फर्कियो लगानी बोर्डको टिम

संखुवासभा : अरुण–३ प्रवेश मार्ग जग्गाधनीले बन्द गरेपछि समस्या समाधानका लागि आएको लगानी बोर्डको टिम त्यसै फर्किएको छ। आन्दोलनलाई रोक्न आएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसहितको टोली मंगलबार काठमाडौं फर्किएको छ।
जिल्ला प्रशासन कार्यालय संखुवासभामा सोमबार बसेको सर्वदलीय बैठकबाट कुनै निष्कर्ष आउन सकेन। तत्काल जग्गाधनीलाई मुआब्जा दिनुपर्ने माग राजनैतिक दलहरूले राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको नेकपा (एमाले) का जितबहादुर घिमिरेले बताए। छुट जग्गाको विषयमा ठोस निर्णय नभएसम्म जग्गाधनीलाई आन्दोलन रोक भन्न नसकिने नेपाली कांगे्रसका कार्यवाहक सभापति अनन्त गौलीको भनाइ छ। मुआब्जा दिने प्रक्रियामा रहेकाले कार्यकारी अधिकृत भट्टले सर्वदलीय बैठकमा जग्गाधनीको आन्दोलन रोक्नका लागि भूमिका निर्वाह गरिदिन अनुरोध गरे पनि त्यसबारे सहमति जुट्न सकेन।
बन्द, हड्तालका कारण काम रोकिए निर्माण कम्पनीलाई नेपाल सरकारले दैनिक ८ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भन्दै भट्टले आन्दोलन रोक्न अनुरोध गरेका थिए। सरकारले जग्गाधनीको मागलाई बेवास्ता गर्दा जग्गाधनीलाई दिनुपर्ने मुआब्जाभन्दा आयोजना दिनुपर्ने क्षतिपूर्ति धेरै भएको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त निकासा मागसम्बन्धी फायल अध्ययनको क्रममा रहेकामा शीघ्र बजेट निकासाको लागि कारबाही अगाडि बढाइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको छ। त्यसैगरी पीडित जग्गाधनीलाई चाँडो मुआब्जा प्राप्त गर्न र आयोजना सञ्चालनको कार्यमा सबै पक्षले सक्रिय सहयोग पुर्याउने निर्णय बैठकले गरेको छ। तर सडक खुलाउने विषयमा भने ठोस निर्णय हुन सकेन।
प्रतिक्रिया दिनुहोस !
