मुख्यमन्त्रीलाई राउटेले भने : ‘सरकारले हाम्रो जनतालाई दशैं खर्च दिनुपर्यो’

दाङ : फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन्। बिहीबार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको हो।
राउटे शाहीले सरकारसँग दशैं खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशैं खर्च दिन आग्रह गरे। 'अब दशैं आइसक्यो, हाम्रो जनताले दशैंमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनु पर्यो’उनले भने, ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनुपर्छ। सबै मन्त्रीहरुले हामीलाई दशैं खर्च दिनुपर्यो, हामीले लगेर सबै जनतालाई बाँड्ने काम हुन्छ। खसी किन्न पैसा चाहियो।’
उनले आफूहरु अहिले दैलेखमा बसिरहेको र दशैं खर्चका लागि दाङ आएको बताए। ‘तीज खर्चकै लागि आएका हौं।’उनले भने, ‘तीज गइगो अब दशैं खर्च जुटाउनु परेको छ।’
मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशैं खर्चको व्यवस्थापन गर्न सकरात्मक भएको बताए। उनले दशैं खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए। ‘राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशैं खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशैं मनाउन समस्या हो भने लुम्बिनीले पनि केही सहयोग गर्छ।’,‘मुख्यमन्त्री चौधरीले भने,‘२/३ दिनमा सरकारको केही सहयोग हुन्छ।’
भेटमा अर्थमन्त्री धनबहादुर मास्कीसमेत सहभागिता थिए।
प्रतिक्रिया दिनुहोस !
