तीजमा श्रृंगार गर्दा पुर्याऔं ख्याल
आज नेपाली महिलाको महान चाड तीज देशभर मनाइँदैछ। तीज भन्नसाथ पहिरन र श्रृंगार पनि सँगै आउँछ। त्यसैले यो समय श्रृंगार गर्दा अझै ख्याल गर्नुपर्छ। यो गर्मी मौसम पनि हो।
तीजका लागि सजिँदा धेरै पसिना आएर मेकअप बिग्रन समस्या पनि देखिन्छ। अझै तीजमा नाचगान धेरै हुने हुँदा अनुहार र शरीरभरि पसिना आउँछ। त्यसैले मेकअप गर्दा ‘म्याट लुक’ भएको मेकअप गर्दा राम्रो हुन्छ। प्रक्रिया पुर्याएर गर्दा बढी समय टिकाउ हुन्छ।
सुरुमा क्लिन्जिङ गर्नुपर्छ। त्यसपछि म्वाइस्चराइजिङ र त्यसपछि सनब्लक लगाउने। आफ्नो छाला सुक्खा छ भने सुक्खा छालालाई सुहाउँदो र तैलिय छ भने तैलिय छालालाई मिल्ने म्वाइस्चराइजरको प्रयोग गर्नुपर्छ। मेकअप गर्नु अगाडि अहिले छालाअनुसारका मास्क लगाउने पनि चलन छ। कसैले आइस मास्क लगाउँछन् भने कसैले अन्य कुनै पनि लगाउन सक्छन्। यसले छालाको टोनलाई राम्रो बनाउँछ। मेकअपलाई पनि अझै चम्किलो देखाउँछ। अनुहारलाई ताजापन दिन्छ।
प्राइमर लगाउँदा सुक्खा छालाका लागि बोइल बेस्ड प्राइमर लगाउनुपर्छ। तैलिय छालाका लागि जेल प्राइमर राम्रो। त्यसपछि फाउन्डेसन लगाउनुपर्छ। छालामा कुनै दागहरू छ, आँखा वरिपरि डार्क सर्कल छ भने कन्सिलर लगाएर छोप्न सकिन्छ।
फाउन्डेसन लगाउँदा म्याट नै प्रयोग गर्नुहोला। यो लामो समय टिकाउ हुन्छ र पसिना आउँदा पनि जाँदैन। यसलाई सेट गर्नका लागि एलो टोन भएको छालालाई बनाना पाउडर वा फेयर टोन भएको छालालाई लुज पाउडर लगाउन सकिन्छ। त्यसपछि फेसलाई काउन्टरिङ र हाइलाइट गर्नुपर्छ। सुन्दर र सभ्य तरिकाले तीज मनाउ, सम्पूर्ण दिदीबहिनीलाई मेरो शुभकामना।
(वरिष्ठ ब्युटिसियन जुनु चक्रधर जुम ब्युटी एकेडेमीकी सीईओ हुन्।)