मेयर र शिक्षकबीच टक्कर
काठमाडौं महानगरलाई प्रधानाध्यापकको जवाफ : विद्यालय बन्द हुन्छ, माइतीघर मण्डलामा हाजिर हुन्छौं
काठमाडौं : काठमाडौं महानगरभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक माइतिघरमा नियमित हाजिर हुने निर्णय गरेका छन्। काठमाडौं महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्दै आज सामुदायिक विद्यालयका प्रधानाध्यापकले बिहीबारबाट विद्यालय बन्द गरेर माइतीघरमा नियमित हाजिर हुने निर्णय गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक–२०८० का कतिपय प्रावधान शिक्षकविरोधी रहेको भन्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा बुधबारबाट आन्दोलन थालेको छ। उनीहरुले माग सम्बोधन नभएसम्म बिहीबारदेखि विद्यालयको पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन्।
नेपाल शिक्षक महासंघले गरेको आन्दोलनमा समर्थन गर्ने काठमाडौंका प्रधानाध्यापकहरुको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय, संसद भवन सिंहदरबार काठमाडौंबाट जारी विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एककीरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशै भरिको विद्यालय अनिश्चित रुपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनि सुरु गरेको कार्यक्रमहरुलाई समर्थन गर्दै अर्को सूचना नभएसम्मका लागि काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरुको बैठकले निर्णय गरेकाले माइतिघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरु उपस्थित हुन अनुरोध गर्दै यो प्रेस विज्ञप्ती जारी गरिएको छ।’
आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील भएको बताउँदै उनीहरुले उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठनमा गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। विज्ञप्तिमा ३० सामुदायिक विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन्।
यसैबीच बुधबार दिउँसो काठमाडौं महानगरपालिकाले शिक्षा विधेयकविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकलाई लक्षित गर्दै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिएको थियो।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ति जारी गर्दै शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुने भएकाले आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने जनाएको हो। विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने महानगरले चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनैपनि अर्थमा युक्तिसङ्गत र क्षम्य हुँदैन। संघीय सरकारसँगका माग सम्बोधनका नाममा कोभिङ-१९ महामारीको कारण प्रभावित भएको शिक्षा क्षेत्रको गुणस्तर सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु निश्चयपनि शिक्षकको नैतिकता र आचारणले दिँदैन। शिक्षकका पेसागत वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको मार्ग प्रशस्त हुँदाहुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरीत हुने विद्यालय बन्द नगर्न अनुरोध गर्दै काठमाडौ महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने व्यहोरा जानकारीका लागि निर्देशानुसार अनुरोध छ।’