ओमलाई स्वर्ण

काठमाडौं : सीतापाइला डोजाङका ओम भण्डारीले ११औं कोरियन एम्बेस्डर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्। नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको पुरुष जुनियर ६८ केजी तौल समूहमा राहुलकुमार साहलाई पराजित गर्दै ओमले स्वर्ण जितेका हुन्। यस तौल समूहमा नितिश श्रेष्ठ र राजन राईले कांस्यमा चित्त बुझाए।
यसैगरी जुनियरतर्फकै पुरुष ५९ केजीमा दीपक दुलाल, अमन माझी, रोनि श्रेष्ठ र आशुतोष केसीले क्रमसः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे। जुनियरतर्फकै महिला ५५ केजीमा मनिषा तामाङले स्वर्ण, लक्ष्मी खडायतले रजत तथा सुमिना खड्गी र रीतु राणाले कांस्य जिते। ४९ केजीमा रेश्मा भुजेल पहिलो, सुष्मिता विष्ट दोस्रो तथा रीमा खत्री र आशिकाकुमारी सिंहले तेस्रो स्थान हात पारे। सिनियर महिलाको ५७ केजी तौल समूहमा निलिमा मल्लले पहिलो स्थान हात पारिन्। उनले रेणु लामालाई पराजित गरिन्। सुष्मा श्रेष्ठ र रक्षा धिमालले तेस्रो स्थान हात पारे।
सन् २००३ देखि सुरु भएको प्रतियोगिताको अहिलेसम्म १० वटा संस्करण सम्पन्न भइसकेको छ। ११औं संस्करणमा ७११ महिला र १०६७ पुरुष गरी एक हजार सात सय ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ। प्रतियोगितामा पुम्सेमा २५ र ग्यरोगीमा ३२ गरी ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाली खेलाडी मात्र सहभागी हुँदै आएकोमा यस पटक भारत र बंगलादेशका खेलाडी पनि सहभागी भएका छन्।
प्रतियोगितामा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडी सहभागी भएका छन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा हुने विश्व कोरियन एम्बेस्डर प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
