सेबोनका अध्यक्षले किन भेटे गभर्नर ?

काठमाडौं : यतिबेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालसँगको भेट विशेष गरेर सेयर लगानीकर्ताको चासो बनेको छ। सेबोन अध्यक्ष हमालले सोमबार केन्द्रीय बैंक पुगेर गभर्नर अधिकारीसँग पुँजीबजारलगायतका समसामयिक विषयमा छलफल गरेका छन्।
सेयरबजारमा आएको उतारचढावका बेला दुईबीचको भेटघाटबाट लगानीकर्ताले केही अपेक्षा अवश्य गरेका छन्। उनीहरूबीच पुँजीबजार, भेन्चर क्यापिटल र प्राइभेट इक्विटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जानकारी दिएको छ। यो छलफलको परिणाम भने हेर्न बाँकी नै छ।
पछिल्लो समय पुँजीबजारमा आएको उतारचढाव र लगानीकर्ताको असन्तुष्टि छरपष्ट देखिन्छ। लगानीकर्ताबाट पटकपटक राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोड रुपैयाँको सीमा हटाउन माग भइरहेको छ। साथै पछिल्लो समय बैंक ब्याजदर उच्च भएकाले पनि लगानीकर्ताको मनोबल घटेको बताउँदै आएका छन्। परिणामस्वरूप सेयरबजार घटेको टिप्पणी गरिन्छ। यद्यपि अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा बढाउनुपर्नेमा जोड दिएका छन्। उनले एक कार्यक्रममा यसको सीमा १८ करोड रुपैयाँसम्म पुर्याउँदा उचित हुने बताएका थिए।
गभर्नरसँगको यो भेट राष्ट्र बैंकको फेसबुक पेजमा सार्वजनिक भएपछि लगानीकर्ताले सेयर धितो कर्जाको सीमा हट्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
