अपानिलाई लिएर नेकपा एसमा विवाद : झलनाथले भने- पार्टीमा सहमति र निर्णय नगरी जारी भयो
काठमाडौं : एकीकृत समाजवादीभित्र माधवकुमार नेपालले जारी गरेको अपानीलाई लिएर विवाद सुरु भएको छ। पार्टीको निर्णय बिना नै अपानी जारी भएको भन्दै नेताहरुले असन्तुष्ट जनाएका हुन्।
नेपालले जारी गरेको अपानीलाई लिएर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अपानी खतरनाक भएको प्रतिक्रिया दिएका छन्। काठमाडौंमा शुक्रबार पत्रकारसँग प्रतिक्रिया दिँदै खनालले नेपालले जारी गरेको पछिल्लो अन्तरपार्टी निर्देशनप्रति असहमति व्यक्त गरेका हुन्।
‘यो एकदम खतरनाक कुरा हो। कुनै कसैको पनि सहमति छैन। पार्टीको कुनै पनि कमिटीले निर्णय गरेको हुँदै होइन। यो यत्तिकै जारी भएको छ।’ खनालले भने,‘यसबारेमा हामी छलफल गर्दैछौं।’
एकीकृत समाजवादीको पछिल्लो कार्य विभाजन र मनोनयनप्रति असहमति जनाएर केही नेताले पार्टी छाडेको घोषणा गरेका छन्। कतिपयले जिम्मेवारी अस्वीकार गर्नुका साथे निर्णय नसच्चिए राजीनामा दिने तयारी गरेका छन्। नेपाललाई अपानी फिर्ता लिन दबाब समेत बढेको छ।