केरा भण्डारका बगानमा फैलियो रोग, चाडपर्वमै घट्यो उत्पादन

केरा भण्डारका बगानमा फैलियो रोग, चाडपर्वमै घट्यो उत्पादन

टीकापुर : चाडपर्वमा सबैभन्दा धेरै आवश्यक पर्ने फलफूलमा पर्छ, केरा। त्यसमा पनि दसैंमा त नभई नहुने नै हो। यो समय बजारमा माग पनि उच्च हुन्छ। र, किसानले पनि राम्रो आम्दानी गर्ने मौका पाउँछन्। तर, पछिल्लो समय कैलालीका किसानले लगाएको केरा बालीमा रोग फैलिएपछि उत्पादन घटेको छ। केरा बगान नै नास हुने चिन्ता उनीहरूलाई छ। 

विगत आठ वर्षदेखि दसैं, तिहारको छेको पारी बजारमा केरा पठाउँदै आएका कैलालीको टीकापुरका एक किसानको ६ बिघामा केरा लटरम्म फलेको छ। झन्डै वर्ष दिनको मेहनतपछि चाडपर्व नजिकिएसँगै केरा झनै पोटिलो हुँदैछ। दसैंको उत्साह र बजारको उच्च मागले हरेक दसैंमा पुलकित हुने उनी यस वर्ष निकै चिन्तामा छन्। बजार पठाउन ठिक्क हुँदै गरेको केराबारी केही दिनयता झन्झन् पहेँलो हुँदैछ। औषधिले समेत काम नगरेका बेला उनको बारीमा नेपालमै पहिलो पटक देखिएको ‘पानामा टीआर–फोर (ट्रोपिकल रेस चार)’ नामक हानिकारक प्रजातिको रोग लागेको पुष्टि भएपछि उनी चिन्तामा परेका हुन्। 

‘वर्षभरि मेहनत गरेर दसैं तिहारमा बजार पठाउने तयारी गरिरहेका बेला बारीका अधिकांश बोट पहेँला हुँदै गएका छन्’ उनले भने। ‘पानामा टीआर–फोर नामक घातक रोग देखिएको रहेछ, फललाई असर गर्दैन तर बोट नै सखाप हुने वैज्ञानिकको भनाइ सुनेपछि मेरो भोक निन्द्रा हराएको छ।’ अर्काको जग्गा भाडामा लिएर केराखेती गर्दै आएका उनले बोट हुर्काउनेदेखि फल फलाउँदासम्म मोटो रकम खर्च गरिसकेका छन्। ‘फललाई असर नगर्ने हुँदा केही दिनअघि नै केरा बजार पठाउन सकिन्छ’ उनले भने ‘यो रोग लागेको केरा खानु हुन्न भन्ने उपभोक्तालाई परेछ भने हामी बर्बादै हुन्छौं, प्रतिबिघा तीन, चार लाख खर्च भइसकेको हुन्छ।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय टीकापुरले गरेको अन्वेषणमा उनीसहित टीकापुरका चारवटा बारीमा ‘पानामा टीआर–फोर’ हानिकारक प्रजातिको रोग लागेको तथ्य पुष्टि गरेको हो। नार्कका कृषि वैज्ञानिक डा. रामबहादुर खड्का, सुरज वैद्यलगायतको टोलीले गत साउन १० गते टीकापुरका नौ वटा बारीमा शंकास्पद लक्षण देखिएपछि परीक्षणका लागि नमुना काठमाडौं लगेका थिए। ती नौ बारीमध्ये चार बारीमा पानामा पुष्टि भएको हो। 

काठमाडौंमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा केरामा लाग्ने पुरानो रोग ‘पानामा’ को नयाँ प्रजाति ‘टीआर–फोर’ को लक्षण देखिएपछि वैज्ञानिकहरूले त्यसको जाँचका लागि हङकङस्थित बेइजिङ जिनोमिक इन्स्टिच्युटमा नमुना पठाएका थिए। त्यहाँबाट भदौ १ गते आएको प्रयोगशाला रिपोर्टमा ती चार बारीमा ‘पानामा टीआर–फोर’ रोग पुष्टि भएको हो। 

null

टीकापुर नगरपालिका— ५ मा रहेको केराबारी।  

केराको पकेट क्षेत्रका रूपमा विकसित हुँदै देशभर केराको बजार विस्तार गरिरहेका टीकापुरका केरा किसानहरू उक्त रोग पुष्टि भएसँगै चिन्तामा परेका छन्। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा व्यावसायिक रूपमा ८ सय ७५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ। 

