सडक फराकिलो बनाइँदै

बागलुङ : बागलुङको जैमिनी नगरपालिकाले कुश्मिसेरा बजार क्षेत्रको सडक फराकिलो बनाउने प्रकिया अघि बढाएको छ।
नगरपालिकाले बजार क्षेत्रमा सडक मापदण्ड कायम गराउनका लागि अवैध संरचना हटाउन नगर प्रमुख सहितको टोलीले बजारको अनुगमन गरी आग्रह गरेको उपप्रमुख हरिहर शर्माले बताए।
उनले बजारवासी र व्यवसायीहरूलाई अवैध संरचना हटाउन, सडक मापदण्ड मिचेर व्यापारिक सामग्रीहरू नराख्न र जथाभावी सावरी पार्किङ नगर्न अन्तिम पटकलाई आग्रह गरिएको बताए।
‘हामीले नगरको मुकाम कुश्मिसेरा बजार क्षेत्रको अनुगमन गरी बजार वासी र व्यवसायीहरूलाई अन्तिम पटकको लागि अवैध संरचना हटाउन र सडक मापदण्ड मिचेर व्यापारिक सामग्री नराख्न आग्रह गरेका छौं,’ उपप्रमुख शर्माले भने,‘बजारवासी र व्यवसायीहरूले अटेर गरेमा नगरपालिकाले डोजर लगाएर अवैध संरचना हटाउने छ।’
सडक क्षेत्राधिकार भित्र बने/बनाइएका घर, टहरा, पर्खाल, ट्रस, छाना, रेलिङ, अव्यवस्थित रुपमा टिकट काउन्टर लगायत अन्य स–साना व्यवसाय गर्ने टंकी जस्ता संरचनाहरू तथा सडकमा राखिएका निर्माण सामग्रीहरू, रड, साइनबोर्ड हटाउन नगरले अनुरोध गरेको हो।
नगरपालिकाको कुश्मीशेरा बजारका अधिकांश संरचना स्थानीय आफैले हटाएका छन्। ‘हाम्रो बजार क्षेत्रका अधिकांश कच्ची तथा पक्की घर मापदण्ड कार्यान्वयनको मारमा परे, केही घर त पुनः प्रयोग गर्न नमिल्नेगरी फालिएका छन्,’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले भने,‘पालिका मुकाम भएकाले कुश्मीशेरा बजारबाटै सडक मापदण्ड कायम गराउने काम सुरु भएको हो।’
नगरपालिकाले मुकामको मुल सडक ८ मिटर र भित्री सडक ६ मिटर कायम हुनुपर्ने मापदण्ड बनाएको छ। स्थानीयले आफ्नै सक्रियतामा अधिकांश संरचना हटाएकाले नगरपालिकाले संरचना भत्काउन नपरेको आचार्यले बताए। ‘केही बाँकी अवैध संरचना रहेकाले हटाउन आग्रह गरेका छौं,’ वडाध्यक्ष आचार्यले भने,‘अटेर गरेमा अब पालिकाले हटाउँछ।’
प्रतिक्रिया दिनुहोस !
