रैथाने बाली बिउ बैंक

हाइब्रेड बिउबिजनको प्रयोगले पुर्खौदेखि उत्पादन गर्दै आइरहेका स्थानीय बाली संकटमा
बागलुङ : बागलुङको बरेङ गाउँपालिकामा रैथाने बाली जोगाउन बिउ बैंक स्थापना गरिएको छ। बरेङ गाउँपालिका–२ हुग्दीशिरस्थित पुरुषोद्वय माध्यमिक विद्यालयमा पुर्खौंदेखि उत्पादन गर्दै आइरहेको स्थानीय रैथानी बाली जोगाउनका लागि बिउ बैंकको स्थापना गरिएको हो।
बरेङ गाउँपालिकाले आयातित हाइब्रेड बिउबिजनको प्रयोगले पुर्खाैंदेखि उत्पादन गर्दै आइरहेका स्थानीय बालीहरू संकटमा परेको भन्दै लोपोन्मुख बालीको संरक्षण तथा प्रवद्र्धन गर्न बालीविज्ञान विषय अध्यापन हुँदै आएको विद्यालयमा बिउ बैंकको स्थापना गरेको हो।
बिउ बैंकको स्थापनाले पालिकामा कृषकले परम्परागत रूपमा लगाउने गरेका स्थानीय लोपोन्मुख बालीनाली तथा फलफूलको संरक्षण तथा प्रवद्र्धन हुने अपेक्षा लिइएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। लोप हुन लागेका सेतो भट्ट, कालो भट्ट, रातो भट्ट, भट्टे सिमी, सराद्धे सिमी, घिउ सिमी, सेतो कोदो, कोदो, जौं, मेवा, मरिच, चम्सुर, सेतो मकैलगायतका विभिन्न किसिमका झन्डै ६० प्रकारका स्थानीय बिउ संरक्षण गरिएको विद्यालयका प्रधानाध्यापक मनबहादुर श्रीसले बताए। उनका अनुसार आउँदो वर्ष झन्डै एक दर्जन स्थानीय बिउ कृषकलाई उपलब्ध गराउने विद्यालयको तयारी छ।
कृषकले हाइब्रिड बिउ प्रयोग गर्दा बढी विषादी प्रयोग गर्ने र त्यसले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले बिउ बैंकमार्फत स्थानीय बालीको संरक्षण गर्न लागिपरेको गाउँपालिका अध्यक्ष शर्माले बताए। उनले जस्तोसुकै परिस्थितिमा पनि कृषकलाई बिउविहीन नबनाउनका लागि स्थानीय स्तरमा रहेका बिउको संरक्षणमा लागि परेको बताए।
‘साम्राज्यवादी मुलुकले किसानको हातबाट बिउ खोसेर बिउविहीन किसान बनाउने नीति लिएका छन्,’ गाउँपालिका अध्यक्ष शर्माले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि कृषकलाई बिउविहीन नबनाउनका लागि बरेङ गाउँपालिका स्थानीयस्तरमा रहेका बिउको संरक्षणमा लागिपरेको छ।’
प्रतिक्रिया दिनुहोस !