अन्य देशहरूमा विभिन्न समयमा देखा परेर केराखेतीमा ठूलो नोक्सान पुर्‍याएको पानामा टीआर फोर नेपालमै पहिलो पटक देखिएको रे। केराको बारी नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्ने हुनाले किसानहरू निकै चिन्तित छन्।
टीआर धामी, किसान

प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको केराखेतीबाट गत वर्ष कैलालीमा मात्रै १ अर्ब ७० करोड ९ लाख २० हजार मूल्यबराबरको २६ हजार ७ सय ७३ मेट्रिकटन केरा उत्पादन भएको थियो। नेपालमै पहिलो पटक देखिएको पानामा रोगका कारण उक्त उत्पादनमा असर पर्नेमा किसानहरू चिन्तित छन्। 
कैलालीमा उत्पादन हुने केरा धनगढी, नेपालगन्ज, महेन्द्रनगर, सुर्खेत, दाङ, बुटबल, काठमाडौं, पोखरालगायतका बजारमा बिक्री हुँदै आएको छ।

नेपालमै केरा उत्पादनमा उल्लेख्य हिस्सा ओगटेको टीकापुर क्षेत्रका केरामा घातक रोग देखिएपछि किसानहरू चिन्तित बनेको केरा उत्पादक संघ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले बताए। ‘अन्य देशहरूमा विभिन्न समयमा देखा परेर केराखेतीमा ठूलो नोक्सान पुर्‍याएको पानामा टीआर फोर नेपालमै पहिलो पटक देखिएको हो’ उपाध्यक्ष धामीले भने ‘ठूलो क्षेत्रफलमा लगाइएको केरामा कहाँकहाँ रोग छ भन्ने निक्र्योल गर्न नै हामीलाई समस्या भएको हो, वैज्ञानिकहरूका अनुसार टीआर फोरका कारण जी नाइन केराको बारी नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्ने हुनाले किसानहरू निकै चिन्तित छन्।’

उपाध्यक्ष धामीले कैलालीका ९० प्रतिशत बारीमा जी नाइन जातको केराखेती भइरहेको बताउँदै नेपालकै केरा उत्पादनमा ठूलो हिस्सा ओगट्ने टीकापुर क्षेत्रमा देखिएको रोग नियन्त्रणका लागि निर्मम कदम चाल्नुपर्ने बताए। माटो, पानी र बारीमा प्रयोग गरिएको औजारबाट सजिलै सर्ने गरेको टीआर फोरको संक्रमण निकै घातक मानिएकाले यसको निर्मुलका लागि स्थानीय तहले निर्मम कदम चाल्नुपर्ने धामीले बताए। धामीले कैलालीका अन्य केराबारीमा समेत रोग हुन सक्ने आशंका गरे। 

‘एक बारीबाट अर्कोमा सर्ने, सर्‍यो भने लामो समयसम्म केरा उत्पादन नहुने, ५—६ महिनापछि मात्रै रोग पत्ता लाग्ने, माटो, पानीबाट सर्ने भएकाले यसमा स्थानीय सरकारले निर्मम कदम चाल्नुपर्छ’ धामीले भने ‘पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गरेर तत्काल बारी नष्ट गर्नुपर्ने वैज्ञानिकहरूले सुझाव दिएका छन्।’    

के हो पानामा टीआर फोर ?

