्दै फुटपाथ व्यापारीको प्रदर्शन
काठमाडौं : फुटपाथ व्यवसायीहरू आन्दोलित भएका छन्। काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न निषेध गरेपछि उनीहरू आन्दोलित भएका हुन्। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह अगाडि सडकमा भेला भएर धर्नामा बसेका छन्।
फुटपाथ व्यापारीको विकल्पको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा उभिइरहेका अभियन्ता ई:को समर्थन गर्दै उनीहरूले धर्ना सुरू गरेका हुन्।
'बालेन -सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो ?सडक-साइकल-गाडा परम्परागत मजदरउद्यमीलाई विस्थापित गर्न बन्द गर। विकल्प देऊ,गरीब होइन गरिबी हटाऊलगायतका नारा लेखेका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनकारीहरूले आफ्ना समस्याबारे काठमाडौं महानगरका मेयर शाहलाई जानकारी गराउँदा पनि वेवास्ता गरेको आरोप लगाएका छन्। आन्दोलनमा सहभागी व्यापारीले भनिन्,'हाम्रो माग केही होइन। हामीले व्यापार व्यवसायी गर्न पाउनुपर्छ भन्ने हो। गरिखान पाउनुपर्छ। अधिकार हनन् गर्नु हुँदैन।'
फुटपाथ व्यापारीको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेताहरू,अभियन्तालगायतले ऐक्ववद्धता जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा,राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेलगायत नेताहरू प्रदर्शनस्थलमा पुगेर ऐक्यवद्धता जनाएका हुन्।
अध्यक्ष थापाले फुटपाथ व्यवसायीको लागि उचित स्थान दिनुपर्ने बताएका छन्। यसमा महानगरपालिकाले सहजिकरण गर्नेपर्ने उनको भनाइ छ। प्रदर्शनस्थल जानुअघि थापाले सामाजिक सञ्जालमा लेखेका छन्,' 'सडक,फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ। यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ,'उनले भने।
यसअघि सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटपाथ व्यापारीलाई विकल्प दिनुपर्ने बताएका थिए। उनले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादति गरेको समेत आरोप लगाएका थिए।
विकल्पको तयारी नभएसम्म फुटपाथ व्यापारीले बिहान र बेलुकाको समयमा व्यापार गर्न दिनुपर्ने ओलीले बताएका थिए।
प्रतिक्रिया दिनुहोस !
