नमोबुद्ध नमो नम:

नमोबुद्ध नमो नम:

नेपालका प्रमुख बौद्ध तीर्थस्थलमा लुम्बिनी, स्वयम्भू, बौद्धपछि सम्भवत: नमोबुद्ध नै पर्न आउँछ। बौद्धमार्गीको प्रसिद्ध तीर्थस्थल नमोबुद्ध पर्यटन र रमणीयताको दृष्टिले पनि महत्तवपूर्ण ठाउँ हो।

विश्व परिवेशमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको यथेष्ट प्रचारप्रसार गर्न नसकिए जस्तै नियति भोगेको छ काभ्रेको नमोबुद्धले पनि। कम्तीमा आन्तरिक पर्यटकमाझ व्यापक प्रचार गर्नुपर्ने पर्यटकीयस्थल हो– नमोबुद्ध। नेपालका प्रमुख बौद्ध तीर्थस्थलमा लुम्बिनी, स्वयम्भू, बौद्धपछि सम्भवत: नमोबुद्ध नै पर्न आउँछ। नमोबुद्ध आज जति प्रख्यात छ, यहाँ घुमिसकेका भक्तालु, धर्मावलम्बी तथा पर्यटकहरूले वर्णन गरेकै आधारमा भइरहेको छ। महत्त्व भए पनि आशातीत रूपमा बौद्ध धर्मावलम्बी तथा पर्यटक नमोबुद्ध घुम्न आएको देखिँदैन।

शान्तिका लागि कार्य अभियानको तेस्रो दिन अर्थात् केही दिनअघि विश्व सम्पदा सूचीमा प्रस्तावित पनौतीदेखि नमोबुद्धसम्म पदयात्रा गरियो। त्यसो त पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य निकै अगाडि बढिसकेको छ। तर पनि केही प्राविधिक समस्या निराकरण गर्न बाँकी रहेकाले सूचीकृत हुने कार्यमा विलम्ब भइरहेछ भने नमोबुद्ध नगरपालिकाको पछिल्लो नगरसभाबाट निर्णय भई नमोबुद्ध क्षेत्रलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल सरु गरिसकेको छ। यसर्थ पनौतीदेखि नमोबुद्धसम्मको पदयात्राहरू विशेष महत्त्वका हुन्छन्।

नमोबुद्ध कहाँ पर्छ ? : काठमाडौंबाट ३२ किलोमिटर दक्षिणपूर्वमा पनौती र २९ किलोमिटर पूर्वमा धुलिखेल पर्छ। पनौतीबाट करिब १० किलोमिटर पूर्वमा र धुलिखेलबाट १२ किलोमिटर दक्षिणमा नमोबुद्ध अवस्थित छ। बौद्धमार्गीको प्रसिद्ध तीर्थस्थल नमोबुद्ध पर्यटन र रमणीयताको दृष्टिले पनि महŒवपूर्ण ठाउँ हो। हिउँदमा एवं मौसम खुलेको बेला नमोबुद्धबाट उत्तरतर्फ करिब १८० डिग्रीको लहरमा पश्चिममा अन्नपूर्ण, मनास्लुदेखि पूर्वमा महालंगुर अन्तर्गतको सगरमाथासम्मको सुन्दर हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। नमोबुद्ध पुग्ने क्रममा पनौती, धुलिखेल, बल्थली, बेथाञ्चोक नारायणथान, पलाञ्चोक भगवती, लाँकुरी भन्ज्याङलगायतका पर्यटकीय स्थानको भ्रमण गर्न सकिन्छ।

कुनै समय नेपालको रेशममार्ग अर्थात् पूर्व जाने पहाडी बाटोको मुख्यथलोको रूपमा रहेको नेवार बस्ती दाप्चा पछिल्लो समय सुनसानप्राय: छ। दाप्चालाई पनि बन्दीपुर जस्तै पुनर्जीवन दिनुपर्छ। दाप्चा भेगलाई पुन: चल्तीको थलो बनाउनुपर्छ भन्ने आवाज बुलन्द भइरहेको छ। दाप्चा भेग नमोबुद्धबाट केवल दुई, तीन किलोमिटरको दूरीमा पूर्व दिशातर्पm छ। कोभिडका बेला टिकटक एवं फेसबुक लाइभमा निकै चर्चित तीनधारे झरना यही दाप्चा भई पुगिन्छ। तीनधारे झरना क्षेत्र वर्षात् याममा निकै चर्चित बन्न थालेको छ।

नमोबुद्ध हुँदै नयाँ पदमार्ग : नमोबुद्धलाई पनि समेटेर नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशिला (नेटिफ)ले काठमाडौंको सुन्दरीजलदेखि नगरकोट, धुलिखेल, नमोबुद्ध हुँदै पनौतीसम्म ७२ किलोमिटर पदमार्गलाई ‘काठमाडौं उपत्यका सांस्कृतिक पदयात्रा मार्ग’का रूपमा विकास गरेको छ। जुन पदमार्गको यात्राको क्रममा विभिन्न पशुपन्छीको अवलोकनका साथै तामाङ, शेर्पा, नेवार, बाहुन र क्षेत्री संस्कार बुझ्न र हिन्दु एवं बौद्धधर्म पनि अध्ययन गर्न पाइन्छ। यसै मार्गलाई अलि लम्ब्याइँ अथवा अलिकति परिष्कृत गरी सुन्दरीजलको ठाउँमा बूढानीलकण्ठमाथिको चिसापानीबाट यात्रा सुरु गर्ने तथा नमोबुद्धबाट पनौती आउने क्रममा शारदा बतासे माथिको शारदा देवीस्थान वा पस्थली हुँदै बल्थली पनि जान सकिन्छ। त्यसपछि पनौतीबाट लाकुरीभन्ज्याङ हुँदै फुल्चोकीमा निस्कन मिल्छ।