नार्कका कृषि वैज्ञानिक डा. रामबहादुर खड्काका अनुसार पानामा टीआर फोर केराको समूल नष्ट गर्ने घातक प्रजातिको रोग हो। सन् १९७४ मा पहिलो पटक अस्ट्रे​​​​लियामा फेला परेको पानामा रोगका कारण अस्ट्रेलियासहित, अफ्रिकाका सबै केराखेती सखाप भएको वैज्ञानिक खड्का बताउँछन्। 

खड्काका अनुसार तत्कालीन केराका प्रजातिहरू यो रोगसँग लड्न नसकेपछि वैज्ञानिकहरूले रोगलाई यथावत् नै छाडेर केराको नयाँ प्रजाति ‘जी–नाइन’ आविष्कार गरेर व्यावसायिक केरा खेतीलाई पुनर्जीवन दिएका थिए। विश्वभर व्यावसायिक केरा खेतीमा ‘जी–नाइन’ जातको प्रयोग थालिएपछि अन्य रैथाने केरा पानामा रोगका कारण मासिएको उनी बताउँछन्। ‘पानामा’ रोग नेपालमा १५ वर्षअघि भित्रिएको र त्यसले नेपालको रैथाने मालभोग जातको केरा नष्ट गरेको डाक्टर खड्काको तर्क छ। 

नेपालको रैथाने केरामा सो रोग रहे पनि अहिले व्यावसायिक रूपमा भइरहेको केरा खेतीको ८० प्रतिशत हिस्सा ओगट्ने ‘जी नाइन’ जातको केरामा नयाँ रोग देखिएको थिएन। वैज्ञानिकहरूले विश्वमा व्यावसायिक केरा खेतीका लागि विकास गरेको ‘जी–नाइन’ जातको केरामा पहिलो पटक सन् १९९६ मा इन्डोनोसियामा यो रोग पुष्टि भएको थियो। भारतमा सन् २०१५ मा यो रोग देखिए पनि नेपालमा भने पहिलो पटक देखा परेको डा. खड्का बताउँछन्।

रोगले के पार्छ प्रभाव ?

नार्कका वैज्ञानिकहरूका अनुसार नेपालमा अहिले व्यावसायिक रूपमा ‘जी–नाइन’ जातको केराखेती भइरहेको छ। राष्ट्रिय फलफूल विकास केन्द्रले २०७८/०७९ मा प्रकाशित गरेको वर्षेबाली फलफूलको तथ्यांकमा नेपालमा २६ हजार ६ सय ४८ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ। उक्त तथ्यांकमा वार्षिक ३ लाख ३९ हजार ४ सय ३५ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ। 

वैज्ञानिक खड्काका अनुसार पानामा टीआर फोर रोग लागेका खण्डमा केराको फेदैदेखि पात पहेँलो हुने, बोट नै नष्ट हुने लक्षण ५ देखि ६ महिनाभित्र देखा पर्दछ। ‘माटोबाट, केराको सकर (केरासँगै उम्रिएको नयाँ बोट) बिरुवाबाट, बारीमा प्रयोग गरिएको औजारबाट सजिलै सर्ने निकै हानिकारक रोग हो, एकपटक माटोमा यो प्रजाति देखिए वर्षौंसम्म केराखेती गर्न सकिँदैन’ डा. खड्काले भने ‘बेलैमा रोग नियन्त्रण गर्न नसके नेपालमा व्यावसायिक केराखेती नै मासिने जोखिम हाम्रो अध्ययन र विश्व घटनाहरूले देखाएका छन्।’ 

कृषि वस्तुहरू क्वारेन्टाइनको प्रक्रिया पूरा नगरी निर्वाध रूपमा नेपाल भित्रिएकाले यो रोग भारतबाटै आएको हाम्रो अनुमान छ। भारतबाट आउने कृषिजन्य उत्पादनको क्वारेन्टाइन परीक्षणबिना प्रवेशमा रोग लगाइनु पर्छ।
दीपेन्द्र थारू, किसान

सबै जातका केरालाई संक्रमण गर्ने टीआर फोर फैलिए सबैतिरका केरा सखाप हुन सक्ने भएकाले कृषि अर्थतन्त्रमा गम्भीर समस्या हुने सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय कृषि अर्थशास्त्रका उपप्राध्यापक सन्तोष उपाध्यायले बताउँछन्। ‘यो रोगको समयमै रोकथाम गर्न नसके केरामा भएको लगानी हेर्दा करिब १५ अर्बबराबरको केरा व्यवसाय नोक्सान हुने देखिन्छ’ उपप्राध्यापक उपाध्यायले भने ‘यसबाट देशभरका ३६ हजार किसान प्रभावित हुन सक्ने अनुमान गरिएको छ।’ टीआरफोरको जीवाणु माटोमा हुने भएकाले केराको फल भने सधैं सुरक्षित हुने र खान मिल्ने उपप्राध्यापक उपाध्यायले बताए।

समाधान के ?

