ढोरपाटनमा स्वास्थ्य शिविर

बागलुङ : बागलुङको ढोरपाटनमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। श्री देवी बक्स गुल्मले नागरिक र सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउन एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
उत्तरगंगा ढोरबराहा मन्दिरमा लागेको मेलाका अवसरमा शिविर सञ्चालन गरिएको हो। शिविरमा हाडजोर्नी, बाथ, पेटको समस्या तथा भाइरल रोगहरूको खोजी गरेर उपचार गरिएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए।
उनले शिविरमा ९१ जना पुरुष, १ सय ५४ जना महिला र २१ जना बालबालिका गरी २ सय ६६ जनाले सेवा लिएको बताए।
नागरिक र नेपाली सेनाबीच सम्बन्ध सुधार गर्ने र सिकार आरक्ष तथा सुरक्षार्थ रहेको सेनाका विषयमा जानकारी गराउन शिविरको आयोजना गरिएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।
गुल्मका स्वास्थ्यकर्मीसहित विशेषज्ञ चिकित्सकहरूले शिविरमा स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराएका थिए। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकाहरूको स्वास्थ्य समस्या पहिचान गर्न शिविर सहयोगी भएको कँडेलले बताए।
प्रतिक्रिया दिनुहोस !
