दुर्दिन बनेको त्यो दिन

दुर्दिन बनेको त्यो दिन

विश्वको कुनै पनि भागलाई हिरोसिमा र नागासाकीभन्दा पनि अझै सयौं गुना क्षति हुने दुर्दिन निम्तिन नदिऊँ।

जापानको सुन्दर सहर हिरोसिमामा आजैका दिन (१९४५ अगस्त, ६) बिहानको ८ः१५ बजेको थियो। बिहानका नित्यकर्ममा हिरोसिमावासी सधैं झैं व्यस्त थिए। प्रकृतिले बिहानीको कमलो घामको घुम्टो ओढेकी थिइन्। चराहरू बिहानीका गीत गाइरहेका थिए, नदीहरू आफ्नै सुरमा सुसाइरहेका थिए।

यस्तै–यस्तै मस्त दैनिकी चलिरहेका बेला आकाशमा मडारिरहेको विमानबाट ठीक त्यसैबेला हिरोसिमामा लिटिल ब्वाय नामक शक्तिशाली परमाणु बम बजारियो। धुवाँको विशाल मुस्लो आगोभन्दा पनि सहस्र शक्तिशाली बनेर हिरोसिमालाई लपेट्यो। हिरोजस्तो सुन्दर हिरोसिमा केही मिनेटमै ध्वस्त भयो। हिरोसिमा निलेको त्यो दुर्दिन नसेलाउँदै अगस्ट ९ तारिखका दिन जापानकै अर्काे सहर नागासाकीमा पनि बजारियो। विमानबाट बिनाशक फ्याटम्यान नामक परमाणु बम नागासाकीमा बज्रियो। त्यसले पनि सुन्दर नागासाकीलाई डढाएर नांगो र बीभत्स पारी छाड्यो।

घाउ पुरानो हुँदै जाँदा त्यसमा खाटा बस्नुपर्ने हो तर कुनै घाउले जति पुरानो भयो, त्यति नै बढी पीडा र यातना दिँदोरहेछ। हिरोसिमा र नागासाकी नरसंहार र ध्वंसको ७८ वर्ष भइसकेको छ। हरेक वर्ष अगस्ट महिनाका ६ र ९ तारिख आउँदा मानव सभ्यतामाथि दुर्दान्त हमला र महाविनाश गरेको त्यो दानवीय घटनाको घाउ चर्चरी चहर्‍याउँछ। सम्पूर्ण मानव जातिको सातो जाने गरी झस्काउँछ। खर्बाैंका भौतिक संरचना खरानी भएको क्रूरता र निर्दोष प्रकृतिमाथि भएको त्यो अत्याचारले मुटुमा भक्कानो छुटाउँछ। अकल्पनीय त्यो तवाहीका वार्षिकीको पीडादायी घडी सजीव रूपमा चित्रण गर्ने शब्द शब्दकोशमा पाउनै मुस्किल छ। तर, पनि जब–जब हरेक वर्ष अगस्त महिना आउँछ, त्यसको क्रूर सम्झना ऐठन बनेर आइहाल्छ र शब्दका रूपमा भक्कानो छुटिहाल्छ।

भनिन्छ, सुरु–सुरुमा दोस्रो विश्वयुद्धमा झोसिन अमेरिकाले खासै चासो राखेको थिएन तर अमेरिका यो युद्धमा किन होमियो ? यसका लागि पहिलो विश्युद्ध (सन् १९१४–१९१८०) र त्यसको विश्राम भर्सेलिज सन्धि (सन् १९१९)सम्मै पुग्नुपर्ने हुन्छ। सन्धिमा भेला भएका राष्ट्रले पहिलो विश्वयुद्धको तवाही दोहोरिन नदिने सम्झौता गरे। जसमा जर्मनीमथि अनेक प्रतिबन्ध लगाउन आमजनताको ढाडै सेक्ने गरी कर र दायित्व थोपरियो। जर्मनीका आमनागरिकमा यो सन्धिप्रति तीव्र रूपमा असन्तुष्टि पैदा भयो। यही असन्तुष्टिले जर्मनीका जनताले आफ्नो भावनाको प्रतिनिधित्व गर्ने एउटा पात्र खोजे। हिटलरमा उनीहरूले त्यो अनुहार देखे। कहिल्यै युद्ध नगर्ने भन्ने जर्मनीले समेत हस्ताक्षर गरेको भर्सेलिज सन्धिको नाजी जर्मनीले उल्लंघन गर्‍यो। जसकारण पहिलो विश्वयुद्ध सकिएको दुई दशक नपुग्दै दोस्रो विश्वयुद्ध आरम्भ भयो।