पानामा टीआर फोर रोगको हालसम्म कुनै पनि औषधि बनेको छैन। यो रोगबारे नार्क, सुदूरपश्चिम प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालय, रानी, जमरा कुलरिया सिँचाइ आयोजना कृषि इकाइ, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय र केरा किसानबीच छलफल भएको छ। 

ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माका अनुसार रोगको संक्रमण रोक्न भदौ ५ गते गरिएको छलफलबाट केराबारीमा ‘कम क्लिन गो क्लिन’को अवधारणा अवलम्बन गर्ने निर्णय गरिएको छ।  ‘उक्त अवधारणाअनुसार बारीमा काम गर्ने मानिस पनि सफा भएर जानुपर्ने, काम गरिसकेपछि पनि सरसफाइ गर्नुपर्ने, संक्रमण भएको बारीको माटो अर्को बारीमा पुगे त्यहाँ पनि जीवाणु जान सक्ने भएकाले प्रयोग गरेका जुत्ता चप्पल, औजारहरू निर्मलीकरण गर्नुपर्ने निर्णय गरिएको छ’ शर्माले भने ‘आफ्नो बारी आफैं हेर्ने, निगरानी बढाउने, शंकास्पद देखिए कृषि विज्ञान संकायमा रहेको ल्याबमा परीक्षण गर्ने र जथाभावी मानिस र पशुपन्छी प्रभावित बारीमा जान आउनबाट रोक लगाउने हो।’ 

शर्माले रोगले बोटलाई प्रभावित गरे पनि फललाई कुनै असर नगर्ने हुँदा किसानलाई त्रसित नहुन आग्रह गरे। यस्तै, आयोजनाका कृषि कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख कलशराम चौधरीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ। समितिमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कृषि तथा वन विज्ञान अध्ययन संस्थान (रामपुर) का प्राध्यापकहरू, स्थानीय पालिकाका कृषि विकास शाखाका प्रमुखहरू र किसानहरू सदस्यका रूपमा छन्। 

समितिले पानामा टीआरफोर रोगको थप अध्ययन अनुसन्धानमा सहयोग, समन्वय र संक्रमण रोक्न आवसयक उपाय अपनाउनेछ। भारतीय सीमा क्षेत्रसँग जोडिएको कैलालीमा क्वारेन्टाइन परीक्षणबिना नै आउने गरेका बिरुवाबाट पानामा रोग नेपाल भित्रिएको हुन सक्ने किसानहरू बताउँछन्। केरा किसानसमेत रहेका केरा उत्पादक महासंघ तदर्थ समितिका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र चौधरीले रोगका कारण केरा उत्पादक किसानको मनोबल कमजोर भएको बताए। 

‘कृषि वस्तुहरू क्वारेन्टाइनको प्रक्रिया पूरा नगरी निर्वाध रूपमा नेपाल भित्रिएकाले यो रोग भारतबाटै आएको हाम्रो अनुमान छ’ उपाध्यक्ष चौधरीले भने ‘भारतबाट आउने कृषिजन्य उत्पादनको क्वारेन्टाइन परीक्षण बिना प्रवेशमा रोग लगाइनु पर्छ।’ चौधरीले केराखेती गर्दै आइरहेका व्यावसायिक किसानलाई रोगको प्रभावबाट पर्ने असरबारे सचेत रहँदै तत्काल रोगको व्यवस्थापन र उचित क्षतिपूर्तिको पहल गर्न माग गरे। 

‘नेपालमा टीकापुर क्षेत्रको केराले ठूलो हिस्सा ओगटेको छ, आधुनिक प्रविधियुक्त केराखेती गर्दै आएका किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न आवश्यक छ’ चौधरीले भने ‘रोगको व्यवस्थापनमा सरकारले तत्काल कानुनी व्यवस्था गर्न समेत हामी माग गरिरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.