निकुञ्जको राजमार्ग क्षेत्रमा टाइम कार्ड लागू गर्न सुझाव

नेपालगन्ज : पूर्व-पश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटना घटाउन टाइम कार्ड लागू गर्न सरोकारवालाहरुले चासो दिएका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायी, सुरक्षा निकाय, वन संरक्षणकर्मीलगायतले दुर्घटना न्यूनीकरणका लागि निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागू गर्न एकमत भए पनि टाइम कार्ड लागू गर्ने मिति र स्थानबारे थप छलफल गरेर निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबारको अन्नपूर्ण पोस्ट्को प्रथम पृष्ठमा ‘निकुञ्जमा टाइम कार्ड नहुँदा बढिरहेछन् दुर्घटना’ शीर्षकको समाचार प्रकाशित भएपछि बाँके निकुञ्जले टाइम कार्ड लगाउने क्षेत्रको सम्भाव्यता अध्ययन र सवारीको गति ४० किमी प्रतिघण्टा हुँदा लाग्ने समयबारे अभ्यास गरेको थियो। बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले निकुञ्जको दुई स्थानमा टाइम कार्ड लगाउन सकिने बताए।
उनले भने, ‘हामीले हाम्रो गाडीमा ४० किमी प्रतिघण्टाका दरले परीक्षण गर्दा ओभरी-खैरीसम्म २५ देखि ३० मिनेट र ढकेरी-चङ्गइ नालासम्म १५ देखि २० मिनेटको टाइम कार्ड लागू गर्न सकिन्छ।’ वार्डेन शाह सरोकारवालाबीच सहमति भए अबको एक साताभित्रै टाइम कार्ड लागू गर्न सकिने बताउँछन्। बाँके निकुञ्ज क्षेत्रमा दुर्घटनामा बर्सेनि औसत १५ जनाको ज्यान जान्छ। यो वर्षमात्र ८६ वटा वन्यजन्तुको गाडीको ठक्करबाट ज्यान गएको निकुञ्जले जनाएको छ।
‘देशभरिका राजमार्ग भएका निकुञ्जमध्ये सबैभन्दा बढी दुर्घटना बाँकेमा भएको बताउँदै उनले मानवीय र वन्यजन्तुको क्षति जोगाउन निकुञ्ज कानुनअनुसार टाइम कार्ड लगाउन कुनै बाधा नभएको बताए। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदी, कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापा र इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख नेत्रप्रसाद भट्टले दुर्घटना न्यूनिकरणका लागि निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागू गर्दा प्रभावकारी हुने दाबी गरेका थिए। कार्यक्रममा यातायात व्यवसायीहरूले भने सबै व्यवसायीबीच छलफल गरेर मात्र टाइम कार्ड लगाउनुपर्ने सुझाव दिएका थिए।
त्यस्तै यातायात व्यवसायी मनप्रसाद आचार्यले तर्क गरे, ‘काँकरभिट्टादेखि काठमाडौंबाट आउने लामो रुटका गाडीका चालकलाई टाइम कार्ड लागू गर्दा स्पिड घटाउँदा अल्छी बनाउँछ। अर्को दुर्घटनाको खतरा हुन्छ। टाइम कार्डका विषयमा सरोकारवालाबीच थप छलफल जरुरी छ।’ बाँके निकुञ्ज क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण गर्न सरोकारवालाले निकुञ्ज क्षेत्रमा तत्कालदेखि अधिकतम् गति ४० किमी प्रतिघण्टा गर्ने र टाइम कार्डका विषयमा फेरि छलफल गर्ने लगायतका चार बुँदे निर्णय गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए।
‘बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राजमार्ग खण्डमा निर्धारित अधिकतम् गति ४० किमी प्रतिघण्टा कायम गरिएकाले सो सबै सवारी चालकले अनिवार्य रूपमा पालना गर्ने र सो सडक खण्डमा टाइम कार्ड लगाउनको लागि थप छलफल गर्ने’ निर्णयमा भनिएको छ। निकुञ्जमा हुने सवारी दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्यरूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय सरोकारवालाले गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