दोस्रो विश्युद्धको आरम्भ जर्मनीको नाजी अन्धराष्ट्रवाद र जापानको सैन्य साम्राज्यवादको विश्वशक्ति बन्ने भोकको परिणाम हो। बाँकी मुलुक सार्वभौमिकता जोगाउन जर्मनीविरुद्ध युद्धमा उत्रिए। जर्मनीले १ सेप्टेम्बर १९३९ मा पोल्यान्डमाथि धावा बोलेपछि बेलायत र फ्रान्सले जर्मनीविरुद्ध युद्धको घोषणा गरे। युद्धकै क्रममा पछि गएर नाजी जर्मनीले अस्ट्रिया, चेकोस्लोभाकियालगायत युरोपका देश कब्जाको प्रयास गर्‍यो। यता एसियामा ‘एसिया एसियनहरूको हो’ भन्ने अर्को नारा घन्काउने काम जापानले गर्‍यो। शक्तिको मदले उन्मत्त भएर अमेरिकाको पर्लहार्वरमा जापानले (७ डिसेम्बर १९४१)मा हवाई हमला गर्‍यो। शक्तिशाली सैन्य अखाडा रहेको पर्लहार्वरको यो प्रहारमा अमेरिकाका थुप्रै सैन्य सामग्री ध्वस्त भए। १५ सय मानिसको मृत्यु भयो।

शासक कुलांगार भएपछि मानव सभ्यता र प्रकृतिको सम्पूर्ण कुल र वंश नै सखाप पार्दोरहेछ भन्ने दृष्टान्त हो, हिरोसिमा र नागासाकी।

एकातिर जापानले अमेरिकाको सामरिक मुटुमै प्रहार गर्नु र अर्कातिर जर्मनीले आणविक हतियार बनाउँदैछ भनेर अमेरिकाले सुराक पाउनुजस्ता कारणले अमेरिका पनि आत्मरक्षाका लागि अग्रसर भयो। आणविक बम बनाउन कस्सियो। तत्कालीन अमेरिकी राष्ट्रपति रुजवेल्टले उपराष्ट्रपतिलाई समेत सुईको नदिई गोप्य रूपमा परमाणु बम बनाउने काम सम्पन्न गर्न म्यानहाट परियोजना बनाए। पर्लहार्वर हमला (१९४१) पश्चात् करिब तीन वर्ष लगाएर परमाणु बम बनाएको अमेरिकाले न्यू–मेक्सिको सुनसान मरुभूमिमा (सन् १९४५,जुलाई)मा त्यसको सफल परीक्षण गर्‍यो। उता जापानविरुद्ध पर्लहार्वर हमलाकै अर्को दिन युद्धको घोषणा गरेको अमेरिकाले जापानले आत्मसमर्पण गराउने सुर कस्यो।

