बागलुङ क्रिकेट संघको अध्यक्षमा आचार्य चयन

बागलुङ : बागलुङ जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्णुप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन्।
मंगलबार भएको बागलुङ जिल्ला क्रिकेट संघको प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष रहेका आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्रबहादुर खड्का र कोषाध्यक्षमा सन्तोष शर्मा सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै सदस्यमा डिलबहादुर केसी, दीपेन्द्र खड्का, अर्जुन कार्की, अभिषेक कट्वाल क्षेत्री, गणेश महतो प्रदीप खत्री र खिमबहादुर थापा चयन भएका छन्।
मंगलबार भएको वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै गण्डकी क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले विधानसम्बत रूपमा समिति गठन गरिनुपर्ने बताए। उनले क्रिकेट संघको विधान आइसीसीबाट नै पारित भएको हुँदा अरु संघको जस्तो जो पनि सदस्य हुन नसक्ने र क्रिकेट संघको सदस्यको लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने भएकाले काम गर्नेहरूमात्र संघमा आबद्ध हुनसक्ने बताए।
बागलुङमा २०७४ सालमा आचार्यको अध्यक्षतामा जिल्ला क्रिकेट विकास समिति बागलुङ गठन गरिएको थियो। उक्त समितिलाई तदर्थ समितिको रूपमा नेपाल क्रिकेट संघ (क्यान)ले २०७९ माघमा सदस्यताको मान्यता प्रदान गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
