सित्तैमा बस चढ्दाको पहिलो अनुभूति
भरतपुरमा सञ्चालित ब्लू बसमा आइतबार यात्रा गर्ने मौका पाएँ। बस महिलाका लागि निःशुल्क रूपमा सञ्चालनमा आएको तीन दिनमात्र भएको रहेछ। यात्रामा मेरो अनुभव निकै सुखदायी रह्यो। सहज रह्यो।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको पहलमा सञ्चालित भनिएको बसबारे केही चर्चा भए पनि मलाई यसबारेमा खासै जानकारी थिएन। बजार जान घरबाट निस्कँदा गाडी चढेँ। नारायणघाटबाट मालपोत चोक जान हिँडेको बसमा म पनि चढेँ। बसभित्र चढेपछि मात्रै ब्लू बस भन्ने ख्याल भयो। निःशुल्क सेवामा पनि भीडभाडबिना सेवा लिन पाएकोमा खुसी लाग्यो। महिलालाई निःशुल्क बस सेवा दिने कुराले हामी त खुसी छौं।
महिलाका लागि सेवा मात्रै होइन सुबिधा पनि रहेछ। बसभित्र महिलाका लागि जुनसुकै बेला अति आवश्यक पर्ने प्याडको पनि व्यवस्था छ। कुनै समस्या भए उजुरी हाल्न पाइने चिठी बक्स राखिएको छ। झर्ने ठाउँ आएपछि रोकिदिनुस् भनेर चिच्याउन पनि नपर्ने। सबै सिटको माथि घन्टीको व्यवस्था छ। जुन घन्टी आफ्नो गन्तव्य आइपुग्दा यात्रुले दबाएपछि चालकले ठ्याक्कै बस रोकिदिने। बसमा चढ्नुभएका आमा दिदीबहिनीको मुहार पनि उज्यालो थियो। बसमा चालक, सहचालक पनि साँच्चै धेरै सभ्य र शोभनीय थिए। यात्रुलाई चढाउने र झार्ने सहचालिका थिइन्। हामीलाई नौलो लागेको छ। महिला मात्रै हिँड्न पाउने भएर पनि सुरक्षित महसुस भएको छ।
अरू बसमा सधैं भीड हुन्छ। सिटमा बस्न पाइन्न थियो। कोचाकोच गरेर हिँड्न परेन। सबैभन्दा ठूलो सुरक्षित हुन पाइएको छ। महिलालाई ठेलम–ठेल गरेर दुव्र्यवहार हुने गरेको घटना सुनेका हामीले बसमा आफंैलाई सुरक्षित ठानेका छौं। ढुक्क यात्रा गर्न पाइयो। अर्को कुरा भाडा कति भनेर विवाद गर्न पनि परेन। पैसा तिर्न पनि परेन। सुविधासँगै हामीले सम्मान पनि पायौं। साँच्चै यो त सुरुवाती परिवर्तन हो। आगामी दिनमा अझ नेपाली जनताले धेरै सेवा सुविधा पाउँछन् भन्ने आशा छ।
गाउँदेखि बजार क्षेत्रमा रुट तय गरेर चलेको बसमा यात्रा गर्दा महिलाले सेवा पाएका छौं। सांसदले जनतालाई सम्झिए भन्ने कुरा हो। यो सुविधा अन्य यातायातका साधनमा हामीले भेटेका थिएनांै। हेर्दा सामान्य लागे पनि हामीलाई राम्रो लागेको छ। यो सुविधा कति समयसम्म निरन्तर हुन्छ भन्ने कुरा हो। बसको सेवालाई धेरै जनाले लिन पाउन् भन्ने हो। हुनेखानीभन्दा गरिब महिलाले सेवा पाए राम्रो हुन्छ।
(भरतपुर–११ जागृति चोककी श्रेष्ठले आइतबार चितवनमा सञ्चालित ब्लू बसमा यात्रा गरेपछिको अनुभव)