युरोपमा नाजी जर्मनी युद्धमा पराजयोन्मुख भइसकेर युरोपमा युद्ध मत्थर भएको अवस्था थियो। उता जापानको सैन्य प्रभाव र दबदबा एसिया प्रसान्त क्षेत्रमा बढ्दो थियो। पर्लहार्वर हमलापछि जापानसँग क्रुद्ध बनेको अमेरिकाको रिस सेलाएको थिएन। अमेरिकी राष्ट्रपति रुजवेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुम्यानले यो धम्की जापानलाई दिइसकेका थिए। जापानले आत्मसमर्पण गर्ने छनक नदेखाएपछि अन्ततः अमेरिकाले जापानमथि हमला गर्ने निर्णय गर्‍यो। त्यो हमला जापानको कुन सहरमा गर्ने भनी लामो अति गोप्य विमर्शपछि यसका लागि जापानको हिरोसिमा र नागासाकी रोजेर ती दुई ठाउँलाई आक्रमणको तारो बनाइयो। यसरी जापानको हिरोसिमामा अगस्ट ६ र नागासाकीमा अगस्ट ९ मा परमाणु बम महाकाल बनेर बज्रे। जापानका ती सुन्दर सहर जसलाई निर्माण गर्न मानवजातिले सयौं वर्ष लगाएको थियो। त्यो पनि भस्म भयो, करोडौं वर्ष पहिलेदेखिको प्रकृति एकाएक आगलागी भएको जंगल र लास दन्किरहेको मसानघाटभन्दा पनि दारुण बन्यो।

हिरोसिमा १ लाख ५० हजार र नागासाकीमा ७५ हजार जना मानिस कोही खरानी बने त कोही डढेका ठुटाका आकार बने। सीमित बाँचेका पनि कोही सग्ला रहेनन्। कोही अंगभंग भए त दृश्य बीभत्स बन्यो। भनिन्छ, आज जन्मने शिशुहरूमा पनि त्यहाँ त्यसबेलाको त्यो कहालीलाग्दो विकीरणको असर देखिन्छ। त्यही विकिरणको प्रभाव हुन्छ भनेर जापानकै अरू सहरका बासिन्दाहरू यी दुई सहरमा नाताकुटुम्ब गाँस्न हिच्किचाउँछन्। यस अर्थमा यी दुई सहर अहिले पनि सीमान्तकृत झैं छन्। समृद्धि, सकारात्मक ऊर्जा र उज्यालोका लागि वैज्ञानिकले आणविक ऊर्जा त बनाए तर अमेरिकाले त्यो ऊर्जालाई हिंसा, विनाशकारी अन्धकारका लागि दुरुपयोग गर्‍यो। यसरी समग्र सभ्यता ध्वंस गर्न आफ्नै आविष्कार प्रयोग गरिएपछि यसका आविष्कारक वैज्ञानिक ओपेन हावर अत्यन्त हतप्रभ भए, दुःखी बने।

शासक कुलांगार भएपछि मानव सभ्यता र प्रकृतिको सम्पूर्ण कुल र वंश नै सखाप पार्दोरहेछ। एक घर मुल्याहाले सात घर पिर्छ भने झैं एउटा मुल्याहा शासकका कारण मानवजातिले सयौं वर्षसम्म यातना भोग्नु परिरहेछ। आज त झन् संसारका थुप्रै देशले आणविक बम बनाएका छन् र कुन मूर्ख शासकले कतिबेला कहाँ ती विस्फोट गराएर हिरोसिमाभन्दा पनि महाविनाश गर्ने हो भन्ने भयावह स्थिति छ। सबैले मनन गरौं, कुनै पनि देशमा उग्र महत्वाकांक्षी, हिंस्रक, सन्की र कुलांगार शासकहरू जन्माउने र पुल्पुल्याउने काम नहोन्। विश्वको कुनै पनि भागलाई हिरोसिमा र नागासाकीभन्दा पनि अझै सयौं गुना क्षति हुने दुर्दिन निम्तिन नदिऊँ। र प्रार्थना गरौं– अब यस्तो कहिल्यै नहोस्। दिवंगत भएका तमाम हिरोसिमा र नागासाकीवासीप्रति भावपूर्ण श्रद्धाञ्जलि ! 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.