नमोबुद्धको धार्मिक महŒव : बौद्ध कथनअनुसार पनौतीलाई ‘पाञ्चाल देश’ भनिन्थ्यो, जहाँ बुद्धका ३२औं अवतार मानिएका पनौतीका राजकुमार महासत्वको जन्म भयो। पाञ्चाल राज्यका राजा दिर्गरथका नाति राजा महारथका तीन भाइ छोरामध्ये कान्छो राजकुमार महासत्व एक दिन सिकार खेल्न निस्कँदा पनौतीबाट करिब १० किलोमिटर पूर्वस्थित गन्धकुट पर्वत (नमोबुद्ध)मा सुत्केरी बघिनीको हृदयविदारक अवस्था देखेर आफ्नै शरीरको मासु काटेर बघिनीलाई खुवाई निर्वाण प्राप्त गरेको र करिब ६ सय वर्षपछि बुद्ध तपस्या गर्न नतमस्तक हुनु परेकाले ‘नमोबुद्ध’ नाम रहन गयो भनिन्छ।

पनौती र नमोबुद्धबीच धार्मिक सम्बन्ध भएकै कारण प्रत्येक वर्षको भाद्र कृष्ण द्वादशीको दिन राजा महारथको दरबार पनौतीको न्हुबहालमा नमोबुद्धबाट राजकुमार महासत्वको प्रतीकस्वरूप ‘नमोबुद्ध’को मूर्ति ल्याइन्छ। भोलिपल्ट भाद्र कृष्ण त्रयोदशीको दिन अजाजु, अजिमाको मूर्तिका साथ बेलुका धूमधामजात्रा गरी न्हुबहालको परम्परागत घरमा माता–पिता भेट्न भिœयाइने परम्परा अहिले पनि छ। नाम्मुढा पनि भन्ने गरिएको यस चैत्यबाट अलि माथि गन्धकुट पर्वतमा महासत्वले बघिनीलाई मासु खुवाउँदै गरेको प्रतीक स्वरूप मूर्ति पनि छ। बौद्धमार्गीहरू मृतकका अस्थि ल्याएर यहाँ हालिदिए मुक्ति मिल्छ भन्ने विश्वास गर्छन्।

यसैगरी बौद्ध एवं कतिपय हिन्दु धर्मावलम्बीमा मृतकहरूको आत्मा शान्तिका लागि मृतकका परिवारजन वर्ष दिनभित्र नमोबुद्ध आई दीप प्रज्ज्वलन गर्ने परम्परा छ। हरेक पूर्णिमामा भीड लाग्ने गरे पनि कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्ही) को दिन विशेष मेला लाग्छ। नमोबुद्धमा बर्सेनि लाग्ने यस विशेष मेलामा प्रेमीप्रेमिका जोडी नै आए प्रेम सफल हुन्छ भन्ने विश्वास भएका कारण उक्त दिन युवाको व्यापक घुइँचो लाग्छ। नमोबुद्धको महŒव झल्काउन राजकुमार महासत्व आपैंmले आफ्नो शरीरको अंगप्रत्यंग काटी भोकाएकी अशक्त बघिनी र डमरुहरूलाई मासु खुवाएको दृश्य अंकित हुलाक टिकट केके कर्माचार्यको डिजाइनमा नेपाल सरकारले २०६२ सालमा प्रचलनमा ल्याएको छ।

पनौतीका बौद्धस्थलहरू : परम्परागत कला संस्कृति, धार्मिक, ऐतिहासिक, व्यापारिक, पर्यटकीय दृष्टिले महŒवपूर्ण पनौतीमा हिन्दुहरूका लागि निकै धेरै सांस्कृतिक निधिहरू, चालचलनहरू छन्। बौद्धमार्गीहरूका लागि पनि पनौती एवं आसपासका क्षेत्र महŒवका छन्। महासत्वको पिता अर्थात् प्राचीन पनौतीका राजा महारथको दरबार पनौतीको न्हुबहालमा छ भने पनौतीमा अजाजु, अजिमालगायतका दीपंकरहरू छन्। पनौतीमा सानो आकारको बौद्ध स्तुपाका साथै ठाउँठाउँमा चिभाद्योहरू छन्।  यहाँ धर्मकीर्ति बिहार, लोकेश्वर करुणामय पद्मपाणि विहार पनि छ। यहाँका बासिन्दामा बौद्धमार्गी शाक्य, बुद्धाचार्य, बज्राचार्य, गुभाजुको संख्या उल्लेख्य छ भने ताम्राकार, मानन्धर, कर्माचार्यलगायतका जातिको बौद्धधर्मप्रति उत्तिकै धार्मिक सहिष्णुता छ। यहाँ वैशाख शुक्ल पूर्णिमाका दिन धूमधामका साथ बुद्ध जयन्ती मनाइन्छ भने गुँला पर्वभरि गुँलाबाजा बजाई नगर परिक्रमा गर्ने, भाद्र कृष्ण त्रयोदशी अर्थात् पनौतीमा नमोबुद्ध ल्याएकै बेला पञ्चदान एवं दीपंकर सार्वजनिक प्रदर्शनमा राखिनुका साथै बेलुकीपख नमोबुद्धसँगै जात्रा गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.